भारतमा एकै दिन थपिए दुई लाख कोरोना संक्रमित

सेयर गर्नुहोस

भारतमा कोरोना भाइरसबाट एकै दिनमा करिब दुई लाख नयाँ संक्रमित थपिएका छन्। सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ९४ हजार ७२० जना नयाँ संक्रमित थपिएका हुन्।

मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ६० लाख ७० हजार ५१० पुगेको जनाएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने नौ लाख ५५ हजार ३१९ रहेको मन्त्रालयले जनाएको छ। दैनिक नयाँ संक्रमितहरुको बृद्धिदर ११ दशमलब ५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।

महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ। महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ संक्रमित थपिएका छन्। दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ संक्रमित थपिएको अधिकारीहरुले जनाएको छ। नयाँ संक्रमितमध्ये चार हजार ८६८ जना ओमिक्रोन भाइरसबाट संक्रमितहरु रहेको जनाइएको छ।

अघिल्लो दिन सोमबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो २४ घण्टामा भारतमा एक लाख ७९ हजार ७२३ जना संक्रमित भएको उल्लेख गरिएको थियो। भारतमा सक्रिय संक्रमित र नयाँ संक्रमित दुवैको संख्या तीव्र रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरिएको छ। भारतमा मंगलबार आठ लाख २१ हजार ४४६ जना सक्रिय संक्रमित रहेका थिए।

Facebook Comments Box