बालबालिकाको फोटो प्रर्दशनी
कपिलवस्तु । कपिलवस्तुको बुद्धबाटिका नगरपालिका गोरुसिंगेमा बालबालिका स्थित वृहत फोटो प्रर्दशनी आयोजना गरिएको छ । गौतमबुद्ध उच्च मा.वि.को प्राङगणमा आयोजित प्रर्दशनी कार्यक्रममा जिल्लाका ४१ गाविसका बालबालिकाको उल्लेख्य सहभागिता रहेको थियो ।
सनसाइन सामाजिक विकास संस्थाले आयोजना गरेको उक्त प्रर्दशनीमा ५० भन्दा बढि फोटोहरु प्रर्दशन गरिएको संस्थाकी कार्यक्रम अधिकृत धनेश्वरी घर्तीले जानकारी दिइन् । सेभ द चिल्ड्रेन सहयोगमा आयोजित प्रर्दशनीमा विशेषगरी बालबालिकाको दैनिकी, ग्रामिण भेगका कला संस्कृती तथा वस्तु अवस्था झल्कने किसीमका फोटोहरु प्रर्दशनमा राखिएको थियो । उक्त फोटोहरु विभिन्न बालक्लबमा आबद्ध बालबालिकाहरुले खिचेको बताइएको छ । बालबालिकाहरुको क्षमता तथा दक्षता अभिवृद्धिका लागि उनीहरुलाई फोटो खिच्ने तालिम समेत प्रदान गरिएको थियो । सोहि अवसरमा बुद्धबाटिकाको मोर्मा स्थित नेपाल राष्ट्रिय प्राविका बालबालिकाहरुले थारु समुदायको झुमरा तथा मयुर नाच प्रस्तुत गरेका थिए । सो अवसरमा सेभ द चिल्ड्रेन कपिलवस्तुका संयोजक इश्वर खत्रीले बालबालिको चौतर्फी विकासका लागि आयोजना गरिएको यस प्रकारको कार्यक्रम निकै सन्देशमुलक रहेको बताउनुभयो ।
