१४ बैशाख २०८१, शुक्रबार

झण्डै ३ खर्ब बराबरकाे हेराेइन बरामद, आतङ्कवाद फन्डिङ्गका लागि आएकाे आशङ्का


काठमाडौं । भारतको राजस्व एवं खुफिया निर्देशनालय (डीआरआई)ले झन्डै ३ खर्ब नेपाली रुपैयाँ बराबरको अफगानिस्तानी हेरोइन (लागूपदार्थ) जफत गरेको छ । भारतले एकै पटक यति ठुलो मात्रामा लागूपदार्थ जफत गरेको सम्भवतः यो पहिलो घटना हो ।

हिन्दुस्तान टाइम्सले पाएको जानकारी अनुसार गुजरातको मुन्द्रा बन्दरगाहमा दुई वटा कन्टेनरबाट २ खर्ब १० अर्ब भारतीय रुपैयाँ (३ खर्ब बढी नेपाली रुपैयाँ) बराबरको ३ हजार किलोग्राम लागूपदार्थ जफत गरिएको हो ।

तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानबाट इरानको अब्बसा बन्दरगाह हुँदै सेप्टेम्बर १३ र १४ मा यो लागूपदार्थ गुजरात पठाइएको बताइएको छ ।
आन्ध्र प्रदेश स्थित एक फार्मले आयात गरिरहेको अर्ध प्रशोधित ट्याल्क(कस्मेटिकमा प्रयोग हुने खनिज माटो)भित्र लुकाइएको अवस्थामा दुई कन्टेनरबाट यति ठुलो मात्रामा लागूपदार्थ जफत भएको बताइएको छ ।

यो मामिलामा चेन्नइबाट एक दम्पतीलाई गिरफ्तार गरिएको छ । यस्तै दिल्ली आसपासबाट थुप्रै अफगानी नागरिकहरुलाई पक्राउ गरिएको बताइएको छ । उनीहरूमाथि तालिबान र आईएसआईसँग संलग्न भएको विषयमा सोधपुछ एवं अनुसन्धान भइरहेको छ ।

डीआरआईलाई सेप्टेम्बर १६ र १७ मा अफगानिस्तानको कान्धर स्थित कम्पनीले निर्यात गरेको दुई कन्टेनरमा ट्याल्कभित्र लुकाइएको अवस्थामा हिरोइन छ भन्ने विशेष सूचना मिलेको बताइएको छ ।

त्यसपछि बरामद गरिएको लागूपदार्थलाई गान्धी नगर केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशालाले परीक्षण गरेको थियो । प्रयोगशालाले उच्च गुणस्तरीय हिरोइन भएको र सम्भवतः अफगानिस्तानी हुनसक्ने बताएको थियो ।

उनीहरूले यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ७ करोड प्रतिकिलोग्राम बताएका थिए । सोही अनुसार भारतमा एकै पटक यति ठुलो मात्रामा लागूपदार्थ बरामद गरिएको यो सम्भवतः पहिलो घटना भएको बताइएको छ ।

भारतीय एजेन्सीहरुले यसमा संलग्नलाई विभिन्न ठाउँबाट खोज अनुसन्धान गरिरहेका छन् । पाकिस्तान र भारत विरोधीहरुले भारतमा हिरोइन बेचेर आतङ्कवादका लागि आम्दानी गर्न खोजिरहेको आशङ्का गरिएको छ ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट