६ जेष्ठ २०८१, आईतवार

कपिलवस्तुमा विद्युत ट्रान्सफर्मर चोरीका घटना बढे

किरणमान बज्राचार्य (कपिलवस्तु) :  कपिलवस्तुमा विद्युत ट्रान्सफर्मर चोरीको घटना बढेका छन् । जिल्लाको ग्रामीण भेगमा भोल्टेज व्यवस्थापनका लागि जडान गरिएका ट्रान्सफर्मरहरू धमाधम चोरी भएका हुन् । पेशेवर चोरहरूले रातिको सयममा धमाधम ट्रान्सफर्मर चोरेर लगेपछि जिल्लाका तौलिहवा र कृष्णनर वितरण केन्दलाई जडान गरिएका ट्रान्सफर्मरलाई जोगाई राख्न ठुलो चुनौती बनेको छ ।

बिगत ३ महिना भित्र प्राधिकरण तौलिहवा वितरण केन्द्रको मातहतमा पर्ने ९ वटा ट्रान्सफर्मर चोरी भएको वितरण केन्द्रका प्रमुख राजेश झाले बताए । यस्तै १५ दिन भित्र कृष्णनगर बितरण केन्द्रका मातहतमा रहेका ४ वटा ट्रान्सफर्मर चारी भएको बितरण केन्द्रका प्रमुख कमर आलम खाले बताए । चोरी भएका ट्रान्सफर्मर २५ देखि सय केबीए क्षमता र अधिकांश सिचाई प्रयोजनकालागि जडान गरिएको थिए । तौलिहवा वितरण केन्द्रको मातहतमा बाणगंगा नगरपालिका वडा नम्बर ११ बरवा, वडा नम्बर १० करैलिया, सुद्धोदन गाउँपालिका– ६ कर्मा, मायादेबी गाउँपालिका वडा नम्बर ७ बनकसिया, वडा नम्बर ४ पिपराका रहेका छन् ।

यस्तै तौलिहवा बितरण केन्द्रका कपिलवस्तु नगरपालिका वडा नम्बर ८ भगवानपुर वडा नम्बर ९ जगदीशपुर बुद्धभुमी नगरपालिका– १० पिपराहवामा ट्रान्सफर्मर चोरी भएका छन् । यस्तै कृष्णनगर नगरपालिका अन्तर्गत बुद्धभूमि नगरपालिका ८ भुसिया, बिजयनगर– ४ मैनारी, लगायत ४ स्थानका ट्रान्सफर्मर १५ दिनभित्र चोरिएका छन्। विद्युत प्राबिधिकका अनुसार ट्रान्सफर्मर भित्र रहेको तामा चोरहरुले चोरेर लाने गरेका हुन्। ट्रान्सफर्मर भित्र तामाको मात्रा अधिक हुने र तामा प्रति किलो १५ सय देखि २ हजारसम्म बिक्रि हुने गरेकोले ट्रान्सफर्मर चोरहरुको निशानामा पर्ने गरेको छ ।

सय केबिएको ट्रान्सफर्मरमा ६० देखि ७० किलोसम्म तामा रहने गर्छ। चोरहरुले तारलाई सर्ट गरी फ्युज गराएर ट्रान्सफर्मरबाट तामा चोरेर लाने गरेका छन्। पेशेवर चोरहरुले नै ट्रान्सफर्मर चोरी गरेर लाने गरेको तौलिहवा वितरण केन्द्रका प्रमुख झाले बताए। खासगरी ग्रमीण भेगको एकान्त ठाउँमा रहेको ट्रान्सफर्मरहरु चोरिने गरेको उनले बताए। उनले ग्रामीण भेगका ट्रान्सफर्मर जागाउनै मुस्किल परेको बताए । प्रहरी प्रशासनले यस्ता चोरहरुको खोजी गरी कडा कारबाही गर्न जरुरी रहेको उनले बताए।

स्थानीयबासीले सतर्कता अपनाउनु पर्ने बताए । ट्रान्सफर्मर चोरी रोक्न आफूहरुले ट्रान्सर्फरमा प्लेट राखेर जाडन गर्ने अभियान थालेको उनले बताए । उता प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख आलमले ट्रान्सर्फर चोरी रोक्न स्थानीयबासीले निगरानी बढाउनु पर्ने बताए।

उनले घर नजिकै ट्रान्सफर्मर राख्नु पर्ने र सजग रहनु पर्ने बताए। उनले ट्रान्र्फमर र विद्युत चुहावट चोरी रोक्न आफूहरुले गाउँ गाउँमा माईकिङ अभियान चलाएको बताए। दुबै वितरण केन्द्रले चोरिएको ट्रान्फर्मरको विवरण प्राधिकरणको प्रदेश कार्यालय बुटवलमा पठाएका छन् ।

धेरै कमेन्ट गरिएका