नेपालमा अपराधमा संलग्न हुनेमा पनि चिनियाँ धेरै

सेयर गर्नुहोस

काठमाडाैं ,भदौ १२ ।
सरकारले पछिल्ला सात वर्षमा विभिन्न मुलुकका दुई हजार तीन सय ५९ नागरिकलाई देश निकाला गरेको छ । जसमध्ये एक हजार चार सय ९५ चिनियाँ नागरिक छन् । चिनियाँपछि देश निकालामा पर्ने धेरै अमेरिकी नागरिक छन् । यो अवधिमा एक सय ९७ अमेरिकीलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ ।

विदेशमा अपराध गरी नेपालमा लुक्ने र नेपालमै बसेर अपराध गर्ने विदेशी नागरिकलाई पक्राउपछि सम्बन्धित देशलाई बुझाउने सन्धि नेपालले कुनै पनि मुलुकसँग गरेको छैन ।तर, नेपालले त्यस्ता नागरिकलाई चाहेको खण्डमा देश निकाला भने गर्न सक्छ । यसका लागि विशेषगरी भिसालाई हतियार बनाउने गरिएको छ । अध्यागमन विभागले प्रत्येक वर्ष अपराधमा संलग्न तथा भिसा सकिएर नेपालमा लुकेर बस्ने विदेशी नागरिकलाई देश निकाला गर्ने गर्छ ।

भिसा समस्याका कारण देश निकालामा पर्ने धेरै
अध्यागमन विभागको तथ्यांकअनुसार चार वर्षयता विभागले विभिन्न अपराधमा संलग्न तथा भिसासम्बन्धी समस्या भएका दुई हजार पाँच सय ८९ विदेशी नागरिकलाई देश निकाला गरेको छ ।

तीमध्ये भिसासँग सम्बन्धित समस्याका कारण देश निकाला पर्नेको संख्या मात्रै एक हजार ६ सय चार छ । ओभर स्टे, जाली भिसा, भिसाविपरीतका कार्य भिसासँग सम्बन्धित समस्या हुन् ।

बाँकीलाई भने लागुऔषध, बैंकिङ कसुर, खोटा चलन, यौन दुराचार, तस्करी, ठगी, अपहरणलगायत अपराधमा संलग्न भएको भन्दै देश निकाला गरिएको छ ।

विभागका प्रवक्ता झंकनाथ ढकालले धेरै चिनियाँ नागरिक देश निकालामा पर्नुमा आवागमन धेरै भएकाले हुन सक्ने बताए । उनले भने, ‘पछिल्ला दिन चिनियाँ नागरिकको आवागमन बढेको छ । एक सय ५० दिन त उनीहरू नेपालमा विनाशुल्क बस्न सक्छन् । जसकारण चिनियाँ नागरिकको आवागमन बढ्यो । उनीहरूको लगानी पनि बढ्यो, त्योसँगै अपराध पनि बढे । भिसाविपरीतका गतिविधि पनि बढे । त्यसो हुँदा धेरैजना देश निकालामा परेका हुन सक्छन ।

एसएसपी वसन्त कुँवर : प्रवक्ता, नेपाल प्रहरी

चिनियाँ नागरिकबाट हुने अपराधको दर बढेको छ । सामान्यदेखि प्रविधिमा आधारित जघन्य प्रकृतिका अपराधसम्ममा उनीहरूको संलग्नता देखिएको छ ।

नेपालमा अपराधमा संलग्न हुनेमा पनि चिनियाँ धेरै
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित पार्किङमा हङकङ उड्न चाइना साउथको (सिजेड ३०६८) जहाज तयारी अवस्थामा थियो । विमान चढ्न विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलस्थित डिपार्चरतर्फको ‘चेकिङ प्वाइन्ट’मा यात्रुको भिड थियो । ‘एक्स–रे मेसिन’ हुँदै आएको लगेज टिपेर यात्रु विमानतर्फ जाँदै थिए । चनाखो सुरक्षाकर्मीको ध्यान प्रत्येक यात्रुको गतिविधिमा केन्द्रित थियो ।

यही क्रममा एक चिनियाँ नागरिक लगेज घिसार्दै ‘एक्स–रे मेसिन’नजिक उभिए । उनको गतिविधि शंकास्पद थियो । विमानस्थलस्थित प्रहरीले उनीमाथि निगरानी अझ बढायो । नभन्दै ‘एक्स–रे मेसिन’ले लगेजभित्र शंकास्पद वस्तु रहेको संकेत दियो । प्रहरीले तत्काल लगेज नियन्त्रणमा लियो । लगेज खोल्दा फल्स बटमभित्र लुकाएको अवस्थामा तीन किलो एक सय ७८ ग्राम कोकिन भेटियो । चिनियाँ पासपोर्टधारी २१ वर्षीय हो चाउमानलाई प्रहरीले तत्काल पक्राउ गर्‍यो । घटना १५ जेठ ०७३ को हो ।

