नेपालका डा. कार्कीलाई कार्डियो थोरासिक भास्कुलर सर्जरी अध्ययनका लागि भारतमा छात्रवृत्ति

सेयर गर्नुहोस

सरकारीस्तरबाट सञ्चालित ‘अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्स’ ले पोस्ट डक्टरेट एमसिएच डिग्रीका लागि दिएको छात्रवृत्तिमा नेपालका डा. समृद्ध कार्की छनोट भएका छन्। २०२२ बाट भारतमा एकीकृत रूपमा लागू हुन लागेको चिकित्सा शिक्षा अध्ययनअन्तर्गत भारतीय र विदेशीहरूका लागि खोलिएको छात्रवृत्तिमा विदेशी विद्यार्थीको सिटबाट डा. कार्कीले मात्र छात्रवृत्ति पाएका हुन्। डा. कार्कीले कार्डियो थोरासिक भास्कुलर सर्जरी (मुटु र फोक्सोको रक्तनलीको सर्जरी) अध्ययनका लागि विदेशी विद्यार्थीको रूपमा छात्रवृत्ति पाउन सफल भएका हुन्।

जनवरी २०२२ बाट सञ्चालनमा आउन लागेको एकीकृत चिकित्सा शिक्षा अध्ययनका लागि भारतले पाँच विश्वविद्यालयअन्तर्गतका ११ वटा संस्थानमा छात्रवृत्ति खोलेको थियो। डा. समृद्धले प्रवेश परीक्षा पास गरेसँगै कार्डियो थोरासिक भास्कुलर सर्जरीका लागि तीनवटा विश्वविद्यालयमा नाम निकालेका थिए। अन्य देशबाट परीक्षा दिने विदेशीमध्ये एम्स, अखिल भारतीय आयुविज्ञान संस्थान, पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल शिक्षा, अनुसन्धान केन्द्र चण्डीगढ, र श्री चित्र तिरुनाल चिकित्सा विज्ञान र प्रविधि संस्थान त्रिवेन्द्रमा छात्रवृत्ति खोलिएको थियो, डा. कार्कीले यी विश्वविद्यालयमध्ये एकलाई छान्न पाउनेछन्।

चिकित्सक शिक्षा अध्ययनका लागि एकीकृत शिक्षा प्रणाली लागू भएसँगै अध्ययनका लागि विद्यार्थीहरूले विश्वविद्यालय छान्न पाउने अवसर पाएका हुन्। काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस र जनरल सर्जरी गरेका डा. कार्की अन्तर्राष्ट्रियस्तरमा पोस्ट डक्टरेट डिग्रीका लागि छात्रवृत्ति पाउनु नेपाली विद्यार्थीका लागि ठूलो अवसर भएको बताएका छन्। नेपालमा हाल मनमोहन कार्डियो सेन्टर र न्याम्समा कार्डियो थोरासिक भास्कुलर सर्जरी अध्यापन भइरहेको छ।

Facebook Comments Box