रुबी खान भन्छिन्– हामी जित्नेछौँ तर ‘यही अवस्थामा नेपालगन्ज फर्किनुपर्‍यो भने बलिया पीडकहरूले हामीलाई मार्नेछन्’

सेयर गर्नुहोस


काठमाडौं ।
‘प्रभावशाली व्यक्ति मानिएका बादशाहविरुद्ध निरन्तर आन्दोलन छेड्नुभएको छ, डर लाग्दैन ?’ प्रश्न भुइँमा खस्न नपाउँदै रुबी खानको गला अवरुद्ध भयो । हातमा निधार अड्याइन् । आँखा बन्द गरिन् । केही बेरपछि खुल्दा आँसु टिल्पिलाइरहेको प्रस्ट देखिन्थ्यो । शून्यता चिर्दै रुबीले बोलिन्, ‘म मात्र होइन, आन्दोलनमा सहभागी सबैमाथि ‘थ्रेट’ छ । यही अवस्थामा नेपालगन्ज फर्किनुपर्‍यो भने उनीहरूले हामीलाई मार्नेछन् ।’ पछिल्ला दिन महिला आन्दोलनकी पर्यायजस्तै बनेकी रुबीका निम्ति न्यायको आगामी लडाइँ सजिलो देखिन्न ।

रुबीसँग कुराकानी गरिरहँदा न्यायका लागि लडेका संसारका अन्य संघर्षशील महिलाहरू दिमागमा घुमिरहे ।छोरी विद्यालय जान पाउनुपर्छ भन्दा पाकिस्तानकी युसुफ मलाला गोलीको सिकार बन्नुपरेको थियो । मलाला साथीसँगै स्कुल बसमा थिइन्, जुन तालिबानी सिद्धान्तको खिलाफ थियो । पाकिस्तानस्थित तालिबानी संगठनका प्रवक्ता इहसाहनुल्लाह इसानले बन्दुक झिके । स्कुल ड्रेसमा रहेकी मलालालाई गोली प्रहार गरे । गोलीले उनको देब्रे आँखाभन्दा माथिल्लो भाग उडायो । मलाला संयोगले बाँचिन् ।

न्याय प्राप्तिकै लडाइँका क्रममा नाइजेरियाकी पहिलो महिला अधिवक्ता रसिदात मोहम्मदालाई नजिकका हितैषीले मात्र होइन, छोरीले समेत भन्ने गर्थिन्, ‘यो लडाइँ छाडिदिनुस् । तपाईं यो अन्यायको कहालीलाग्दो पहाड फोर्न सक्नुहुन्न ।’ जवाफमा उनी भन्थिन्, ‘न्यायको यो लडाइँमा यदि म मरेँ भने मलाई कहिले पनि पश्चात्ताप हुनेछैन ।’

रसिदातले दक्षिण नाइजेरियास्थित सोकोटा सहरमा ‘ल फर्म’ खोलेकी थिइन्, जुन नाइजेरियन समाजविरुद्ध थियो । बलात्कार र यौन दुराचारले सहर बदनाम थियो । यही क्रममा उनी जब चार वर्षीया बलात्कृत बालिकाको मुद्दा लड्न अघि बढिन्, नाइजेरियन समाज उनीविरुद्ध खनियो । निरन्तरको दबाबपछि अभियुक्तविरुद्ध मुद्दा दर्ता गर्न सोकोटास्थित क्रिमिलन इन्भेस्टिगेसन डिपार्टमेन्ट (सिआइडी) बाध्य भयो । अन्ततः अभियुक्त जेल जान बाध्य हुनुपर्‍यो ।

घरेलु हिंसाबाट पीडित महिलाको पक्षमा बोल्दा साउदी अरबकी वाजेह वा हुवाइद्दरले सात वर्ष विनाकसुर जेल सजाय भोग्नुपर्‍यो । उनको ‘गल्ती’ थियो, घरेलु हिंसापीडित अरबी महिलाको पक्षमा वकालत गर्नु । उनले महिलाले पनि सहरमा कार चलाउन पाउनुपर्छ भन्दै लेखहरू लेखिन् । अरब सरकारले उनलाई लेख्न मात्र होइन, घुम्नसमेत बन्देज गर्‍यो । तर, उनी हारिनन् । हार्‍यो त, रुढीग्रस्त संस्कारको वकालत गर्ने साउदी सरकार ।

