नेपाल-भारत संयुक्त पूर्वाधार कार्यान्वयन समिति बैठक भाेली बस्दै

सेयर गर्नुहोस

काठमाडौँ । नेपाल–भारत संयुक्त पूर्वाधार कार्यान्वयन समितिको बैठक बिहीबार हुने भएको छ । नेपालको तीनदिने भ्रमणमा मंगलबार काठमाडौं आएका भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवको नेतृत्व भारतीय टोली र नेपाली पक्षबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारीले गर्ने भनिए पनि हालसम्म कसले गर्ने भन्न टुंगो लागेको छैन ।

प्राधिकरणका अधिकारीसहित भारतीय सहयोगमा विभिन्न मन्त्रालयमा पूर्वाधार निर्माण भइरहेका मन्त्रालयका पदाधिकारीहरु उक्त संयुक्त बैठकमा हुने कार्यक्रम छ ।
संयुक्त बैठकमा भारत सरकारबाट नेपाल सरकारलाई विकास निर्माण पूर्वाधारमा भएका सहयोगको कार्यान्वयन, प्रगति र समीक्षा हुने गर्छ । नेपालमा भारतीय सहयोगमार्फत् २०७२ सालपछि विभिन्न स्थानमा घर, विद्यालय भवन र सांस्कृतिक सम्पदा निर्माणको लागि सहयोग भएका छन् भने हुलाकी राजमार्गसहित अन्य पूर्वाधार निर्माणमा पनि सहयोग रहँदैआएको छ ।

श्रीवास्तव बुधबार काभ्रेमा

बुधबार दिउँसो श्रीवास्तव भारतीय सहयोगमा काभ्रेस्थित निर्माण सम्पन्न भएका भवन हेर्न गएका छन् । उनीसहित काभ्रेका जनप्रतिनिधिहरु गोकुलप्रसाद बाँस्कोटा र गंगाबहादुर तामाङ तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका ६ वटा विद्यालयहरुको संयुक्त अवलोकन गरे ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार ती ६ वटा विद्यालय निर्माणको लागि कुल १९ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप आजाद माध्यमिक विद्यालय (बनेपा), भगवती माध्यमिक विद्यालय (पाँचखाल), आजाद माध्यमिक विद्यालय (पाँचखाल), दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), शारदा माध्यमिक विद्यालय (पनौती) र खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) का विद्यालय निर्माण भएका हुन् ।

यससँगै अब २ हजारभन्दा बढी विद्यार्थीहरुले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने दूतावासले विज्ञप्तिमार्फत् जनाएको छ । भारतले नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्‍याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार यी विद्यालय निर्माण गरिएको विज्ञप्तिमा भनिएको छ ।

यस्तै भारतले अन्य आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौंमा पनि विद्यालयहरु निर्माण गरेको छ । हालसम्म १४ वटा विद्यालयको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।

Facebook Comments Box