सलमान खान’ बिइङ ह्युमेन’को आवरणमा मदिरा, नियन्त्रित औषधि, कस्मेटिक तथा सेक्स टोयको अवैध कारोबार गर्दै

अवैध मदिरासहित पक्राउ परेका सन्तोषचन्द्र बख्रेलले अन्तर्राष्ट्रिय सामाजिक संस्था ‘बिइङ ह्युमेन’को आवरणमा भन्सार छली विभिन्न किसिमका सामग्री आयात गर्ने गरेको खुलेको छ । ‘बिइङ ह्युमेन’ बलिउड अभिनेता सलमान खानबाट सञ्चालित सामाजिक संस्था हो । अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले बख्रेलसहित चारजनालाई विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका डेढ करोड मूल्यबराबरको मदिरासहित शुक्रबार पक्राउ गरेको थियो । उनले लाजिम्पाटस्थित गोदाममा भन्सार छली ल्याएका करोडौँ मूल्यबराबरको सामग्री लुकाएको खुलेको छ । महाशाखाको टोलीले आइतबार नै गोदाममा छापा मारेको छ । गोदामबाट सुर्ती, चुरोट, कस्मेटिक सामग्री, सेक्स टोयलगायतका सामग्री फेला परेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा खटिएका महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले अवैध मदिरासहित पक्राउ बख्रेलको विभिन्न अवैध धन्दा रहेको अनुुसन्धानबाट देखिने बताए । ‘सन्तोषचन्द्र बख्रेलसहितको टोलीलाई अवैध मदिरासहित पक्राउ ग¥यौँ । उसले अन्तर्राष्ट्रिय रूपमा स्थापित सामाजिक संस्थाको आवरणमा अवैध धन्दा गर्ने गरेको खुलेको छ । अन्य ठाउँमा गोदाम भेटिएका छन् । अनुसन्धान हुँदै छ । थप तथ्य खुल्दै जानेछन्,’ उनले भने ।
पर्सा गादीका ३९ वर्षीय बख्रेल नेपालमा ‘बिइङ ह्युमेन’का ब्रान्डमा कपडा सोरुम सञ्चालन गर्छन् । सोरुम दरबारमार्गमा छ । गत १९ मंसिरमा सोही सोरुमबाट प्रहरीले स्रोत नखुलेको ६९ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो । प्रतिष्ठित सामाजिक संस्थामा जोडिएकाले घटनाको विशेष ढंगले अनुसन्धान भइरहेको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले बताए । ‘अवैध मदिरा भण्डारण गरेको आरोपमा केही अभियुक्त पक्राउ परे । पक्राउ परेकामध्ये केहीको नाम अन्तर्राष्ट्रिय स्थापित सामाजिक संस्थासँग पनि जोडिएको छ । यो घटनालाई हामीले मिहीन ढंगले अनुसन्धान गरिरहेका छौँ । उसको अन्य ठाउँमा पनि केही गोदाम भेटिएका छन्,’ उनले भने ।
प्रहरीले शुक्रबारको विशेष अपरेसनमा बख्रेलसहित कागेश्वरी मनोहरा–६ का ३० वर्षीय शैलेश पन्त, पर्सा सुवर्णपुरका २८ वर्षीय रविन पाख्रिन र सर्लाही बरहथवा–९ का ३८ वर्षीय नारायणप्रसाद घिमिरे पक्राउ परेका थिए । प्रहरीले उनीहरूको रामकोट, बानेश्वर, कपनस्थित गोदामबाट ब्ल्याक लेवल, रेड लेबल, चिभास रिगल र ऐब्सुलेट भोड्काका दुई सय ९६ कार्टुन बरामद गरेको थियो । सबै अवैध मदिरा बख्रेलकै योजनामा नेपाल ल्याइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बख्रेलले मदिरा मूलपानीस्थित इन्फिनिटी लिकरका सञ्चालक शैलेशको सहयोगमा बजारमा बिक्री गर्दै आएका थिए । नारायणले भने ‘ड्युटी फ्री’को भन्दै आयात गरिएका मदिरा उपत्यकाका पार्टी प्यालेसमा बिक्री गर्दै आएका थिए ।
बिइङ ह्युमेन’को आवरणमा अवैध औषधिको समेत कारोबार
