नागरिकता विधेयक पारित गराउन माग गर्दै प्रर्दशन

विराटनगर ।
प्रतिनिधिसभामा विचाराधिन नागरिकता विधेयक चाँडो पारित गर्न माग गदै विराटनगरमा युवाहरुले प्रर्दशन गरेका छन्। जन्मसिद्ध नागरिकता पाएका अभिभावकका सन्तानलाई चाँडो वंशजका आधारमा नागरिकता दिलाउन विधेयक पारित गराउन माग गर्दै युवाहरुले आइतबार सांकेतिक प्रर्दशन गरेका हुन्।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत सरकारलाई ज्ञापनपत्र बुझाउन गएका नागरिकता पिडित युवाहरुले ‘नागरिकता विद्येयक पारित गर, हाम्रो पहिचान कायम गर’, ‘हामीलाई नागरिकता खोई ?’ जस्ता प्लेकार्डसहित जिल्ला प्रशासन कार्यालय अगाडी एक घण्टा प्रर्दशन गरेका थिए।
संविधानमा नागरिकतासम्बन्धी व्यवस्था गरिएको भएपनि राजनीतिक कारण देखाउँदै नागरिकता विधेयकलाई अलपत्र पार्न खोजिएको नागरिकता पिडित संघर्ष समिति मोरङका अध्यक्ष अजय पौद्दारले बताए।
जन्मसिद्ध नागरिकता पाएका अभिभावकहरुका सन्तानले जन्मसिद्ध नागरिकता नपाउँदा संवैधानिक अधिकारबाट बन्चित हुनुपर्दा शिक्षा, स्वास्थ्य, रोजगार मात्र नभएर गाँसवासको अधिकारसमेत हनन भएको उनीहरुले बताएका छन्।
९ जेठ २०७८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन ‘नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८’ जारी गरेकी थिइन्। नयापत्रिका
