२२ बैशाख २०८१, शनिबार

ताइवानले चीनलाई टक्कर दिन ‘भाइपर’ लडाकु विमान प्रयाेग गर्ने

३ मंसिर, काठमाडौं । चीनलाई टक्कर दिन ताइवानले आफ्नो रक्षार्थ नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । अपग्रेड गरिएका एफ-१६ लडाकु विमानले चीनको संभावित आक्रमण सामना गर्न सक्ने समाचारमा बताइएको छ ।

बिहीबार पाइलटहरूले दक्षिण-पश्चिम तटस्थित चियाई नामक हवाड अड्डाको आकाशमा ‘भाइपर’ समेत भनिने र अपग्रेड गरिएका एफ-१६ लडाकु विमान उडाएका थिए । उडानका क्रममा भाइपर लडाकु विमानको सैन्य क्षमता प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनमा २ दर्जनभन्दा बढी एफ-१६ भी सहभागी भएको सीएनएनले जनाएको छ ।
यसअघि ९० को दशकमा अमेरिकासँग खरिद गरिएका पुराना एफ-१६ए/बी लडाकु विमानलाई अपग्रेड गरेर भाइपर विमान बनाइएको हो । ताइवानको आधिकारिक समाचार माध्यम सेन्ट्रल न्यूज एजेन्सी (सीएनए) का अनुसार अपग्रेड गरिएका विमानमा अत्याधुनिक रडार सिस्टम र नयाँ ‘मिशन कम्प्युटर’ जडान गरिएको छ ।

बुधबार ताइवानको संसदमा बोल्दै सहायक रक्षामन्त्री वाङ सिङ लुङले ६० भन्दा बढी एफ-१६ लडाकु विमानलाई अपग्रेड गरिएको जानकारी गराएका थिए । सन् २०२३ सम्ममा १४१ वटा एफ-१६ विमानलाई अत्याधुनिक प्रविधिसहित अपग्रेड गरिने समाचारमा उल्लेख छ ।

यसबाहेक, ताइवानले अमेरिकी निर्माता कम्पनी लकहिड मार्टिनबाट ६६ वटा नयाँ एफ-१६ भाइपर लडाकु विमान खरिद गर्दैछ । २०२३ सम्ममा ती विमान ताइवानमा आउने सिएनएले जनाएको छ ।

पछिल्लो समय ताइवानले चीनबाट बढ्दै गएको खतराबीच आफ्नो सैन्य शक्ति सुदृढ तथा विस्तार गर्न थालेको छ । यसै अक्टोबरमा बेइजिङले ताइवान नजिकै १५० वटा लडाकु विमान पठाएको थियो । लगत्तै ताइपेइले चिनियाँ विमानको निगरानी गर्न आफ्नो हवाइ प्रतिरक्षा प्रणाली सक्रिय पार्दै रेडियोबाट चेतावनी दिएको थियो ।

गत वर्ष ताइवानलाई ६६ वटा नयाँ भाइपर लडाकु विमान बेच्ने घोषणा गरिएको थियो । अत्याधुनिक लडाकु विमानले चीनको सामना गर्न सक्ने र ताइवानका सैन्य पाइलटको आत्मबल बढाउने विश्लेषकहरूले बताएका थिए ।

‘यो निकै सक्षम विमान हो । यो सानो, तीव्र गतिको र उडाउन सजिलो छ’, सिंगापुरस्थित लि क्वान यु स्कुल अफ पब्लिक पोलिसीका वरिष्ठ सोधकर्ता ड्रू थोमसनले भने ।

त्यस्तै, अष्टेलियाका सैन्य विश्लेषक पिटर लेटनले एफ-१६ भाइपरले सैनिक कोणबाट हेर्दा ताइवानको अवस्था स्थिर बनाउने बताए । सीएनएनबाट

धेरै कमेन्ट गरिएका

ताजा उपडेट