भारतमा काेराेना संक्रमित घट्दै

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या नौ महिनापछिकै सबैभन्दा कम देखिएको छ। सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार एक सय २६ जना मात्रै नयाँ संक्रमित थपिएका छन्। यो संख्या भारतमा महामारी फैलिएको पछिल्लो दुई सय ६६ दिनपछिकै सबैभन्दा कम हो।
भारतमा अहिलेसम्म कुल संक्रमितहरूको सङ्ख्या तीन करोड ४३ लाख ७७ हजार एक सय १३ पुगेको छ। कुल संक्रमितमध्ये एक लाख ४० हजार ६ सय ३८ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन्। संक्रमित अवस्थामै रहेकाहरूको संख्या पनि दिनप्रतिदिन घट्दै गएको बताइएको छ। दैनिक नयाँ संक्रमितहरूको संख्याभन्दा संक्रणममुक्त भएकाहरूको संख्या धेरै भएकाले संक्रमित अवस्थामै रहेकाहरूको संख्या घट्दै गएको हो।
पछिल्लो २४ घन्टामा ११ हजार नाै सय ८२ जना संक्रमणमुक्त भएका छन्। योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरूको कुल संख्या तीन करोड ३७ लाख ७५ हजार ८६ पुगेको छ। त्यसैगरी भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर चार लाख ६१ हजार तीन सय ८९ जनाको मृत्यु भएको छ। तीमध्ये तीन सय ३२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।