ठाउँ र परिवेश फरक छ । समय मात्र होइन, आन्दोलनका रूप पनि फरक छन् । तर, उद्देश्य मात्र होइन, संघर्षका बान्की पाकिस्तानकी मलाला, नाइजेरियाका रसिदात, अरबी वाजेह र नेपालगन्जकी रुबीको उस्तै छ । दुईपटकका सांसद हुन्, नेपालगन्जका बादशाह कुर्मी । उनीविरुद्ध नेपालगन्जकै निर्मला कुर्मी बेपत्ता पारेको आरोप छ । १० दिनको फरकमा निर्मलाका दुई छोराको रहस्यमय ढंगले मृत्यु भयो । शंकास्पद यो घटनाका पनि अभियुक्त हुन्, बादशाह । तर, उनीविरुद्ध अनुसन्धान त परको कुरा, पक्राउ गरेर बयानसम्म लिन सकिएको छैन ।

यही विषयमा ३४ वर्षीया रुबी १० वर्षदेखि अनवरत आन्दोलनमा छिन् । माइतीघर मण्डलामा ९ मंसिरदेखि जारी धर्ना यसैको निरन्तरता हो । तर, न्याय पाउने दिन आउनुको साटो झन्–झन् दूर हुँदै गएको देखिन्छ । तर, रुबी थोरै निराश त देखिन्छिन्, तर विचलित देखिन्नन् । ‘१० वर्ष बित्यो, निर्मला कुर्मीको न्यायको लडाइँ छेडेको । आन्दोलनको रफ्तार बाँकेबाट सिंहदरबार आइपुगेको छ । तर, किन हो न्याय पाउने आस दिनदिनै क्षीण हुँदै गएकोजस्तो लाग्छ । यसले हामीलाई विचलित बनाएको छैन । एक दिन हामी जित्नेछौँ । निर्मला कुर्मीले न्याय पाउनेछिन्  ।
यति भन्दा रुबीको अनुहार चम्किलो बन्यो । आवाज एकाएक ओजिलो सुनियो । यही क्रममा उनी दुई महिनाअघिको हिरासतका अप्ठ्यारा दिन सम्झिन पुगिन् । उनको अनुहार पुनः मलिन देखियो । ओजिलो आवाज थरथर काँपेझैँ सुनियो । ‘२० दिनको अनवरत यात्रापछि हामी काठमाडौँ आइपुग्यौँ । खुट्टामा ठेला उठेका थिए । शरीर पूरै शिथिल थियो । माइतीघर मण्डलामा आन्दोलन सुरु भयो । किन हो मलाई प्रहरीले पक्राउ गर्‍यो । अस्पताल लैजाने भन्दै भ्यानमा कोच्यो । मेरो खुट्टामा ठेला उठेको थियो । प्रहरीले त्यसैमा बुट बजार्‍यो ।’, अनाहक पक्राउ परेको २२ असोजको घटना उनले सम्झिइन्, ‘तर, मलाई अस्पताल लगिएन । मेरो फोन खोसियो । कसैलाई भेटघाट गर्न दिइएन ।’

बेपत्ता निर्मलाको न्यायका लागि लड्दालड्दै दाङकै अर्की नन्कुन्नी धोबीको पनि शंकास्पद मृत्य भयो । तर, प्रहरी घटनाको अनुसन्धान गर्नुको सट्टा उल्टै ढाकछोपमा लाग्यो । आन्दोलनमा अव नन्कुन्नीको विषय पनि जोडिन आइपुग्यो । रुबीसहितका टोलीले दुवै घटनाको निष्पक्ष छानबिन र दोषीविरुद्ध कारबाही हुनुपर्ने माग राख्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा धर्ना कसे । तर, माग सुनाइ हुने छाँट देखिएन ।

