६ बैशाख २०८१, बिहीबार

 चिनियाँ सरकार विरुद्ध बाेल्ने हाइ प्रोफाइल सेलिब्रिटी गायब हुने घटना निरन्तर

बेइजिङ ।चिनियाँ पूर्व टेनिस खेलाडी पेङ सुआइले झण्डै एक महिनाअघि चीनका पूर्व उपप्रधानमन्त्रीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइन् । सामाजिक सञ्जालमार्फत् उनले लगाएको आरोप केही घण्टापछि नै हटाएको देखियो ।

त्यसपछि उनले सार्वजनिक रुपमा केही पनि प्रतिक्रिया दिएकी छैनन् । यसरी सार्वजनिक रुपमा चिनियाँ उच्च नेतृत्वमाथि आरोप लगाएपछि गायब हुने पेङ एक्लो व्यक्ति हैनन् । यस्ता अरु थुप्रै ‘हाइ प्रोफाइल’ व्यक्ति छन् । जो चीन सरकारको वा कम्युनिस्ट नेतृत्वको आलोचना गरेपछि गायब पारिए वा अपहरणमासमेत परेका छन् ।
पछिल्लो १० वर्षयताको सूची हेर्ने हो भने यसरी सार्वजनिक रुपमा आफ्नो विचार राखेकै कारण बेपत्ता पारिएका वा अपहरणमा परेका सेलिब्रिटी, हाइ प्रोफाइल व्यक्ति वा कलाकारहरूको संख्या बाक्लो छ ।

एई वेइवेइ, कलाकार

चिनियाँ कलाकार एई वेइवेइ चीन सरकारको कडा आलोचकको रुपमा चिनिन्छन् । विशेषगरी लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको मुद्दामाथि उनी चीन सरकारको कडा रुपमा आलोचना गर्छन् ।

यसैकारण उनी २०११ मा बेइजिङमा पक्राउ परे र ८१ दिन गोप्य कारागारमा थुनिए। केही वर्षसम्म त उनको पासपोर्टसमेत खारेज गरियो । एई त्यस्ता थोरै सेलिब्रीटीमध्ये एक हुन् जसलाई हेरेर विश्वले थाहा पाउँछ कि चीनमा कसरी बेपत्ता पारिन्छ । उनी त्यहाँ निकै कडा निगरानीमा राखिएका थिए । पछि उनले चीन छाडेर बेलायत गए ।

झाओ वेइ, अभिनेत्री

केही महिनायता चीन सरकारले यस्तो कारबाही सुरु गर्‍यो जुन युवाहरूलाई भड्काउने वा कम्युनिस्ट पार्टीको आदर्शबाट टाढा लैजाने कलाकारहरूप्रति लक्षित थियो । अर्बपति फिल्मस्टार तथा पप गायिका झाओ गत अगस्टमा चीनमा सार्वजनिक जीवनबाट अचानक गायब भइन् । उनका अनलाइन प्रस्तुतीसमेत हटाइए । उनका फिल्म र टिभी शो पनि साइटबाट हटाइयो ।

तर त्यसपछि झाओ नजरबन्दमा राखिएकी छन् वा ‘लो प्रोफाइल’ को जीवनशैलीमा छिन् भन्नेबारे कुनै विवरण बाहिर आएको छैन । गत सेप्टेम्बरमा उनी पूर्वी चीनस्थित आफ्नै गृहनगरमा तस्बिर खिचाउँदै गरेको अवस्थामा देखिएकी थिइन् । गत साता भने चिनियाँ इन्टरनेट पोर्टल नेटिसले झाओलाई अनलाइन सपिङ कार्यक्रममा देखाएको थियो ।

मेङ होंगेइ, इन्टरपोल प्रमुख

पूर्व सहायक मन्त्रीसमेत रहेका मेङ चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रष्टाचारविरोधी अभियानमा फसेका कम्युनिस्ट पार्टीका प्रभावशाली व्यक्तित्वहरूमध्ये एक थिए । जुन अभियानलाई चीनमा राजनीतिक शत्रुहरूको सुद्धिकरण अभियानको रुपमासमेत हेरिएको थियो ।

मेङ जब २०१६ मा इन्टरपोल प्रमुखको रुपमा चुनिए त्यसपछि विश्वभर चर्चामा आए । यद्यपि २०१८ मै उनको कार्यकाल अन्त्य भयो । कारण के थियो भने त्यसबेला उनी चीन भ्रमणको क्रममा चीनबाटै बेपत्ता पारिए ।

