बाइडेनद्वारा रुस र चीनका राष्ट्रपति नेतृत्व लिन नसकेकाे आलोचना

ग्लास्गो । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी र चिनियाँ राष्ट्रपतिको आलोचना गरेका छन्। २६ औं जलावायु सम्मेलन (कोप २६) मा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चीनफिङ सहभागी नभएको भन्दै बाइडेनले उनीहरूको आलोचना गरेका हुन्।
मंगलबार राति कोप २६ समारोहमा बोल्दै बाइडेनले जलवायु एउटा महत्वपूर्ण मुद्दा भएको तर संसारका शक्ति राष्ट्र चीन र रुस त्यस मुद्दाबाट टाढिएको बताएका छन्।
स्कटल्याण्डको ग्लास्गोमा अक्टोबर ३१ देखि नोभेम्बर १४ सम्म जारी कोप २६ सम्मेलनमा चीन र रुसका राष्ट्रपति अनुपस्थित छन्। यद्यपि, दुवै नेताले वार्ताका लागि आफ्ना प्रतिनिधि भने सम्मेलनमा पठाएका छन्।
बाइडेनले जलवायु जस्तो महत्वपुर्ण सम्मेलनमा चीन र रुस आफ्नो नेतृत्व दिन असफल भएको आरोप समेत लगाएका छन्। ‘जलवायु परिवर्तनलाई सम्बोधन गर्न चीन र रुस दुवै मुलुक असफल भएका छन्’, बाइडेनले भनेका छन्, ‘यो सम्मेलनमा दुवै देशका शीर्ष नेता उपस्थित हुन नसक्नु सबैभन्दा ठूलो गल्ती हो। बाहिर आफूहरुलाई विश्वकै नेता भनेर चिनाउन खोज्ने दुवै देशका राष्ट्रपति जलवायु जस्ता महत्वपूर्ण मुद्दाबाट भने टाढिएका छन्।’
