भारतबाट दूध आयात
काठमाडौं ।
सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान र निजी क्षेत्रका डेरी उद्योगीहरूले यतिखेर दूधको अभाव भएको बताइरहेका छन् । सुख्खा सिजनका लागि धुलो दूध बनाउन दूधको अभाव रहेको भन्दै उनीहरूले विभिन्न विकल्पमा बहस चलाइरहेको देखिन्छ । तर यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा डेरी उद्योगहरुबीच नै विवाद छ ।
डेरी उद्योग क्षेत्रमा डेरी उद्योग संघ र नेपाल डेरी एशोसिएसन गरी दुईटा संगठन छन् । डेरी उद्योग संघले भारतबाट दैनिक एक लाख लिटर कच्चा झोल दूध आयात गर्न पाउनुपर्छ भन्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र पठाएको छ । उता नेपाल डेरी एशोसिएसन संघले भने झोल दूध आयात गर्न नहुने भन्दै कृषि मन्त्रालयलाई पत्र पठाएको छ । उद्योगीहरूको यस्तो विवादपछि कृषि मन्त्रालय अन्योलमा देखिएको छ ।
डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहालका अनुसार फल्स सिजन (दूध बढी हुने समय) मा दूध बल्ल बल्ल खानलाई पुगिरहेको छ तर आउने लिन सिजन (दूधको अभाव हुने समय) मा उपभोक्तालाई दूध पुर्याउन गाह्रो हुन्छ । त्यसैले, अहिले भारतबाट झोल दूध मगाएर धुलो दूध बनाएर राख्ने योजना आफूहरूको रहेको उनको तर्क छ । ‘धुलो दूध बनाउने झोल हामीसँग छैन,’ उनले भने, ‘अहिले दूध ल्याएर त्यसको धुलो दूध बनाएर राखियो भने सुक्खा समयका लागि हुन्छ ।’
तर नेपाल डेरी एशोसिएसनका महासचिव प्रल्हाद दाहालले भारतबाट कच्चा दूध मगाउनुभन्दा त्यहाँबाट धूलो दूध नै मगाउँदा राम्रो हुने बताए । आखिर भारतबाट दूध ल्याएर त्यसको धुलो दूध नै बनाउने हो भने एकैचोटी धुलो दूध नै ल्याएर सुक्खा सिजनका लागि कम चलाउँदा हुने उनको धारणा छ ।
