राष्ट्रसंघका दुई विज्ञको हत्या गर्ने कंगोका ५१ जना लडाकुलाई मृत्युदण्ड सजाय

काठमाडौं ।
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा दर्जनौँ लडाकु सदस्यहरूलाई मृत्युदण्डको सजाय सुनाइएको छ।
राष्ट्र सङ्घका दुई जना विज्ञहरूको हत्यामा संलग्न रहेको अभियोगमा त्यहाँको सैनिक अदालतले ५१ जनालाई मृत्युदण्डको सजाय सुनाएको हो।
सन् २०१७ मा स्वीडेनी मूलकी चिलिकी जाइडा क्याटालान र अमेरिकी नागरिक मिसेल सार्पको कङ्गोको कसाई क्षेत्रमा अपहरणपछि हत्या गरिएको थियो। उनीहरू सरकारी फौज र लडाकु समूहबीच भएको युद्धपछि भेटिएका सामूहिक चिहानबारे अनुसन्धानमा खटिएका थिए।
सो क्रममा उनीहरूका अनुवादक वेट टिशिन्टेला पनि मारिएका थिए। अपहरणको १६ दिनपछि उनीहरूको शव भेटिएको थियो। उनीहरूमध्ये क्याटालनको शिर छेदन गरिएको थियो।
सो घटनापछि राष्ट्रसङ्घ स्तब्ध बनेको थियो। न्याय सुनिश्चित गर्न राष्ट्रसङ्घले सम्भाव्य सबै कदम चाल्ने राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताएका थिए।
सन् २०१७ मा कसाइमा भएको द्वन्द्वमा सयौँ मानिसको मृत्यु भएको थियो। सन् २०१६ को अगस्टमा सनातन नेता कामविना सापुको हत्यापछि भड्किएको हिंसामा १० लाखभन्दा बढी मानिस विस्थापित भएका थिए।
दर्जनौँ प्रतिवादीहरूमध्ये अदालतले ५१ जनालाई मृत्युदण्ड सुनाएको हो। तर, कङ्गोले मृत्युदण्ड दिने सजाय यसअघि स्थगित गरेकोले लडाकुलाई सुनाइएको मृत्युदण्डको सजाय पनि जन्म कैदमा रूपान्तरण हुन सक्ने अनुमान गरिएको छ।