अवैध मदिरा उत्पादन गरिएको सूचनापछि महानगरीय अपराध महाशाखाको प्रहरी टोली गत १५ साउनको अपराह्न्न ठमेलस्थित मल होटेल एन्ड रेस्टुरेन्टभित्र छिर्‍यो । प्रहरीले होटेलको चोटाकोठा चहा¥यो । नभन्दै होटेलको सबैभन्दा माथिल्लो तलमा अवैध मदिरा उत्पादन हुने कारखाना नै भेट्टायो । अनुसन्धानपछि खुल्यो, चिनियाँ नागरिक जियनासुले होटेल सञ्चालनसँगै अवैध मदिरा उत्पादन गरेर नेपाली बजारमा बिक्री गर्दै आएका थिए ।

१४ भदौ ०७७ को अपराह्न दरबारमार्गस्थित नबिल बैंकको एटिएम बुथबाट नाटकीय ढंगले रकम झिकियो । घटनाको सूचना तत्काल महानगरीय प्रहरी परिसर काठमाडौं पुग्यो । परिसरबाट प्रहरी घटनास्थल पुग्यो । नभन्दै रकम झिकेर बुथबाट बाहिरिँदै गरेका चिनियाँ नागरिक झु लियाङ आङलाई प्रहरीले घटनास्थलमै पक्राउ गर्‍यो । उनकै सूचनाका आधारमा प्रहरीले हात्तीसारस्थित माया मनोहर बुटिकको कोठा नं. २०१, ६०४ र ६०२ मा बसेका लिन जिनमिङ, लु जियालिङ, क्वु याङयिङ र चेन विनविनलाई पनि पक्राउ गर्‍यो । अनुसन्धानपछि खुल्यो, उनीहरूले त विभिन्न बैंकको एटिएम ह्याक गरेर एक करोड २६ लाख २९ हजार ४५ रुपैयाँ झिकेका रहेछन् ।

ठमेलकै जियाङ्जु खजन होटेलबाट प्रहरीले गत २० असारमा सट्टेबाजमा संलग्न चार चिनियाँ नागरिक पक्राउ गर्‍यो । होटेलको भव्य हलमा सट्टेबाज चलाइरहेका उनीहरूबाट प्रहरीले तासका बन्डल, जुवा खेल्न प्रयोग हुने विद्युतीय बोर्ड र माजुङ मात्रै बरामद गरेन, बाघ र गाईको छाला, कस्तुरीको बिना, बुद्धचित्त र रुद्राक्षका माला, विभिन्न चाइनिज एटिएम कार्डसमेत बरामद गर्‍यो । चिनियाँ नागरिक वेलुङ सीले सञ्चालन गरेको उक्त होटेलमा जुवा खेल्ने सबै वर्किङ भिसामा नेपाल बस्दै अएका थिए ।

काठमाडौंकै बुढानीलकण्ठ, महाराजगन्ज र बलाजुबाट पक्राउ परेका एक सय २२ चिनियाँ नागरिकलाई त नेपाल सरकारले सामूहिक रूपमै देश निकाला गर्नुपर्‍यो । वर्किङ र भिजिट भिसामा नेपाल बसेर उनीहरू अनलाइन गेम्बलिङ, हुन्डी र साइबर अपराधमा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाएको थियो ।

चिनियाँ नागरिकले नेपालमा गरेका अपराधसँग सम्बन्धित केही प्रतिनिधि घटना हुन्, यी । घटना हेर्दा कुनै सामान्य त कुनै प्रविधिमा आधारित जघन्य प्रकृतिका देखिन्छन् । प्रहरीको तथ्यांकले पनि पछिल्ला केही वर्षयता अपराधमा संलग्न चिनियाँ नागरिकको दर बढ्दै गएको देखाउँछ । जुन सामान्यदेखि जघन्य प्रकृतिको अपराधसँग सम्बन्धित छन् ।

तथ्यांकअनुसार प्रहरीले चार वर्षयता विविध अपराधमा संलग्न ६० चिनियाँ नागरिक पक्राउ गरेको छ । जसमध्ये ४५ प्रतिशत अपराध जघन्य प्रकृतिका र ५५ प्रतिशत सामान्य किसिमका छन् । नेपालको कानुनअनुसार चोरी, ठगी, जुवातास, दुर्व्यवहारलगायत अपराध सामान्य प्रकृतिका हुन् । मानव बेचबिखन, हत्या, अपहरण, तस्करी, बैंकिङ कसुरलगायत जघन्य अपराध हुन् । नयाँ पत्रिका

Facebook Comments Box