दुई महिनापछि लद्दाखमा भारत र चीनका सेनाबीच वार्ता

सेयर गर्नुहोस

बिबिसी ।
दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको छ । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा सो बैठकको आयोजना गरिएको हो ।
स्रोतका हवाला दिँदै पीटीआईले कोर कमान्डर स्तरको वार्ताको यस १३ औँ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ । आजको वार्ता बिहान करिब साढे १० बजे सुरु भएको थियो । आजको वार्तामा भारतीय दलको नेतृत्व लेहस्थित १४ कोरका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेननले गरेका थिए ।

लगभग तीन हप्ताअघि भारतीय विदेशमन्त्री एस जयशंकरले दुशांबेमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटघाट गरेका थिए । सो भेटमा उनले दुवै देशले पूर्वी लद्दाखको बाँकी क्षेत्रको मुद्दालाई पनि चाँडोभन्दा चाँडो समाधान गर्न काम गर्नुपर्ने बताएका थिए । दुई नेताबीचको छलफल एससीओ शिखर सम्मेलनका दौरान १६ सेप्टेम्बरमा भएको थियो ।
यसअघि भारत र चीनका सैन्य अधिकारीबीच ३१ जुलाईमा १२ औँ चरणको वार्ता भएको थियो । यसको केही दिनपछि दुवै देशका सैनिक गोगराबाट पछि हटेका थिए । सो क्षेत्रमा शान्ति बहला गर्ने दिशामा सो कदमलाई महत्त्वपूर्ण मानिएको थियो । शनिबार भारतको थल सेनाध्यक्ष जनरल एमएम नरवणेले पूर्वी लद्दाख क्षेत्रमा चीनले ठुलो सङ्ख्यामा सेना तैनाथ राखे भारतीय सेनाले पनि सोही अनुसारको कदम चाल्ने चेतावनी दिएका थिए ।

Facebook Comments Box