भारतले निजिक्षेत्रबाट ५ सय मेगावाट बिद्धुत किन्ने

सेयर गर्नुहोस


काठमाडौं । भारतले नेपालको निजीक्षेत्रबाट ५०० मेगावाटसम्म विद्युत् किन्ने भएको छ । भारतको मनिकरण पावर लिमिटडले नेपाल पावर एक्सचेन्ज लिमिटेडमार्फत उक्त बराबरको विद्युत् किन्ने भएको हो ।

मनिकरणले सन् २०२२ का लागि मात्रा त्यस बराबरको विद्युत् किन्ने भएको हो । वर्षात्मा खपत भएर बढी हुने त्यस बराबरको विद्युत् मनिकरणले किन्नेछ । यस सम्बन्धमा सोमवार नेपाल पावर एक्सचेन्ज लिमिटेड र मनिकरण पावर लिमिटेडबीच सोमवार काठमाडौंमा सम्पन्न ‘नेपाल : पावर मार्केट समिट २०२२’ को समारोहमा दुवै कम्पनीका प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा नेपाल पावर एक्सचेन्ज लिमिटेडका प्रबन्ध निर्देशक (एमडी) आशिष गर्ग र मनिकरण पावर लिमिटेडका एमडी नवजीत सिंह कल्सीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यान्वयन हुनका लागि भने नेपाल पावर एक्सचेन्ज लिमिटेडले नेपाल सरकारबाट विद्युत् व्यापारको अनुमति पाउनुपर्ने हुन्छ । निजीक्षेत्रबाट स्थापना भएको यो कम्पनीले अझै पनि विद्युत् व्यापारको अनुमति पाउन सकेको छैन ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले उक्त कम्पनी स्थापना गरेको थियो । सरकारले चाँडै लाइसेन्स दिएमा यो वर्ष ५०० मेगावाट विद्युत् विक्री गरिने कम्पनीको भनाइ छ । अर्काे बर्ष त्यो थप बढ्ने सक्ने बताइएको छ ।

सरकारले पनि निजीक्षेत्रलाई विद्युत् व्यापार गर्ने प्रक्रिया अगाडि बढाएको छ । त्यसअनुसार चाँडै लाइसेन्स पाउने कम्पनीको अपेक्षा छ ।
हालसम्म सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले मात्रा भारतमा विद्युत् व्यापार विक्री गर्दै आएको छ । प्राधिकरणले हाल ३९ मेगावाट विद्युत् भारतमा निर्यात गर्दै आएको छ ।
मनिकरणले नेपाल पावर एक्सचेन्जमा १५ प्रतिशत इक्युटी शेयर लगानी गर्ने सहमतिसमेत भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको छ । त्यसको १५ प्रतिशत शेयर मनिकरणले लगानी गर्ने गरी सहमति भएको हो ।

मनिकरणले नेपालका हाइड्रो पावर कम्पनीसँग दीर्घकालीन रूपमा नै विद्युत् खरीद विक्री सम्झौता (पीपीए) गर्ने सहमति पनि भएको छ । यो सम्झौता नेपालको क्षेत्रीय विद्युत् व्यापारका लागि कोसे ढुंगा सावित हुने सरोकारवालाहरू बताएका छन् ।

पावर मार्केट समिटलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले निजीक्षेत्रलाई पनि विद्युत् व्यापार गर्न दिने घोषणा गरिन् । यसका लागि आवश्यक कार्यविधिको मस्यौदा तयार भइसकेको उनले बताइन् ।

‘अब उक्त मस्यौदामा सरोकारवालाहरूको राय सुझाव लिन्छौं । त्यसपछि आवश्यक संशोधन गरेर कार्यान्वयनमा ल्याउनेछौं,’ उनले भनिन्, ‘त्यसपछि निजीक्षेत्रलाई पनि क्षेत्रीय रूपमा समेत विद्युत् व्यापार गर्न अनुमति दिनेछौं ।’

उनले अबको ३ महीनाभित्र बिमस्टेकअन्तर्गतका देशको ऊर्जामन्त्री र ऊर्जा सचिवहरूको संयुक्त बैठक हुने बताइन् । ‘बिमस्टेकका प्रतिनिधिहरू नेपाल भ्रमणमा आएका बेला यस्तो सहमति भएको छ । त्यो संयुक्त बैठकले पनि नेपालको विद्युत् व्यापारमा थप सहयोग पुग्ने अपेक्षा छ,’ उनले भनिन् ।
कार्यक्रममा इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको विद्युत् क्षेत्रमा निजीक्षेत्रको योगदान बढ्दै गएको बताए । ‘अहिले जलविद्युत् क्षेत्रमा निजीक्षेत्रको योगदान ५० प्रतिशत छ । अब त्यो ८० प्रतिशत पुर्‍याउने लक्ष्य लिएका छौं,’ उनले भने । उनले अब नेपाल भारतबीच बिजुली आदनप्रदानको सम्बन्ध हुने बताए । ‘पहिला नेपाल र भारतबीच रोटीबेटीको सम्बन्ध थियो । अब त्यो मात्र होइन,’ उनले भने, ‘अब नेपाल र भारतबीच बिजुलीको सम्बन्ध पनि हुनेछ ।’ यो पावर ट्रेड सम्बन्धमा नेपालमा गरिएको यो पहिलो सम्मेलन हो । इप्पानको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेन्ज लिमिटेडको सहकार्यमा उक्त समिट गरिएको हो ।

Facebook Comments Box