७ बैशाख २०८१, शुक्रबार

टीकापुर घटनामा ५७ थारुमाथि मुद्दा चलाउने, तर एमाले,कांग्रेसका नेताले प्रहरीको हत्या गर्दा मुद्दा किन नचलेको ?

पुर्वराजदुत विजयकान्त कर्ण

-केपी ओलीजीले संविधान संशोधन बारे चारबुँदा भारत सरकारलाई बुझाउनुभयो । हामी संविधान यसरी संशोधन गर्छौं भन्ने त्यही बुँदाहरु पछि क्याबिनेटबाट निर्णय गरेर मधेसी पार्टीहरुलाई पनि दिनुभो । हामी यो यो तरिकाले संविधान संशोधन गर्छौं र आन्दोलनरत दलहरुको मागलाई सम्वोधन गर्छौं । अहिले यसै गरी उल्टो बाटो हिँडेर जनताको आवाजलाई नसुन्ने हो भने हामीले आन्तरिक एकतालाई कसरी सुदृढ गर्छौं भन्ने प्रश्न गम्भीर छ ।

हामीले जुन संघीयता, समावेशिताका जुन कुराहरु गरेका छौं, तर यहाँ मधेसी जनता आन्तरिक उपनिवेशमा छन् । पहाडका शासकहरुबाट, २५० वर्षदेखि राजा र राणाहरुबाट र अहिले पार्टीहरुबाट त्यस्तो काम भइरहेको छ । त्यस्तो उपनिवेशबाट मक्ति खोजेको हो । यसलाई यसरी बुझियो भने शायद राम्रो होला । यदि उपनिवेशबाट मुक्ति दिइएन भने लिबरल फोर्सेजहरुलाई डेमोक्रेटिक तरिकाले अघि बढ्न दिइएन भने पृथकतावाद जन्मन्छ ।

डा: बाबुराम भट्टराईले ४० बुँदे माग लिएर सिंहदरबार जाँदाखेरिको घटना र त्यसपछि १० वर्षपछि फर्केर आउँदाखेरिको विषय सम्झाउन चाहन्छु । यो संविधान ‘जिरो सम गेम’ (शून्य परिणामको खेल) हुन सक्दैन । त्यसैले संविधानलाई मधेसी, आदिवासी जनजाति, दलित र महिलाहरुले पनि स्वीकार गरौं भन्नका लागि समानतालाई आधारभूत आधार बनाइएन भने यो संविधानलाई स्वीकार गर्ने अवस्था हुन सक्दैन ।

मधेसी जनतालाई केही व्यीक्तहरुले ४/५ जना मान्छे भन्छन् । ४/५ लाख पो मान्छेहरु ६/६ महिनासम्म सडकमा आएका हुन् । नेपाल इतिहासमा मधेसले गरेको आन्दोलनजस्तो आजसम्म भएकै छैन । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदाखेरि रत्नपार्कमा २/४ सय मान्छे, कार्यकर्ता जम्मा गरेर नेकपा एमाले र कांग्रेसको जुलुस मैले ममफुली आन्दोलन देखेकै हो । नेकपा माओवादी त्यो बेलामा आन्दोलनमा नआएको भए राजा ज्ञानेन्द्रले नै शासन गरिरहन्थे कि भन्ने मलाई लाग्छ । अर्काको आन्दोल न चाहिँ ४/५ जनाको, आफ्नो आन्दोलनचाहिँ धेरै ठूलो ? मैले ममफुली आन्दोलन महिनादिनसम्म चलेको देखेको छु । त्यसपछि राजाको शासनमा गएका पार्टीहरु पनि देखेको छु ।

टीकापुर घटनाको कुरो यहाँ चल्यो । टीकापुरमा म एउटा वक्ता थिएँ । म यहाँहरुलाई जानकारी गराउँछु, त्यहाँ कसैले पनि पहाडेहरुको घरमा आतंक गर, आक्रमण गरेर भनेका थिएनन् । त्यहाँ थारुहरु आफ्नो अधिकारका लागि जम्मा हुँदाखेरि शासकहरु साह्रै चिन्तित भएका थिए । र, त्यहाँ एउटा नाटक गरेर प्रहरीहरुको आफैंले हत्या गराए । आजको दिनमा २ हजार थारुहरु भारतमा गएर बस्नुुपरेको अवस्था छ । त्यहाँ प्रहरीमाथि हिंसा भयो भन्ने राजनीतिक दलहरुले आफैं ०४६ सालमा कालीमाटी र टेकुमा प्रहरीको हत्या गर्नेमाथि आजसम्म मुद्दा चलेकै छैन । ५७ जना थारुमाथि मुद्दा चलाउने, तर एमाले र कांग्रेसका नेताले कालीमाटी र टेकुमा प्रहरीको हत्या गर्दा मुद्दा किन नचलेको ?

लोकतन्त्रमा यदि लोकतान्त्रिक तरिकाले जनतालाई अधिकार दिनुभएन भने जनताले अर्कोबाटो लिन्छ । हत्या गर्ने खाली प्रहरीसँग मात्रै बन्दुक छ भन्ने होइन, बन्दुक बजारमा पनि पाइन्छ । मैले झिँगा मारें होला, मैले त्यस्तो काम गरेको छैन । म त्यसको समर्थक पनि होइन । तर, ती गर्नेहरुलाई रोक्न सक्ने म क्षमता पनि राख्दिनँ ।

नेताहरुले जनताको आन्दोलनलाई माखे आन्दोलन भन्ने, बिहार र युपी जाउ भन्ने, आफ्नै मान्छेलाई ४/५ जनाको आन्दोलन भन्ने र भर्खर नागरिकता लिएकाहरु भन्ने ?

बैरगनियाँ भन्दा २० किलोमिटर पश्चिममा जन्मेका माधव नेपाल कसरी नेपालका नागरिक भए रु भारतको बिहारमा जन्मेकाहरु, बिहारमा घर भएकाहरु, हिजोका दिनमा युपी बिहारमा रहेका मान्छेहरु यहाँ आएर आफूलाई यहाँको पुस्तौनी भन्ने रु यहाँका शासक भयौं भन्ने ? र, मधेसमा वर्षौंदेखि बसिरहेका मधेसीलाई चाहिँ विदेशी देख्ने ? यो चश्मा उतारिएन भने म एउटा कुरो यहाँहरुलाई बताइदिन्छु मधेसी जनता अहिले जुन किसिमको अवस्थामा पुगिरहेका छन्, मधेसी जनताले माखे साङ्लो देख्नेहरुलाई जवाफ दिने हेक्का राख्छन् । त्यसैले समावेशी आधारमा संविधानको संशोधन गरेर मधेसीहरुलाई, जनजातिहरुलाई समान अधिकार नदिइकन चुनाव गरियो भने, बझियोस् ज्ञानेन्द्रले चुनाव गरेका थिए, वीरेन्द्रले चुनाव गरेका थिए । यस्ता चुनावहरु हामीले धेरै देखेका छौं । चुनाव गर्दै जानोस्, त्यसको परिणामका लागि तयार रहनुहोला ।

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट