भारतकाे लगानीमा मौरिससमा गान्धीका नाममा रेल्वे स्टेसन

सेयर गर्नुहोस

एजेन्सी ।

हिन्दू बाहुल्य जनसंख्या भएको अफ्रिकी मुलुक मौरिससले भारतसँग सम्बन्ध सदभावनाका लागि एउटा मेट्रो स्टेसन महात्मा गान्धीका नाममा समर्पण गर्ने निर्णय गरेको छ । भारतीय सहयोगमा निर्माण भएको मेट्रो एक्सप्रेस परियोजनाको नाम महात्मा गान्धी स्टेसन राखेर सहयोगप्रति कृतज्ञता जनाएको प्रधानमन्त्री प्रविन्द जगन्नाथले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र मौरिससका प्रधानमन्त्री जगन्नाथ कुमारबीच भएको भर्चुअल बैठकमा जगन्नाथले यो जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मौरिसस प्रमुख साझेदार सामुद्रिक साझेदार रहेको चर्चा गर्दै दुई प्रधानमन्त्रीले उक्त क्षेत्रमा सबैका लागि सुरक्षा र विकास अपरिहार्य रहेकोमा जोड दिएका छन् ।

दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा मौरिससमा सामाजिक आवास एकाइ परियोजनाको उद्घाटन गरे भने मौसिससमा निर्माण हुन लागेको सिभिल सर्भिस कलेज र आठ मेगावाटको सोलार पिभी फार्म परियोजनाको पनि शिलान्यास गरे ।प्रधानमन्त्री मोदीले मित्र मुलुकहरूको आवश्यकता र प्राथमिकताहरू र सार्वभौमसत्ताको सम्मान गर्दै भारतको विकास सहायता थप सुदृढ बनाउने बताए । उनले एकै साथ जनताको कल्याण र देशको क्षमतालाई बलियो बनाउँदै लैजानुपर्नेमा उनको जोड थियो ।

भारत सरकारले मे २०१६ मा मौरिसस सरकारलाई विशेष आर्थिक प्याकेजका रूपमा मौरिसस सरकारद्वारा पहिचान गरिएका पाँच प्राथमिकता परियोजनाहरू कार्यान्वयन गर्न ३५ करोड ३० लाख अमेरिकी डलर अनुदान विस्तार गरेको थियो । मेट्रो एक्सप्रेस परियोजना, सर्वोच्च अदालत भवन, नयाँ इएनटी अस्पताल, प्राथमिक विद्यालयका बालबालिकालाई डिजिटल ट्याब्लेटको आपूर्ति, सामाजिक आवास परियोजनामा अनुदान केन्द्रित गरिएको थियो । सबै आयोजना कार्यान्वयनमा आइसकेका छन् । यहीमध्येको एक मेट्रो एक्सप्रेस परियोजना गान्धीका नाममा राखिएको हो । ‘मेट्रो एक्सप्रेस परियोजनाका लागि भारतको सहयोगका लागि कृतज्ञता व्यक्त गर्न, मेरो सरकारले एउटा प्रमुख मेट्रो स्टेसनको नाम महात्मा गान्धी स्टेसन राख्ने निर्णय गरेको छ,’ प्रधानमन्त्री जगन्नाथले भर्चुअल बैठकमा भने ।

Facebook Comments Box