कम्युनिस्टहरुले जनतामा भ्रम मात्र फैलाए :कांग्रेसी नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले देशको विकासका लागि कांग्रेसको विकल्प नरहेको बताएका छन्। शुक्रबार नेपाल संवतका अवसरमा बुद्धनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा नेता सिंहले कम्युनिस्ट पार्टीहरूले जनतामा भ्रम मात्रै सिर्जना गरेको भन्दै उनले कांग्रेस मात्रै भरोसा गर्ने पार्टी भएको बताएका हुन्।
‘पहिलो संविधानसभामा चारजना कम्युनिस्ट प्रधानमन्त्री बने, तर संविधान बनाउन सकेनन्। दोस्रो संविधानसभामा कांग्रेसको सरकार बन्यो। संविधान पनि बन्यो,’ उनले भने, ‘दुईतिहाइको कम्युनिस्ट सरकार बन्यो, तर काम गर्न सक्यो त ?’ नेता सिंहले भने, ‘कम्युनिस्टले जनतामा भ्रम फैलाएर भोट माग्छन्। झुटो र भ्रम फैलाउने काममा नेपालका कम्युनिस्टले मात्रै सक्छन्।’
उनले काम गर्न सक्ने नेता र पार्टीलाई मतदाताले जिताउनुपर्नेमा जोड दिए। उनले काम नगर्ने तर लोकप्रिय नारा दिएर मतदातालाई प्रभावित गर्ने काम भइरहेको टिप्पणीसमेत गरेका थिए। नेता सिंहले नयाँ नारा मात्रै दिएर राजनीति सम्भव नहुने बताए ।
‘मेरो निर्वाचन क्षेत्रलाई एलिटहरू बस्ने ठाउँ भन्छन्। पढेलेखेका मतदाता छन्। चुनावका वेलामा नयाँ–नयाँ पार्टीहरू आउँछन्। काम केही गरेको हुँदैन, तर नयाँ र आकर्षक नारा दिएर मतदाता प्रभावित हुने अवस्था छ,’ उनले भने, ‘पार्टी सानो छ, तर पटकपटक विभाजित भएको छ। आफ्नै पार्टी जोगाउन नसक्ने, तर ठूला कुरा गर्नेहरूको पर्दाफास भएको छ।’
