पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कार्तिक १५ मा आउने

काठमाडौं ,असोज १८ ।
सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दामा १५ कार्तिकमा फैसला सुनाउने भएको छ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको मुद्दामा सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कार्तिक १५ मा फैसला सुनाउन निसु तोक्ने आदेश गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईलाई मुद्दा नचलाएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले अख्तियारसमेतलाई विपक्षी बनाएर ०७६ माघ २९ मा रिट दर्ता गराएका थिए।
रिटमा बालुवाटार प्रकरणमा नेपाल र भट्टराईमाथि अनुसन्धान गरेर मुद्दा चलाउन माग गरिएको छ । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालका अनुसार कार्तिक १० गतेसम्म बहस नोट पेस गर्ने समय दिइएको छ । ‘कार्तिक १५ लाई निसु तोकिएको छ । कार्तिक १० सम्म बहस नोट पेस गर्ने आदेश भएको छ,’ उनले नयाँ पत्रिकासँग भने ।नयाँ पत्रिका
