काठमाडौँ – सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो हठ जारी राखे एमालेमुक्त मधेस बनाउने चेतावनी दिएका छन् ।
आइतबार रिपोटर्स क्लबमा बोल्दै अध्यक्ष महताले भने, ‘एमालेले जुन हठ देखाइरहेको छ, त्यसलाई कायम राखे हामीले एमालेमुक्त मधेसको कल्पना गरेका छौँ ।’ उनले यस अभियानमा एमालेभित्रका मधेसी नेताहरुले पनि साथ दिने दाबी गरे ।
महतोले साक्षात्कारमा महाभारतको कथा सुनाउँदै नेपालमा पनि त्यही स्थिति आउन सक्ने बताए । ‘पाण्डवहरुले पाँचवटा गाउँ माग्दा करौवहरुले त्यो नदिँदा जसरी महाभारतको युद्ध भयो र पछि हस्तिनापुरसमेत गुमाउने अवस्था आयो,’ महतोले भने ‘हामीले पनि अहिले पाँच जिल्ला माग गरिरहेका छौँ । त्यो नदिए नेपालमा पनि त्यस्तै स्थिति आउन सक्छ ।’ पाँच जिल्लाका लागि आफूहरुले ‘नयाँ महाभारत’ शुरु गर्ने बताए ।
अध्यक्ष महताले सरकारले ल्याएको संविधान संशोधनलाई आफूहरुले स्वीकार गर्ने र थप उपलब्धिका लागि आन्दोलन गर्ने बताए । ‘सरकारले ल्याएको संशोधन प्रस्ताव ठीकै छ । भाषा मिलेको छ । राष्ट्रिय सभामा प्रतिनिधित्व, नागरिकता लगायत विषयमा ठीकै प्रस्ताव आएको छ,’ उनले भने, ‘नमिलेको कुरा भनेको सीमाकंन मात्रै हो । तर अहिले हामी यसलाई स्वीकार गर्छौँ र थप उपलब्धिका लागि आन्दोलन गर्छौँ ।’ उनले सरकारले चाँडोभन्दा चाँडो संशोधन प्रस्तावको कार्यसूची ल्याउनका लागि माग गरे । ‘भोलि वा पर्सी नै संशोधन प्रस्ताव पास हुने गरी कार्यसूची ल्याउनुपर्छ । सरकारले कार्यसूची ल्याए एमाले पनि लाइनमा आउँछ,’ उनको भनाई थियो । यद्यपि, संविधान संशोधन प्रस्ताव पास नभएसम्म कुनै पनि हातमा चुनाव हुन नदिने पनि उनले चेतावनी दिए । ‘जबर्जस्ती चुनावको घोषणा भए हामी त्यसको सशक्त प्रतिकार गर्नेछौँ,’ उनले भने । त्यस्तै, एमालेले गरिरहेको व्यवस्थापिका संसद्को अवरोधको पनि उनले आलोचना गरे । ‘के संसद एमालेको जमिन्दारी हो ? के एमालेले जे भन्यो त्यही मात्र हुने ? यो संसद हाम्रो पनि हो,’ उनले भने ।
महतोले अंगीकृतिको विवाद मधेसवादी दलले नभएर कांग्रेस–एमालेले सृजना गरेको आरोप लगाए । ‘यसअघिको संविधानमा अंगीकृतलाई राष्ट्रप्रमुख बनाउन मिल्ने प्रावधान राख्दा उनीहरु राष्ट्रघाती नहुने, अहिले हामीले पूरानो व्यवस्था परिवर्तन नगर भन्दा हामी राष्ट्रघाती हुने ?,’ उनले भने । आफूहरुले अंगीकृतिलाई मुख्य पद दिनुपर्ने माग नगरेको मात्र वैवाहिक अंगीकृतलाई बंशजको आधारमा दिनुपर्ने माग गरेको स्पष्ट पारे ।
3