पछि उनलाई घुस खाएको आरोप लगाउँदै चिनियाँ कम्युनिस्ट पार्टीबाट निष्कासन गरियो । र २०२० मा मेङविरुद्ध घुस खाएको मुद्दामा १३ वर्षका लागि जेल सजाय तोकियो । उनकी पत्नी ग्रेस आफ्ना दुई सन्तानसहित फ्रान्समा शरण लिन पुगिन् । त्यसबेला उनले आफ्ना बच्चासहित आफू चीनमा असुरक्षित रहेको प्रतिक्रिया दिएकी थिइन् । उनले त्यसबेला आफ्ना बच्चाहरू अपहरणमा पर्ने भय रहेको बताएकी थिइन् ।

ज्याकमा, व्यवसायी

चीनका नवधनाढ्यहरूको तीव्र गतिमा बढ्दै गरेको शक्ति र प्रभावप्रति बेइजिङको नेतृत्वले गहिरो चासो र चिन्ता देखाउने गरेको छ । त्यसैको शिकार बनेका थिए अलीबाबाका मालिक ज्याक मा ।

विश्वभर प्रभाव जमाएको इकमर्स कम्पनी अलीबाबाका मालिक ज्याक मा चीन सरकारको आलोचना गरेकै कारण गायब पारिएका सबैभन्दा प्रसिद्ध व्यक्तिमध्ये एक हुन् । बेइजिङका अधिकारीहरूले अलीबाबामा एकाधिकारको अभ्यासमाथि छानबिनका लागि आदेशसमेत दिएका थिए ।

गत वर्ष ज्याक माले सरकारको व्यापार नियमहरूलाई लिएर आलोचना गरेलगत्तै उनी गायब भएका थिए । त्यसबेला उनले चीन नै छाडेको आशंका गरिएको थियो । सार्वजनिक टिप्पणी गरेपछि लामो समयसम्म सम्पर्कविहीन बन्न पुगेका ज्याक माबारे विश्व समुदायले समेत चासो देखाएको थियो ।

तर तीन महिनापछि अचानक उनी आफ्नै गृहनगरबाट एक अनलाइन भिडियोमार्फत् सार्वजनिक भएका थिए । स्थानीय मिडियाका अनुसार माले आफू अध्ययन गरिरहेको र सोचिरहेको प्रतिक्रिया दिएका थिए । साथै उनले शिक्षा र लोककल्याणमा आफूलाई समर्पित गर्न प्रतिवद्ध रहेको प्रतिक्रिया दिएका थिए । केही साताअघि मा हङकङमा एक व्यापारीहरूसँगको भेटमा व्यस्त देखिएका देखिएका थिए ।

गुइ मिनहाइ, प्रकाशक तथा पुस्तक व्यापारी

हङकङमा रहेर पुस्तक व्यापार गर्दैआएका गुइ २०१५ को अक्टोबरमा थाइल्याण्डबाट अचानक रहस्यमय रुपमा गायब पारिए । चिनियाँ राजनीतिक सम्भ्रान्तहरूबारे विवादास्पद पुस्तक प्रकाशन गरेका कारण पनि उनी आलोचित बन्ने गरेका थिए ।

तर उनी महिनौंसम्म सम्पर्कविहीन भएर २०१६ मा मात्रै चीनको सरकारी टेलिभिजनमार्फत् देखाइएका थिए । जहाँ उनी कृत्रिम र बनावटी रुपमा प्रस्तुत भएको देखिन्थे ।

दुई वर्षपछि २०१८ मा गुइ आंशिक रुपमा सार्वजनिक गरिए र उनलाई भिडियो कल गर्ने अनुमति दिइएको थियो । तर फेरि उनी स्वीडिस कुटनीतिज्ञहरूसँग हिँडिरहेका बेला सादा पोशाकका प्रहरीहरूले उनलाई पक्राउ गरे । चिनियाँ मूलका स्वीडिस नागरिक गुइको पक्राउले गम्भीर कुटनीतिक विघटन निम्त्याएको भन्दै आलोचकहरूबाट प्रश्न उठ्ने गरेको छ ।

(द गार्जियन र एजेन्सीबाट साभार

धेरै कमेन्ट गरिएका

ताजा उपडेट