बख्रेल नियन्त्रित औषधि ट्रामाडोल अवैध रूपमा नेपाल भित्र्याउने धन्दामा पनि संलग्न रहेको खुलेको छ । केही दिनअघि लागुऔषध नियन्त्रण ब्युरोले २० हजार फाइलभन्दा धेरै अवैध ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको थियो । पक्राउ परेकालाई कारबाही गर्न ब्युरोले आइतबार नै औषधि व्यवस्था विभागमा पठाएको छ । बख्रेललाई भने ब्युरोले फरार सूचीमा राखेको छ ।
ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले अवैध रूपमा ल्याइएका नियन्त्रित लागुऔषध बरामदपछि सन्तोषचन्द्र बख्रेललाई ब्युरोको टोलीले खोजिरहेको बताए । ‘केही दिनअघि ठूलो परिमाणमा ट्रामाडोल बरामद भयो । चारजना पक्राउ गर्यौँ । अनुसन्धानपछि औषधि सन्तोषचन्द्रको रहेको खुल्यो । हामीले खोजिरहेका थियौँ, त्यही व्यक्ति अवैध मदिराको कारोबारमा महाशाखाबाट पक्राउ परेछ,’ उनले भने ।
ब्युरोका अनुसार बख्रेल एक वर्षअघि बरामद भएको ट्रामाडोल घटनामा पनि मुछिएका थिए । त्यसवेला ब्युरोको टोलीले १५ लाख ट्याब्लेट ट्रामाडोल बरामद गरेको थियो । घटनामा चारजना पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई कारबाही गर्न ब्युरोले लगत्तै औषधि व्यवस्था विभागमा पठाएको थियो । तर, उनी फेला नपरेपछि प्रहरीले त्यहवेला फरार सूचीमा राखेको थियो । ‘बख्रेल वर्ष दिनअघि ट्रामाडोल बरामद घटनामा पनि मुछिएका थिए । त्यसवेला चारजना पक्राउ परे । सन्तोषचन्द्रको नाम फरार सूचीमा राखियो । सबैलाई कारबाही गर्न त्यहीवेला नै औषधि व्यवस्था विभागमा पठाएका थियौँ,’ उनले भने ।
ब्युरोका अनुसार ट्रामाडोल नियन्त्रित औषधि हो । यसलाई लागुऔषधका दुव्र्यसनीले समेत प्रयोग गर्ने गर्छन् । डाक्टरको सिफारिसविना यो औषधि बिक्री गर्न पाइँदैन । नेपालमा आयात गर्न आयातकर्ताले अनिवार्य रूपमा सरकारको अनुमति लिनुपर्छ । तर, बख्रेलले उक्त औषधि विनाअनुमति नेपालमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।
कपडा आयात गर्ने आवरणमा भन्सार छल्थे बख्रेल
प्रहरीका अनुसार बख्रेल ‘बिइङ ह्युमेन’ ब्रान्डको कपडा आयात गर्ने आवरणमा भन्सार छलेर विभिन्न विदेशी ब्रान्डका मदिरा, चुरोट, सुर्ती, नियन्त्रित औषधि, कस्मेटिक सामग्री, सेक्स टोयलगायतका सामग्री नेपाल भित्र्याउँथे । उनलाई यो धन्दामा भारतीय नागरिक रवि अग्रवालले सहयोग गर्थे ।
कपडासँगै ल्याइएका सामग्री काठमाडौंका विभिन्न ठाउँमा गोप्य तवरले खोलिएका गोदामका स्टोर गर्थे । र, उपयुक्त समयमा बजारमा लगी बिक्री गर्थे ।
उनले तीन महिनाअघि एक सय ६० कार्टुन विभिन्न ब्रान्डका विदेशी मदिरा ल्याएका थिए । त्यसपछि सोही ब्रान्डका दुई सय कार्टुन अवैध मदिरा पुनः आयात गरे । अन्तिमपटक पनि उनले तिनै ब्रान्डका तीन सय कार्टुन मदिरा आयात गरेको अनुसन्धानबाट खुलेको छ । मदिराको कारोबारमा भने उनलाई शैलेश, रवीन र नारायणले सघाउँथे । सोही तवरले ल्याइएका करोड मूल्य बराबरका सुर्ती, चुरोट, कम्सेटिक सामग्री, सेक्स टोय प्रहरीले आइतबार साँझ लाजिम्पाटमा बरामद गरेको छ ।
