टाटा समूहले ६९ वर्षपछि लियो एयर इन्डिया, यात्रुहरूलाई विशेष सन्देश

सेयर गर्नुहोस


नयाँदिल्ली ।
एयर इन्डियाको स्वामित्व ६९ वर्षपछि टाटा समूहमा फर्केको छ । बिहीबार टाटाले एयर इन्डिया लिएलगत्तै शुक्रबारको उडानमा यात्रुहरूलाई सन्देश दिइएको छ, जहाँ क्याप्टेनहरूले नयाँ जोश र प्रतिबद्धतासाथ सेवा दिने वचन प्रकट गरेका छन् । टाटा समूहले भारत सरकारबाट एयर इन्डिया फिर्ता भोलिपल्ट शुक्रबार सबै उडानहरूमा यात्रुहरूलाई विशेष सन्देश पठाइएको इन्डियन एक्सप्रेसले जनाएको छ । ‘प्रिय अतिथिहरू, यो ऐतिहासिक उडानमा स्वागत छ, एयर इन्डिया आधिकारिक रूपमा सात दशकपछि फेरि टाटा समूहको हिस्सा बनेको छ,’ शुक्रबार दिल्लीबाट मुम्बई उडान भरेको एयर इन्डियाको एआई ६६५ उडानका क्याप्टेन वरुण खण्डेवालले यात्रुहरूलाई सम्बोधन गर्दै भने, ‘हामी तपाईंलाई यो र एयर इन्डियाको हरेक उडानमा नयाँ प्रतिबद्धता र जोशका साथ सेवा दिन तत्पर छौँ। एयर इन्डियाको भविष्यमा स्वागत छ !’

बिहीबार टाटा सन्सका अध्यक्ष एन चन्द्रशेखरनले एयरलाइन्स कार्यालयमा आयोजित हस्तान्तरण समारोहमा भाग लिनुअघि दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेका थिए । ‘हामी उड्डयन क्षेत्रको लागि प्रधानमन्त्रीको दृष्टिकोणसँग सैद्धान्तिक रूपमा सहमत छौँ, यसलाई किफायती बनाउने र यसले नागरिकहरूको लागि ‘जीवनको सहजता’अभिवृद्धिमा योगदान पुर्‍याउने सुनिश्चित गर्दछौँ ।’
एयर इन्डियाका कर्मचारीहरूलाई सम्बोधन गर्दै पठाइएको आन्तरिक पत्रमा अध्यक्ष चन्द्रशेखरनले लेखेका छन्,‘ आज एक नयाँ अध्यायको सुरुवात हो। राष्ट्रको नजर हामीमाथि छ, हामी सँगै के हासिल गर्छौं भनेर पर्खिरहेका छौँ। हाम्रो देशलाई आवश्यक एयरलाइन्स निर्माण गर्न हामीले भविष्यलाई हेर्नुपर्नेछ ।’ समूहको समृद्ध विरासत र राष्ट्रको सेवा गर्ने साझा मिसनका कारण प्रगति हासिल गर्ने पनि एयर इन्डियाको नयाँ व्यवस्थापनले जनाएको छ ।

Facebook Comments Box