आश्विन २०, २०७२। तराईका २० जिल्लाको जनसंख्यालाई केलाउँदा मधेसी समुदायको संख्या दोस्रो स्थानमा रहेको पाइएको छ। राष्ट्रिय जनगणना २०६८ को तथ्यांकअनुसार तराईमा सबैभन्दा धेरै पहाडी मूलका ३९.८६ प्रतिशत (५३ लाख ८ हजार ५ सय ६२ जना) को बसोबास छ। मधेसीको जनसंख्या ५१ लाख ५५ हजार ३ सय ८४ अर्थात् ३८.७१ प्रतिशत छ। थारू १२.६४ प्रतिशत अर्थात् १६ लाख ८३ हजार १ सय ६६ छन्। मुस्लिम ८.३२ प्रतिशत अर्थात् ११ लाख ७ हजार ४ सय ५२ छन्। बाँकी परिचय नखुलेका ०.४८ प्रतिशत अर्थात् ६४ हजार १ सय ४१ जना छन्। तराईका २० जिल्लाहरूमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पर्छन्। नेपालको भूगोललाई हिमाल, पहाड र तराई गरी तीन भागमा हेर्ने गरिएको छ। भौगोलिक हिसाबले हिमाली क्षेत्रले १५, पहाडले ६८ र तराईले १७ प्रतिशत भूभाग ओगटेका छन्। पछिल्लो जनगणना अनुसार तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत बस्छन्। त्यो संख्या १ करोड ३३ लाख १८ हजार ७ सय ५ जना हो। पहाडमा ४३.०१ प्रतिशत अर्थात् १ करोड १३ लाख ९४ हजार जनाको बसोबास छ। हिमाली क्षेत्रमा ६.७३ प्रतिशत मात्र जनसंख्या छ। त्यो संख्या १७ लाख ८१ हजार ७ सय ९२ जना हो। देशको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ। जनसंख्याविद्हरूको मतअनुसार तराईको जनसंख्या एक्कासि बढेको नभई गणितीय हिसाबले बढेको हो। ‘हिमाली र पहाडी क्षेत्रको बराबर तराईको जनसंख्या देखिनु स्वाभाविक हो,’ जनसंख्याविद् प्राध्यापक रामशरण पाठक भन्छन्, ‘भौगोलिक, आर्थिक हिसाबले सुगमतर्फ बसाइँ सर्ने क्रमले तराईको जनसंख्या बढ्न गयो। यो स्वाभाविक प्रक्रिया हो। र, यसलाई रोक्न पनि सकिन्न।’ राजनीतिक हिसाबले जनसंख्यालाई जातिगत मुद्दा बनाउन नहुने उनको तर्क छ। अर्का जनसंख्याविद् प्राध्यापक योगेन्द्र गुरुङले जनसंख्यालाई राजनीतिक मुद्दा बनाउने परम्परा पुरानै भएको उल्लेख गरे। ‘अहिले मधेसमा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने माग उठेको छ, यो कुनै नौलो कुरो होइन,’ उनले भने। मधेसको माग जायज भए पनि छिमेकी मुलुक भारतले बोलेर आगोमा घिउ थपेजस्तो भएको गुरुङले बताए। ‘भारतले उठाएपछि मात्र उठेको मुद्दा होइन यो,’ उनले भने, ‘मधेसीको जनसंख्या अचानक थपिएको पनि होइन। त्यसैले राष्ट्रलाई समावेशी, समानुपातिक चरित्रको बनाउने जायज मागलाई सम्बोधन गर्दै राष्ट्रिय स्वरूप तयार गरिनुपर्छ। (कान्तिपुर )
3