विरगंजमा लोकतान्त्रिक समाजवादी कै दबदबा, सबैभन्दा बढी जनप्रतिनिधिकाे सनाखत

सेयर गर्नुहोस


वीरगन्ज ।
सरकारले ल्याएको दल विभाजनको अध्यादेशअनुसार पर्सामा ३३ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी र एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार २८ जना लोकतान्त्रिक समाजवादी पार्टीमा र पाँचजनाले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् ।

मंगलबारसम्म निर्वाचन आयोगले दल रोज्ने समय दिएपछि उनीहरूले आफैँ उपस्थित भएर दल रोजेको पर्साका प्रमुख निर्वाचन अधिकृत रन्जिता झाले जानकारी दिइन् ।

जिल्लाको कालिकामाई गाउँपालिकाका कार्यबाहक अध्यक्ष राजेशप्रसाद चौरसिया र पकाहामैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुसुमी देवीले लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । कार्यबाहक अध्यक्ष चौरसिया र उपाध्यक्ष देवी तत्कालीन जसपाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

यस्तै, पाँचजना वडाध्यक्षले पनि लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गरेका छन् । लोकतान्त्रिक समाजवादीमा सनाखत गर्नेमा पोखरिया नगरपालिका– १ का अध्यक्ष बंका राउत कुर्मी, जगरनाथपुर गाउँपालिका– ६ का अध्यक्ष अयोध्या पटेल, वीरगन्ज महानगरपालिका– ३ का वडाध्यक्ष बैजु स्वर्णकार, वीरगन्ज महानगरपालिका– ३२ का वडाध्यक्ष रेयाज अहमद र धोबनी गाउँपालिका– २ का वडाध्यक्ष नन्दलाल राउत कुर्मी रहेका छन् । यस्तै, विभिन्न नगरपालिका र गाउँपालिकाका २१ जना सदस्यले पनि सनाखत गरेको झाले बताइन् ।

यस्तै, नेकपा एमालेबाट पाँचजना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार एक वडाध्यक्ष र चार सदस्यले सनाखत गरेका हुन् । झाका अनुसार केही दिनअगाडि जसपाबाट लोकतान्त्रिक समाजवादी पार्टीमा सनाखत गराएका तीनजनाले फिर्ताका लागि निवेदन दिएका छन् ।

Facebook Comments Box