चन्द्रगिरिमा जीपलाइन संचालनमा ल्याइने

सेयर गर्नुहोस


काठमाडौं। चन्द्रागिरिमा यही भदौ १९ (भोलि)देखि जीपलाइन सञ्चालनमा ल्याइने भएको छ । चन्द्रागिरि हिल्स लिमिटेडको लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर नेपालकै सबैभन्दा उच्च स्थानमा जीपलाइन सञ्चालनमा ल्याउन लागेको हो ।

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहले भालेश्वर मन्दिर नजिकदेखि खेल मैदानसम्म १०० मीटर जीपलाइन सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।

विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै पाँच महिनादेखि बन्द रहेको चन्द्रागिरि सरकारले निषेधाज्ञा पूर्ण रूपमा हटाएसँगै खुला गरिएको हो ।
निषेधाज्ञा हटेसँगै चन्द्रागिरि केबलकारसमेत पूर्ण रूपमा सञ्चालन आउने भएको छ । यसअघि रिसोर्ट जाने पाहुनालाई मात्र केबलकारको सेवा प्रदान गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले शनिवारदेखि स्वदेशी तथा विदेशी पर्यटकसमेतलाई केबलकारले सेवा प्रदान गर्ने महाप्रबन्धक शाहले बताए ।

“कोरोना महामारीका कारण बन्द रहेको केबलकार भोलिदेखि पूर्ण रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालनमा ल्याउन लागेका छौँ”, उनले भने । केबलकारमा यात्रा गर्ने यात्रु तथा पर्यटकलाई स्वास्थ्य सुरक्षाका नियम अनिवार्य पालना गर्न अनुरोध समेत गरेको छ ।

ऐतिहासिक र धार्मिक महत्त्व बोकेको भालेश्वर मन्दिर दर्शन गर्न नेपाल, भारत र विभिन्न देशका पर्यटक चन्द्रागिरि पुग्ने गरेका छन् । पछिल्लो समय चन्द्रागिरि आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्त्वपूर्ण गन्तव्य स्थल बनिरहेको छ ।

Facebook Comments Box