सिंहदरबारलाई पीडा सुनाउने भन्दै रुबी २८ जनाको टोली लिएर २० दिनको पैदलयात्रापछि काठमाडौँ आइपुगिन् । २० असोजमा आइपुगेका उनीहरूले सोही दिनबाट आन्दोलन सुरु गरे । राज्य जसरी पनि आन्दोलन दबाउन चाहन्थ्यो । यही क्रममा बहुविवाहको जाली मुद्दा सिर्जना गरियो । सोही मुद्दामा आन्दोलनरत रुबीलाई पक्राउ गरी हिरासतमा राखियो । प्रहरीले नै उनको अवस्था एकाएक अज्ञात बनायो । खोजीकै क्रममा रुबी एकाएक नेपालगन्जस्थित प्रहरीको भ्यानमा सार्वजनिक भइन् ।

डेड महिनाअघिको घटना स्मरण गर्दै उनले भनिन्, ‘मेरो अनशन जारी थियो । बोल्न सक्ने अवस्था थिएन । भेट्न पूर्ण रूपमा बन्देज थियो । एकाएक मलाई विमानस्थल पुर्‍याइयो । केही घन्टाको यात्रापछि जहाज ल्यान्ड भयो । म जब जहाजको ढोकाबाट बाहिरिँदै थिएँ, साइरन बजेका प्रहरीका गाडी दौडिरहेको देखेँ । गाडीमा थिए, नेपालगन्जका प्रहरी । जसले अघि पनि मलाई पक्राउ गरेका थिए । त्यसपछि थाहा भयो, म नेपालगन्ज पुगेछु ।’

न्याय प्राप्तिका लागि रुबीले भोगिरहेको पीडा दक्षिण भारतीय सिनेमाको कुनै काल्पनिक कथाको झैँ लाग्छ । नेपालगन्जबाट उठेको यो आन्दोलनको एकातर्फ रुबी छिन्, जसको साथमा नेपालगन्जकी निरक्षर ग्रामीण महिला छन् । ती महिलालाई पितृसत्ताले धर्म, संस्कृति, रीतिरिवाज र पुरुषत्वको हतियारले वर्षौं दबाइरह्यो । अर्कातिर छन्, सांसद बादशाह कुर्मी र उनलाई खोल ओढाइरहेको राज्यको संयन्त्र । १० वर्षदेखि जारी यो लडाइँ निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्याय प्राप्तिका लागि मात्रै हो ? होइन । यो वर्षौंदेखि पुरुषत्वको घनले थिचेर राखिएको महिलाको आन्दोलन हो ।‘समय प्रविधिको हो । जमाना धेरै अघि बढेको छ । तर, हामीकहाँ अझै पनि दहेजका नाममा छोरी जलाइन्छन्, हत्या गरिन्छ । ठूलाले जे गरे पनि कानुन हुन्छ । तर, साना सधैँ अन्यायको मारमा पर्छन् । हामीले जुन आन्दोलन छेडेका छौँ, हेर्दा रुबीको झैँ लाग्ला । तर, होइन । यो सबै खालका महिला हिंसाविरुद्धको आन्दोलन हो । जुन विश्वभरका महिलाको पक्षमा छ । म त्यसको सानो ‘चिंगारी’ मात्रै हुँ,’ रुबी भन्छिन्  ।

नेपालगन्जको मुस्लिम समुदायमा कमैभित्र पर्छिन् रुबी, जसले सानैमा विद्यालय र क्याम्पसको कक्षाकोठा देखिन् । सानैमा विद्रोही चेत नभइदिएको भए उनको औपचारिक अध्ययनमा उहिल्यै विराम लाग्थ्यो । दाइजोका कारण टोलमै जिउँदै महिला जलाइन्थे । घरेलु हिंसाका घटना झन् कति कति ! नजिकबाट नियालिरहेकी रुबीलाई ती घटनाले पिरोलिरहन्थ्यो । ०६४ मा नेपालगन्ज परस्पुरकी जिउँदै जलाइएकी २२ वर्षीय हस्रुन इद्रिसीको घटना स्मरण गर्दै रुबी भनिन्, ‘म त्यस वेला स्कुल पढ्थेँ । गाउँमा दहेजको निहँुमा हस्रुनलाई जिउँदै जलाइएको देखेँ । घटना कारुणिक थियो । तर, दोषीले सजाय पाउनुको सट्टा उल्टै बचाउने काम भयो । प्रहरी प्रशासनदेखि संसद्सम्म दोषीलाई जोगाउन लागे । घटनाले मेरो निकै दिन निद्रा बिथोलियो । विरोधका स्वर अलि–अलि उठ्न थाले । कापीकलम घरमा थन्क्याएर आन्दोलनमा सहभागी भएको म त्यही घटनाबाट हो ।’

