दिल्ली अदालत अगाडि बम हमला गर्ने पाकिस्तानी डेढबर्ष झारफुक गरेर बसेको खुलासा

सेयर गर्नुहोस

नयाँदिल्ली । भारतकाे नयाँदिल्लीस्थित उच्च अदालत अगाडि २०११ मा भएको बम हमलामा संलग्न एक अभियुक्तलाई भारतीय प्रहरीले हालै पक्राउ गर्‍यो । दिल्ली प्रहरीले मोहम्मद असरफ नामका ती अभियुक्तलाई पाकिस्तानी आतंकवादी भएको जनाएको छ ।

पक्राउपछि प्रहरीले उनीबारे केही नयाँ रहस्य खुलासा गरेको छ। सोधपुछको क्रममा असरफले उच्च अदालतमा हमला गर्नुअघि त्यस क्षेत्र वरपर रेकी गरेको स्वीकार गरेका छन् । यस्तै जम्मू कश्मीरमा आतंककारीहरुले आफ्नै अगाडि सैनिक जवानहरुको अपहरण गरेकोसमेत उनले वयानको क्रममा बताएका छन्।
असरफ २००५ देखि २००६ मा डेढ वर्षभन्दा धेरै राजस्थानमा रहेको र त्यहाँ उनी झारफुक गरेर बसेको वयान दिएका छन् । राजस्थानको अजमेरमा उनले झारफुक गरेर लुकेर बसेको बताएका छन् ।

यसवाहेक उनी जोगीको पहिरनमा पनि केही क्षेत्रमा बसेको बताएका छन् । दिल्ली प्रहरीको अनुसन्धानको क्रममा मोहम्मद असरफको साथमा केही फर्जी परिचयपत्र समेत बरामद गरिएको छ । तीमध्ये एक अहमद नूरी नामको एउटा परिचयपत्र रहेको भारतीय सञ्चारमाध्य दैनिक भास्करले जनाएको छ ।
साथै भारतीय पासपोर्ट लिएर थाइल्याण्ड र साउदी अरबसम्म पुगेको अनुसन्धानमा खुलेको छ । र गाजियाबादमा एक भारतीय महिलासँग विवाह गरी केही समय त्यहाँ बिताएका थिए ।

यस्तै असरफ आईएसआईको सम्पर्कमा समेत पुगेको बताइएको छ । २००१ मा उनी आईएसआईको सम्पर्कमा पुगेको पनि खुलेको छ । दिल्ली प्रहरीका अनुसार उनी पाकिस्तानको पन्जाबस्थित नरोवाल जिल्लाका बासिन्दा हुन्। भारतमा रहने क्रममा उनी सिलिगुढीसम्म पुगेको बुझिएको छ । असरफ त्यहाँबाट बंगलादेशको ढाकासम्म पुगेका थिए ।

Facebook Comments Box