भारतीय सेनाका सिडिएस विपिन रावतको निधनमा प्रधानसेनापतिद्वारा दुःख व्यक्त, बलाधिकृत रथी कार्की दिल्ली जाने

काठमाडौं , मङ्सिर २३ ।
भारतीय सेनाका चिफ अफ द डिफेन्स स्टाफ तथा नेपाली सेनाका मानार्थ महारथी जनरल विपिन रावत, उनकी श्रीमती मधुलिका रावत एवं अन्य ११ सैनिकहरूको निधनप्रति प्रधानसेनापति प्रभुराम शर्माले दुःख व्यक्त गरेका छन्। भारतीय वायु सेनाको हेलिकाेप्टर दुर्घटनामा तमिलनाडुमा बुधबार उनीहरूको निधन भएको थियो। प्रधानसेनापतिले सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई रावतको शुक्रबार अन्त्येष्टि कार्यक्रममा पठाउने भएका छन्।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति बुधबार साँझै फोन तथा पत्रमार्फत समवेदना व्यक्त गरेका छन्। ‘उहाँले यस दुःखद घटनाबाट आफू स्तब्ध भएको र यसबाट भारतीय सेनालाई अपूरणीय क्षति हुनुको साथै नेपाली सेनाले समेत एक सच्चा मित्रलाई गुमाएको उल्लेख गर्दै भारतीय सेना तथा शोकसन्तप्त परिवारप्रति समवेदना तथा दिवंगत आत्माको चिरशान्तिको कामना गर्नुभएको छ’ जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मंसिर २४ गते नयाँदिल्लीमा हुने अन्तिम सम्मान कार्यक्रममा प्रधानसेनापति तथा नेपाली सेनाको प्रतिनिधित्व गर्दै बलाधिकृत रथी बालकृष्ण कार्की जाने पनि जंगी अड्डाले जनाएको छ। रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म भारतीय सेनाको स्थल सेनाध्यक्ष थिए। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २९ मार्च २०१७ मा नेपाली सेनाको मानार्थ महारथी दर्जाबाट सम्मानित गरेकी थिइन्। जनरल रावत १३ फ्रेबुअरी २०१८ मा सेना दिवस तथा महाशिवरात्रिको अवसरमा नेपाली सेनाले आयोजना गरेको सैनिक कार्यक्रममा समेत सहभागी भएका थिए।
