१३ बैशाख २०८१, बिहीबार

भारतीय र अमेरिकी पर्यटक आगमन सुधारिँदै, चिनियाँ नगन्य

  • काठमाडौं । कोरोना महामारीको प्रभाव कम र यात्रा प्रतिबन्धहरु खुकुलो बन्दै जाँदा नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन सुधार हुँदै गएको छ । तर, चीनले आफ्ना नागरिकले यात्राको अनुमति नदिएका कारण चीनबाट आउने पर्यटकको संख्या भने अझै नगन्य छ ।

चीनबाट कूटनीतिक नियोगका अधिकारी, नेपालका आयोजनामा काम गर्ने कामदार र अन्य अनुमति प्राप्त नागरिक मात्र आएका छन् । तर, अन्य मुलुकबाट भने नेपालमा भ्रमणकै प्रयोजनमा मानिसहरु आउन थालेका छन् ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुसार नोभेम्बर २०२१ को एक महिनामा कुल २६ हजार १३५ जना विदेशी पर्यटक नेपाल आएका छन् । यसमा १० हजार ४२१ जना भारतीय छन् । यो कुल संख्याको ३९.८७ प्रतिशत हो । अमेरिकाबाट एक महिनामा (३ हजार ७८२ (१४.४७ प्रतिशत) जना पर्यटक नेपाल आएका छन् । एक महिनामा चीनबाट भने मात्र ३६३ जना आएका छन् । यो कुल आगमनको मात्र १.३९ प्रतिशत हो ।

कुन मुलुकबाट कति पर्यटक आए ? (प्रमुख पाँच)

भारत : १०,४२१
अमेरिका : ३,७८२
बेलायत : २,०२६
बंगलादेश : १,३८२
फ्रान्स : ८०८
अक्टोबरपछि पर्यटक आगमन सुधारियो

नेपाल पर्यटन बोर्डका तथ्यांक अनुसार नेपालमा अघिल्लो महिनाबाट विदेशी पर्यटकको आगमन सुधार भएको देखिएको छ । अक्टोवरमा २३ हजार २८४ जना पर्यटक आएका थिए । सन् २०२१ मा सबैभन्दा बढी नोभेम्बरमा पर्यटक आए ।

यो वर्ष अप्रिलमा २२ हजार ४५० पर्यटक आउनुबाहेक अन्य महिनामा पर्यटक आगमन कम भएको छ । सन् २०१९ को नोभेम्बरमा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक आएका थिए । तर, सन् २०२० मा भने यो समय कोभिडबाट आक्रान्त थियो । सो वर्ष एक महिनामा मात्र १९५६ जना पर्यटक नेपाल आएको लामिछानेले जानकारी गराए ।

११ महिनामा १ लाख २६ हजार २८३ पर्यटक

नेपालमा सन् २०२१ को ११ औं महिनासम्म मात्र १ लाख २६ हजार २८३ जना पर्यटक नेपाल आएका छन् । यो वर्ष सबैभन्दा कम जुनमा १ हजार १४३ र बढी नोभेम्बरमा २६ हजार १ सय ३५ जना पर्यटक नेपाल आएका छन् ।

कुन महिनामा कति आए ?

जनवरी : ८,८७४
फेब्रुअरी : ९,१४६
मार्च : १४,९७७
अप्रिल : २२,४५०
मे : १,४६८
जुन : १,१४३
जुलाई : २,९९१
अगष्ट : ५,९१७
सेप्टेम्बर : ९,८९८
अक्टोबर : २३,२८४
नोभेम्बर : २६,१३५

नेपालमा जहाजबाट आउने भारतीय यात्रुलाई पर्यटकका रुपमा गणना गरिन्छ । तर, स्थल मार्गबाट आउने पर्यटकलाई भने गणना गर्ने संयन्त्र बनिसकेको छैन ।

नेपालको पोखरासहितका गन्तब्यमा भैरहवा नाका हुँदै ठूलो संख्यामा भारतीय पर्यटक घुमफिरमा आउने गरेका छन् । अघिल्लो महिना स्थल नाका समेत खुला भएका कारण आगामी दिनमा भारतबाट पर्यटक आगमन अझै बढ्ने अपेक्षा व्यवसायीको छ ।

व्यवसायीहरुका अनुसार नजिकिएको नयाँ वर्षलाई लक्षित गरी भारत र बंगलादेशबाट बढी अग्रिम बुकिङ भइरहेको छ । नेपालको पर्यटनमा भारत र चीन प्रमुख स्रोत बजार हुन् ।साभार : अनलाइन खबर

 

धेरै कमेन्ट गरिएका

ताजा उपडेट