पत्रकारहरुमाथिकाे चिनियाँ कुख्यात रणनीतिमा आधारित रिपोर्ट ‘फेयर गेम’

सेयर गर्नुहोस

चीनभित्र मिडिया निषेधलाई लिएर अन्तर्राष्ट्रिय पत्रकार महासंघको आपत्ति


काठमाडौं । चीनले अन्तर्राष्ट्रिय संवाददाताहरुलाई रिपोर्टिङमा प्रतिबन्ध लगाएर आफ्नो अन्तर्राष्ट्रिय छविलाई नै जोखिममा पारेको अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)ले जनाएको छ । आईएफजेले चीनमाथिको रिपोर्ट ‘फेयर गेम’ २०२२ सार्वजनिक गर्दै यस्तो जनाएको हो ।

शीतकालीन ओलम्पिक बेइजिङमा सुरु हुँदै गर्दा आईएफजेले सार्वजनिक गरेको यो रिपोर्टले चीनले कसरी आफ्नो देशमा रिपोर्टिङलाई नियन्त्रण गर्छ र विश्वव्यापी कभरेजमा आफ्नो प्रभाव पार्छ भन्ने कुरालाई देखाएको छ ।

आईएफजेको सो प्रतिवेदनले साधारण चिनियाँ नागरिकहरूसँग प्रत्यक्ष कुरा गर्न समेत करिब रोक लगाइन्छ भन्ने कुरालाई देखाएको छ ।

चीनमा रहेका विदेशी संवाददाताहरूले निष्कासन, भिसा दिनमा ढिलाइ र अस्वीकार, स्रोतहरूलाई धम्की दिने, डिजिटल र भौतिक निगरानी, ​​र रिपोर्टिङ प्रोटोकलहरूको उल्लङ्घन गरेको आरोप मुद्दाहरू लगाउने गरेको उक्त रिपोर्टले देखाएको छ ।

कुनै चिनियाँ नागरिकले भनेको कुरा अन्तर्राष्ट्रिय भिडियामा छापिएमा उनीहरुलाई जेल समेत हाल्ने गरिएको उक्त रिपोर्टले देखाएको छ । चिनियाँ सुरक्षाकर्मीले निगरानीमा राखेको पाएपछि दुई अष्ट्रेलियाली पत्रकार चीन छोडेर भागेका थिए ।

चीनमा रहेका अन्तर्राष्ट्रिय पत्रकारहरुलाई शारिरिक, मानसिकदेखि मार्नेसम्मका धम्कीसमेत दिने गरेको उक्त रिपोर्टले देखाएको छ । आईएफजेले सार्वजनिक गरेको फेयर गेम रिपोर्ट डिसेम्बर २०२१ मा १९ क्रियाशील विभिन्न ९ देशका पत्रकारहरुसँगको अन्तर्वार्तालाईसमेत आधार मानिएको छ । ती पत्रकारहरुसँग चीनमा काम गरेको दशकौंको अनुभव रहेको छ ।

फेयर गेम आईएफजेले अन्तर्राष्ट्रिय मिडियामाथि चिनियाँ प्रभावलाई लिएर सार्वजनिक गरेको चौथो रिपोर्ट हो । यसमा आधारित रहेर आईएफजेले चिनियाँ अधिकारी, मिडिया, पत्रकार संघहरू र सरकारलाई विभिन्न श्रृंखलावद्ध सिफारिस गरेको छ ।

Facebook Comments Box