६ बैशाख २०८१, बिहीबार

कीर्तिमानी जितसँगै भारतको सेमिफाइनल सम्भावना कायमै, यसरी पुग्न सक्छ अन्तिम चारमा

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारत सेमिफाइनल प्रवेश गर्ने सम्भावना कायमै राख्न सफल भएको छ । शुरुआती दुई खेल हारे पनि त्यसपछिका दुई खेलमा कीर्तिमानी जित निकाल्दै भारतले सेमिफाइनल पुग्ने सम्भावना जिवितै राखेको हो । पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको भारतले त्यसपछिको खेलमा अफगानिस्तानमाथि यो विश्वकपकै सर्वााधिक स्कोर र दोस्रो खेलमा शुक्रबार राति स्कटल्याण्डमाथि कम ओभरमै हासिल गरेको जितको कीर्तिमानसहित सेमिफाइनलको सम्भावना कायमै राखेको हो ।

भारतको इनिङ्स
खेलमा स्कटल्याण्डले दिएको ८६ रनको झिनो विजयी लक्ष्य भारतले ६.३ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो । ओपनिङ साझेदारी ७० रनको भएको इनिङ्समा लोकेश राहुलले १९ बलमा ५० रन बनाए । त्यस्तै रोहित शर्माले १६ बलमा ३० रन जोडे । जित नजिकै पुगेका बेलामा दुवै खेलाडी आउट भए । तर सूर्यकुमार यादवले २ बलमा नटआउट ६ तथा कप्तान विराट कोहलीले २ बलमा नटआउट २ रन बनाउँदै टीमको जित सुनिश्चित गरे ।

स्कटल्याण्डको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले १७.४ ओभरमा अलआउट हुँदै ८५ रन बनायो । स्कटल्याण्डका जर्ज मुन्सीले सर्वाधिक २४ रन जोडे । माइकल लिस्कले १२ बलमा २१ रन बनाए ।

भारतका लागि प्लेयर अफ द म्याच रविन्द्र जडेजा र मोहम्मद शामीले समान ३–३ विकेट लिए । जसप्रित बुमराहले २ तथा रविचन्द्रन आश्विनले १ विकेट लिए ।

अंक तालिका
समूह २ को खेलमा पाकिस्तान ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । न्यूजिल्याण्ड ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

भारत ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । अफगानिस्तान पनि ४ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ ।

नामिबिया ४ खेलबाट २ अंकसहित पाँचौं तथा स्कटल्याण्ड ४ खेलबाट अंकविहीन हुँदै पुछारमा छ ।अन्तिम चरणको खेलबाटै सेमिफाइनलमा पुग्ने अन्तिम टीमको टुंगो लाग्नेछ । महत्वपूर्ण खेल न्यूजिल्याण्ड र अफगानिस्तानको रहेको छ । यो खेल जित्दा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्नेछ ।

यो खेलमा न्यूजिल्याण्ड पराजित हुँदा भारत र नामिबिया बीचको खेल महत्वपूर्ण हुन्छ । यदि न्यूजिल्याण्ड पराजित भयो भने भारतले नामिबियालाई हराउँदा भारत सेमिफाइनलमा पुग्नेछ । अर्कातर्फ न्यूजिल्याण्ड अफगानिस्तानसँग थप फराकिलो अन्तरले विजयी भयो भने अफगानिस्तान नै सेमिफाइनलमा पुग्नेछ । यो सम्भावना कम छ ।

अफगानिस्तान विजयी हुने सम्भावना पनि कम रहेकाले पनि न्यूजिल्याण्ड सेमिफाइनलको बलियो दाबेदार बनेको छ ।नामिबिया र स्कटल्याण्ड बाहिरिइसकेको अवस्थामा अब सेमिफाइनलमा न्यूजिल्याण्ड, भारत र अफगानिस्तानमध्ये एक टिम पुग्नेछ ।

सबैभन्दा राम्रो रन रेट भारतको रहेको अवस्थामा यदि न्यूजिल्याण्ड अफगानिस्तानसँग पराजित हुँदा र भारतले नामिबियालाई हराउँदा भारत सेमिफाइनलमा पुग्नेछ । जस्तोसुकै जितले पनि न्यूजिल्याण्ड भने सेमिफाइनलमा पुग्नेछ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट