मास्क नलगाउने यात्रुले सवारी साधन चढ्न नपाउने

कृष्णा गिरी / असोज १६ ,काठमाडौँ I मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले उक्त निर्णय गरेको हो ।
उपत्यकाको भीडभाडलाई मध्यनजर गरी यहाँ सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको हो ।सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधानमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ ।
कोभिड–१९ सङ्क्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ । चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ ।
