भारतमा लगानीको आकर्षण बढ्याे :मन्त्री चन्द्रशेखर
भारतका सूचना प्रविधि एवं सीप विकासमन्त्री राजीव चन्द्रशेखरले अहिले विश्वव्यापी चिप फर्महरूले भारतमा लगानीका लागि रुचि लिएको जिकिर गरेका छन् । भारतले सेमिकन्डक्टर तथा उत्पादन इकोसिस्टम विकासका लागि ७६ हजार करोड रुपैयाँ प्रोत्साहन दिने घोषणा गरेको उल्लेख गर्दै उनले यसलाई विश्वव्यापी फर्महरूले मन पराएको बताएका छन् ।
‘विश्वव्यापी फर्महरूले विश्वास गर्छन् कि यो भारतीय अवसरको अध्ययन गर्ने सही समय हो,’ चन्द्रशेखरले भने, ‘किनभने भारत अहिले विश्वको भरपर्दो प्रविधि साझेदारको रूपमा अघि बढिरहेको छ । हामी यसका लागि अवसरको प्याकेज उपलब्ध गराउँदै छौँ जसले सेमिकन्डक्टर स्पेसको लागि डिजाइन, नवाचार र निर्माणसम्मको सम्पूर्ण इकोसिस्टम निर्माण गर्न गति दिनेछ ।’
उनले विश्वका अग्रणी वैश्विक सूचना प्रविधिसम्बन्धी कम्पनीहरूले भारतको अवसर अवलोकन र अध्ययन गर्न गहिरो चासो राख्ने गरेको पनि बताए । आगामी ६ वर्षमा सिलिकन सेमिकन्डक्टर फ्याब्स, डिस्प्ले फ्याब्स, इत्यादि जस्ता सेमिकन्डक्टरहरूको सम्पूर्ण उत्पादन र मूल्य शृंखलामा संलग्न करिब २० कम्पनीहरू स्थापनाका लागि सहजीकरण गर्ने भारत सरकारको लक्ष्य छ । ‘सेमिकन्डक्टर भिजन र बढ्दो इलेक्ट्रोनिक्स अवसर एउटा कथा हो जुन संसारले अहिले धेरै विश्वसनीय रूपमा पाएको छ’ राज्यमन्त्री चन्द्रशेखरको भनाइ थियो ।
उनका अनुसार पछिल्ला दुई वर्षमा भारतले २,००० भन्दा बढी एकीकृत सर्किट र सेमिकन्डक्टरहरू डिजाइन गरेको छ। अब इलेक्ट्रोनिक्स उत्पादनलाई प्रबर्द्धन गर्न सरकारले मेडिकल इलेक्ट्रोनिक्स, टेलिकम, आइटी हार्डवेयर, मोबाइल उपकरणहरूलगायतका विभिन्न क्षेत्रका लागि उत्पादन–लिङ्क्ड इन्सेन्टिभ (पिएलआई) योजनाहरू अघि बढाइसकेको उनको भनाइ थियो ।
उनले आइटी हार्डवेयरको लागि प्रोत्साहन गर्ने पनि बताए । ‘हामी आइटी हार्डवेयरलाई मोबाइल उपकरण क्षेत्र जस्तै सफल बनाउन चाहन्छौँ,’ उनले भने ।
