सीताराम चौधरी,चन्द्रौटा ।मुस्लिम धर्मगुरुहरुले पारिवारिक व्यवस्थापनबारे पाँच बुँदे कपिलवस्तु घोषणा पत्र जारी गरेका छन् । जिल्लाको शिवराज नगरपालिका ६, चन्द्रौटामा आयोजित एक कार्यक्रममा सहभागी मुस्लिम धर्मगुरुहरुले सो घोषणा पत्र जारी गरेका हुन् ।
बालबालिकाको पोषण स्वास्थ्यलाई ध्यानमा राख्दै बच्चा जन्मेको दुई वर्षसम्म आमाले अनिवार्य आफ्नै दुध चुसाउनुपर्ने कुरालाई अविलम्ब पालना गर्न धर्मगुरुहरुले सामुहिक घोषणापत्र जारी गरेका छन् । यस्तै घोषणा पत्रमार्फत छोराछोरीबीच कुनै पनि किसिमको भेदभावपूर्ण व्यवहारलाई अन्त्य गरी समान व्यवहारमा विशेष ध्यान दिन जोड दिएका छन् । बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर जन्मेको तीनवर्षपछि मात्र अर्को बच्चा जन्माउने कुरालाई अविलम्ब पालना गर्न मुस्लिम धर्मगुरुहरुले घोषणा पत्रमा उल्लेख गरेका छन् । सो समयमा दुवैको सहमतिमा अस्थायी साधनको प्रयोग गर्न सकिने उनीहरुले बताएका छन् ।
यसैगरी मुस्लिम बालबालिकाहरुलाई शिक्षा र स्वास्थ्यमा नेपाल सरकारबाट भइरहेको भेदभावपूर्ण व्यवहारको घोर निन्दा गर्दै मुस्लिम बालबालिकाहरुलाई विशेष सेवा सुविधाको माग गरिएको छ । ईस्लाम धर्ममा मुस्लिम समुदायमा महिलालाई विभेदपूर्ण व्यवहार गरिएको जस्ता अन्तर्राष्ट्रिय जगतमा लान्छना लगाउने कार्यप्रति बैठकले आपत्ति जनाउँदै ईस्लाम धर्मलाई सही ढंगले सम्झिन अनुरोध गरिएको छ ।
यसरी जिल्लाका मुस्लिम धर्मगुरुहरुले ईस्लाम धर्मको गलत प्रचारको खण्डन गर्दै गाउँतहमा सकारात्मक सन्देश फैलाउने प्रतिबद्धता जाहेर गरेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मधुकर घिमिरेले सानो परिवार सुखी परिवारका लागि धर्मगुरुले समाजमा सन्देश फैलाउनुपर्नेमा जोड दिए । बालबालिकाको पहिलो प्राथमिकता स्वास्थ्य र शिक्षा भएकाले यसतर्फ विशेष ध्यान दिन स्वास्थ्य प्रमुख घिमिरेल आग्रह गरे । हरेक नागरिकले आत्मसम्मान साथ बाँच पाउनुपर्ने सन्देशलाई अवलम्बन गर्दै समुदायको रहनसहनलाई स्वस्थ र सन्तुलित राख्न सबैले पहल खेल्नुपर्ने उनले जिकिर गरे ।
यता राष्ट्रिय मदरसा शिक्षा व्यवस्थापन परिषद्का सदस्य मौलाना मशहूद खाँ ‘नेपाली’ ले समुदायमा ईस्लाम धर्मलाई गलत व्याख्या गरिने हुँदा यसलाई सही ढंगले बुझिदिन सबैलाई आग्रह गरे । अस्थायी साधन प्रयोग गर्न नहुने, सन्तानलाई अल्लाहको बरदान भन्ने कुरालाई ईस्लाम धर्मको नभई मानवले समाजमा फिजाएको गलत सन्देश भएको बताउँदै उनले पारिवारिक व्यवस्थापनका लागि बालबालिकाको पोषण स्वास्थ्यलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । साथै स्वस्थ र सुखी परिवारका लागि सबै धर्मगुरुलाई समाजमा सही सन्देश फैलाउन समेत उनले अनुरोध गरे ।
यसैगरी कार्यक्रममा मुस्लिम अगुवा अहमद अब्दुल रउफले ईस्लाम धर्मप्रति जनमानसको विश्वास जगाउन गाउँ गाउँमा सही सन्देश फैलाउनुपर्ने धारणा राखेका थिए । साथै यूएनएफपीएका जिल्ला संयोजक चित्र महतोले धर्मगुरु नै मार्गदर्शक भएकाले बालबालिकाहरुको शिक्षा र स्वास्थ्यप्रति मुस्लिम धर्मगुरु नै सचेत हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा मौलाना नियाज अहमदले पारिवारिक व्यवस्थापनका विषयमा सहजीकरण गरेका थिए ।कार्यक्रम समापनको अवसरमा ईस्लाम धर्ममा उल्लेख गरिएका राम्रा कुराहरुलाई अध्ययन गरी सही ढंगले बुझ्न र सबै धर्मबीच शान्ति सद्भाव कायम गर्न राष्ट्रिय मदरसा शिक्षा व्यवस्थापन परिषद्का सदस्य मौलाना मशहूद खाँ ‘नेपाली’ ले जिल्ला जनस्वास्थ्य प्रमुखलाई नेपाली भाषामा उल्था गरिएको ईस्लाम धर्मग्रन्थ कुरान प्रदान गरेका थिए । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना र यूएनएफपीएको सहयोग रहेको कार्यक्रममा दुई दर्जन बढी मुस्लिम धर्मगुरुहरुको सहभागिता रहेको थियो ।
3