नेपालगन्जमै छ, नेपाल मुस्लिम समाज विकास चेतना केन्द्र । जसअन्तर्गत छ, महिला दबाब समूह । ०६५ आसपास, रुबी चेतना केन्द्रमै थिइन् । १० दिनको फरकमा दुई छोरा गुमाएपछि आहत बनेकी निर्मला निवेदन बोकेर केन्द्रमा आइन् । त्यो घटना रुबीले देखिनन् । खबर गाउँमा फैलियो । केन्द्रमा उनका सँधियार बादशाह कुर्मी आए । निवेदन दिएको कारण देखाउँदै बादशाहले निर्मलाको किलकिले अँठ्याए । सास रोकिएपछि निर्मला भुइँमै ढलिन् । बादशाहका बलिष्ठ हातले कुर्मीको किलकिले अठ्याई नै रह्यो । जुरुक्कै उचालेर लछार्दै घर लग्यो । र,बन्धक बनायो ।

घटनाका बारेमा प्रहरीमा खबर भयो । तर, प्रहरीले आउँने छाँट देखाएन । बाँके जिप्रकाको दबाबपछि बल्ल प्रहरी घटनास्थल पुग्यो । प्रहरीले बन्दक कुर्मीलाई तत्कालका लागि मुक्त त गर्‍यो । तर, निर्मलाका निम्ति थप दुर्दिन त्यहीँबाट सुरु भयो । बादशाह र निर्मला सँधियार हुन् । जग्गा मिच्नेदेखि अनाहकमा यातना दिएपछि निर्मला पुनः चेतना केन्द्र पुगिन् । खबर थाहा पाएका बादशाह आगो भए । त्यही वेलाबाट बेपत्ता निर्मलाको हालसम्म अत्तोपत्तो छैन । त्यही घटना रुबीको अन्तरमन हल्लायो ।

उल्लिखित घटना ०६६ को हो । निर्मलाको दोषीलाई सजाय दिने उद्देश्यले रुबी लडाकु भएकी त्यहीँदेखि हो । यो क्रम यद्यापि जारी छ । तर, अहिलेसम्म न निर्मला फेला परेकी छिन्, न दोषीले दण्ड पाएको छ । ‘त्यसवेला मेरो मन हल्लाउने घटना भयो । किलकिलेमा हातले थिचेर निर्मलालाई घिसार्दै बादशाहले लगेको मैले देखँे । उनलाई छुटाउन पछिपछि हारगुहार गर्दै गएँ । मैले सकिनँ । त्यसपछि निर्मलालाई बन्धक बनाइयो,’ १२ वर्षअघिको घटना सम्झिँदै उनले भनिन्, ‘निकै बेरको हारगुहारपछि पुलिस आयो । निर्मलाले मुक्ति पाइन् । त्यसै वेलादेखि हालसम्म उनी बेपत्ता छिन् ।’

आन्दोलनलाई निरन्तरता दिँदै रुबी महिना दिनदेखि माइतीघर मण्डलामा धर्नामा छिन् । दबिएका र दबाइएका आवाज सुनाउन रुबीहरू नेपालगन्जदेखि सिंहदबारनजिकै आएका हुन् । साइरन र रातो बत्ती बलेको गाडी धर्नालाई दायाँ र बायाँ लगाउँदै दैनिक हुइँकिन्छन् । तर, रुबीहरूको ब्यथा कसैले सुन्दैन । यस्ता व्यवहारबाट रुबी कमजोर बनेकी छैनन् । भन्छिन्, ‘न्याय नपाइन्जेल लडिरहनेछौँ । नयाँ पत्रिकाबाट

Facebook Comments Box