मन्त्रीहरूको सम्पत्ति विवरण

सेयर गर्नुहोस

काठमाडौं
मंसिर ३०।
प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद्का ४१ सदस्यमध्ये सबभन्दा ‘गरिब’ देखिएका छन् । चार महिना ढिलो गरी बुधबार सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री दाहालको सम्पत्तिका रूपमा पत्नी सीताका नाममा चितवन, भरतपुरमा एक कट्ठा जमिन र तीन तोला सुन मात्र छ । ती दुवै पैतृक सम्पत्ति रहेको उनले उल्लेख गरेका छन् । गत साउन २० मा दोस्रोपल्ट प्रधानमन्त्री चयन भएका दाहालले सम्पत्ति विवरणमा आफ्नो नाममा घर र स्वआर्जनसमेत केही नभएको देखाएका छन् ।

माओवादीका अन्य मन्त्रीले पनि अरू दलबाट प्रतिनिधित्व गर्ने मन्त्रीको तुलनामा कम सम्पत्ति विवरण बुझाएका छन् । अपत्यारिलो ढंगले सम्पत्ति आर्जन भएको भनी आफ्नै पार्टीपंक्तिबाट आलोचना खेपिरहने माओवादी नेताहरूले मन्त्रिपरिषद्मा भने अत्यन्त न्यून विवरण बुझाएका हुन् । विवरणअनुसार माओवादीका नेताद्वय उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्माको पनि सम्पत्ति न्यून छ । माओवादीतर्फका मन्त्रीहरू गौरीशंकर चौधरी, दलजित श्रीपाली, हितराज पाण्डे, सुरेन्द्रकुमार (राम) कार्की, धनीराम पौडेल, अजयशंकर नायक र राज्यमन्त्रीहरूको पनि अन्य नेताहरूको भन्दा सम्पत्ति विवरण थोरै देखिएको छ ।

चौतर्फी आलोचना भएपछि आइतबार मन्त्रिपरिषद् बैठकले प्राप्त सम्पत्ति विवरण मन्त्रिपरिषद्को वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको थियो । त्यसको तीन दिनपछि बुधबार प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण वेबसाइटमा राखिएको हो । सबैभन्दा पछाडि नियुक्त भएका कांग्रेसका १० जना राज्यमन्त्रीले भने सम्पत्ति विवरण बुझाएका छैनन् ।

उपप्रधानमन्त्री महराले रोल्पा लिवाङ–८ मा दुईतले नेपाली शैलीको पैतृक घर र एकतले गोठ रहेको विवरण भरेका छन् । उक्त घर स्थानीय सहकारी संस्थालाई प्रयोग गर्न दिइएको उल्लेख छ । त्यही वडामा ८ रोपनीको सुक्खा पाखो पनि देखाइएको छ । महराको नाममा बैंक तथा वित्तीय संस्थाको सेयर, अन्य धनदौलत देखिएको छैन । ऊर्जामन्त्री शर्माले पनि रुकुमको मुसिकोट नगरपालिकामा पैतृक घरजग्गा रहेको देखाएका छन् । उनको पैतृक सम्पत्तिका रूपमा सुन २ तोला, चाँदी २० तोला छ । उनले लक्ष्मी शर्माका नाममा सनराइज बैंकमा ९ लाख रुपैयाँ र आफ्नो नाममा एभरेस्ट बैंकमा एक लाख रुपैयाँ मौज्दात देखाएका छन् । त्यो रकम कृषि उब्जनी, पशु फर्म र पारिश्रमिकबाट जम्मा भएको समेत उल्लेख छ । त्यस्तै, लक्ष्मी शर्माकै नाममा पिपुल्स हाइड्रो सहकारीमा ५ हजार कित्ता सेयर रहेको र उक्त रकम जनमुक्ति सेनाबाट अवकाश हुँदा प्राप्त भएको विवरणमा छ ।

सञ्चारमन्त्री कार्कीको विवरणमा घरजग्गा छैन । उनले भरेको विवरणमा ‘पत्नीको स्वामित्वमा सिक्किम र दार्जिलिङमा घरहरू र जग्गाहरू रहेको’ उल्लेख छ । त्यसबाहेक ओखलढुंगाको माम्खामा पैतृक जग्गा देखाइएको छ । उनको सुन भने १० तोला छ । महरा र कार्की दुवैका नाममा बैंक तथा वित्तीय संस्थामा सेयर देखिँदैन । माओवादी मन्त्रीहरूले निजी गाडीसमेत नभएको उल्लेख गरेका छन् ।

दाहाल मन्त्रिपरिषद्मा भूमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डे सबैभन्दा धनी देखिएका छन् । राप्रपाका महामन्त्रीसमेत रहेका उनी अग्रणी निर्माण व्यवसायी हुन् । उनको राजधानी र चितवनका विभिन्न ठाउँमा घरजग्गा देखिएको छ । उनले काठमाडौं र चितवनमा गरी चारवटा घर देखाएका छन् भने २३ ठाउँमा आफू र परिवारका नाममा जग्गा रहेको उल्लेख गरेका छन् । ती सबै कृषि र व्यवसायबाट आर्जेको उल्लेख छ । पैतृक सम्पत्तिका रूपमा एक सय तोला सुन र २ केजी चाँदीसमेत देखिएको छ । उनले हिमालयन, प्रभु, ग्लोबल, एभरेस्ट र प्राइम बैंकमा पैसा रहेको देखाएका छन् । त्यस्तै, प्राइम, कालिका कन्स्ट्रक्सन, एफएम, इनर्जीलगायतमा सेयरसमेत देखाएका छन् ।

अर्का धनी मन्त्रीमा आपूर्तिमन्त्री दीपक बोहरा देखिएका छन् । उनको काठमाडौंमा तीनवटा घर, काठमाडौं र काभ्रेपलाञ्चोकमा जग्गा छ । त्यस्तै, एक सय २० तोला सुन देखाइएको छ भने विभिन्न ४ वटा बैंकमा खाता देखाइएको छ । बैंक अफ काठमाडौं, नबिल, एभरेस्ट, सेन्चुरी, कृषि विकास बैंकलगायतमा करोडौंको सेयरसमेत रहेको छ ।

उपप्रधान एवं गृहमन्त्री निधिले आफू र परिवारका नाममा भक्तपुरको कटुन्जेमा करोडौंको जग्गा देखाएका छन् । त्यस्तै, ६० तोला सुन, एक सय ५० तोला चाँदी रहेको र ती सबै पैतृक, पारिश्रमिक, भत्ता र कृषि आयबाट उपलब्ध भएको उल्लेख गरेका छन् । आफूसँग २०५४ सालमा किनेको निसान गाडी रहेको समेत निधिको विवरणमा छ । सहरी विकास मन्त्री अर्ज‘ननरसिंह केसीले काठमाडौं, ललितपुर र नुवाकोटमा घरजग्गा र ५० तोला सुन रहेको उल्लेख गरेका छन् । सिँचाइ मन्त्री दीपक गिरी, वाणिज्यमन्त्री रोमी गौचन थकाली, सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी, पर्यटन मन्त्री जीवनबहादुर शाही सम्पत्ति विवरणमा उल्लेख्य सम्पत्ति देखिएका मन्त्रीहरूमा परेका छन् ।

स्वास्थ्य मन्त्री गगन थापाले आफ्नै नाममा नभए पनि राजधानी र गृहजिल्ला सोलुखुम्बुमा आमा, बाबु र श्रीमतीका नाममा कायम घरजग्गासहित सम्पत्ति विवरण बुझाएका छन् ।

Facebook Comments Box