भारतीय एफडीआइ बढ्दा नेपाली रुपैयाँ बलियाे,डालर कमजाेर

काठमाडौं। अमेरिकी डलरको भाउ एकैदिन ८५ पैसाले घटेको छ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि ‘रिफ्रेन्स रेट’ ११८ रुपैयाँ २० पैसा तोकेको छ। अघिल्लो दिन ११९ रुपैयाँ ५ पैसा थियो।
यो दर पछिल्लो दुई महिनामा एकै पटक सबैभन्दा ठूलो अन्तरले घटेर कायम भएको हो।
भारतीय केन्द्रीय बैंकको सामान्य हस्तक्षेप र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआइ) को वृद्धिका कारण डलर कमजोर भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।
नेपाली र भारतीय मुद्राबीच विनिमय दर स्थिर छ। भारु १०० बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दरका कारण भारु तलमाथि हुँदा नेपाली रुपैयाँ पनि तरंगित हुन्छ।
सञ्चार माध्यमहरुका अनुसार, भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआइ) ले मुद्रालाई स्थिरीकरण गर्न केही हस्तक्षेप गरेको छ। यससँगै भारतमा अहिले एफडीआइ बढेको छ। यी दुवै कारणले भारु बलियो भएको छ।
भारतीय मुद्रा बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुन्छ। त्यही भएर डलरको भाउ एकै दिन ८५ पैसाले घटेको हो।
