पाकिस्तानकाे बलुचिस्तान प्रान्तमा नागरिक बेपत्ता हुने संख्या बढ्याे : आयाेग

इस्लामाबाद ।
पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती बेपत्ता बनाउने कार्य बढिरहेको एक प्रतिवेदनले देखाएको छ। जबर्जस्ती बेपत्ता पारिएकाहरूको खोजबिनसम्बन्धी आयोगले पछिल्लो महिना मात्रै ३७ नागरिक बेपत्ता भएको उजुरी परेको जनाएको छ।
२०११ मार्चमा आयोग स्थापनापछि आठ हजार एक सय ५४ जना बेपत्ता भएको उजुरी परेको थियो। यीमध्ये पाँच हजार नाै सय २४ जनाका बारेमा पत्ता लागेको र बाँकीको हकमा पत्ता नलागेको आयोगद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।
पछिल्लो महिना बेपत्ता भएकामध्ये १८ जनालाई भेट्टाएर घर फर्काइएको आयोगले जनाएको छ। यीमध्ये आठजना प्रहरी हिरासतमा, तीनजना जेलमा भेटिएका र एकजनाको शव भेटिएको छ। सातजनाको स्थिति अझै अज्ञात रहेको आयोगले जनाएको छ। मुख्यतया बलुचिस्तान प्रान्तमा बेपत्ताका घटना बढेको भन्दै आयोगले चिन्ता व्यक्त गरेको छ। बलुचिस्तान प्रान्तमा सरकारविरोधी प्रदर्शन र आन्दोलन हुने गरेका छन्।एजेन्सीबाट
