राखीकाे रणनिति, सम्बन्ध सुधार

सेयर गर्नुहोस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा जुटेका छन् । त्यसको पछिल्लो प्रयासका रूपमा भारतीय जनता पार्टी (बीजेपी) विदेश विभाग प्रमुख विजय चौथाइवालेको चारदिने नेपाल भ्रमणलाई लिन सकिने विदेश मामिलाबारे जानकार कांग्रेस नेताहरू बताउँछन् ।
पार्टीका सहमहामन्त्री प्रकाशरण महतको निमन्त्रणामा आइतबार नेपाल आएका चौथाइवालेले चार दिनमा राजनीतिक भेटघाट तीव्रता मात्र पारेनन्, जनैपूर्णिमाका अवसरमा प्रधानमन्त्री–पत्नी आरजु राणासँग ‘राखी’ समेत बाँध्न भ्याए । कतिपयले यसलाई सम्बन्ध सुधारका लागि ‘राखी कूटनीति’ को संज्ञा दिएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र चौथाइवालेलाई बालुवाटार बोलाएर आरजुले ‘राखी’ लगाइदिनुमा धार्मिक संस्कृतिसँग जोडिएका सम्बन्ध मात्रै नभई सरकार र पार्टीलाई एकैसाथ सन्देश दिन खोजिएको जानकारहरू बताउँछन् । देउवा–पत्नी आरजुले चौथाइवालेलाई राखी बाँधेर ‘रोटीबेटी’ को सम्बन्ध बलियो बनाउने सन्देश दिन खोजिएको छ ।

२०७२ असोज ३ मा संविधान जारी भएदेखि दुई देशबीच मात्र नभई व्यक्तिगत तहमा समेत देउवाको सम्बन्ध भारतीय संस्थापन पक्षसँग सुमधुर थिएन । संविधान जारी गर्नुअघि देउवा भारत भ्रमणमा जाँदा उसले राखेको चासो ‘संविधानमा प्रतिबिम्बित’ नभएपछि भारत चिढिएको थियो । संविधान जारी गर्नासाथ नाकाबन्दी गरेर भारतले तत्कालै आफ्नो असन्तुष्टिको प्रतिक्रिया दिएको थियो । केपी ओली सरकारले २०७७ जेठ ७ मा लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्ध झन् चिसिएको थियो । चुच्चे नक्सा जारी गर्दा देउवाले पार्टीको बैठक गरेर सहमति गरेका थिए ।

देउवा सरकार पनि भारतको चाहनाभन्दा बाहिरबाट बनेको जानकारहरूको बुझाइ छ । उनले संसद्बाट विश्वासको मत नलिएसम्म भारतीय प्रधानमन्त्री मोदीले बधाई नदिनुलाई पनि भारतीय असन्तुष्टिका रूपमा अर्थ्याइएको थियो ।

देउवालाई एकातर्फ सत्ता गठबन्धन दललाई मिलाएर सरकार सञ्चालन गर्नुपर्ने बाध्यता छ भने अर्कोतर्फ मंसिरमा हुने पार्टी महाधिवेशनबाट फेरि सभापति बन्ने चाहना छ । यी दुवै लक्ष्य प्राप्तिका लागि भारतसँगको सम्बन्ध सुधार गर्नुपर्ने आवश्यकता देउवाले ठानेका छन् । देउवानिकट एक नेताका अनुसार सम्बन्ध सुधार गर्न देउवाले प्रधानमन्त्री हुनुअघिदेखि नै प्रयास नगरेका भने होइनन् । राप्रपाबाट कांग्रेस प्रवेश गरेका सहमहामन्त्री सुनीलकुमार थापा र सांसद एवं व्यवसायी विनोद चौधरीमार्फत देउवाले यस्तो पहल गरेका थिए । भारतसँगको ‘कनेक्सन’ कै कारण देउवाले थापालाई पार्टीको सहमहामन्त्री दिएका थिए ।

‘त्यतिबेला जति प्रयास गरे पनि भारतसँग देउवाको सम्बन्धमा सुधार नभएको बाहिर आइरहेको थियो,’ कांग्रेसका एक नेता भन्छन्, ‘देउवा पार्टीको महाधिवेशनअघि नै भारतसँगको सम्बन्ध सुधार गर्ने मौका खोजिरहेका थिए । महाधिवेशन सार्दै यहाँसम्म ल्याउनुको एउटा महत्त्वपूर्ण कारण पनि यही थियो ।’ कांग्रेस नेता नारायण खड्काका अनुसार नयाँ सत्तासँग सम्बन्ध बढाउनु भारतले गर्दै आएको पुरानै परम्परा हो । ‘दुई देशबीचका समस्या र मुद्दामा समझदारीका साथ अघि बढ्नुपर्छ भन्ने मान्यतामा भारत रहँदै आएको छ । अहिले चौथाइवालेको नेपाल भ्रमण पनि त्यसैको निरन्तरता हुन सक्छ,’ खड्काले भने । देउवाका लागि यतिबेला सरकारभन्दा पार्टीको महाधिवेशन पहिलो प्राथमिकतामा देखिन्छ । मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइले पनि यही देखाउँछ ।

संस्थापन पक्षबाटै उपसभापति विमलेन्द्र निधिको उम्मेदवारी घोषणाले देउवा तनावमा छन् । निधिले केही दिनअघि देउवालाई भेटेरै आफू उम्मेदवार भइछाड्ने बताउँदै समर्थनका लागि आग्रह गरेका थिए । पछिल्लोपटक नयाँ पार्टी समीकरणका लागि महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग निधिले पहल गरिरहेका छन् । ‘हामी तीन जनाबीच को हुने भन्नेमा ठोस छलफल भएको छैन । तर १३ औं महाधिवेशनमा उम्मेदवार भएका तीनै नेता (देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला) बाट नेतृत्व बाहिर आउनुपर्छ भन्नेमा हामीबीच समझदारी छ,’ निधिले कान्तिपुरसँग भने, ‘सभापतिजीलाई छुट्टै भेटेर सरकारलाई समय दिनुहोस् । पार्टी हामीलाई छाड्नुहोस् भनेको छु ।’

अब हुने स्थानीय, प्रदेश र संसदीय निर्वाचनका लागि पनि देउवाले सरकारतिर समय दिनुपर्ने निधिको भनाइ छ । त्यसका लागि प्रधानमन्त्रीले आफ्नो ‘इमेज’ निर्माण गरेर पार्टी र मुलुककै लागि काम गर्नुपर्ने निधिको सुझाव छ । ‘सरकारको प्रभावकारिता र इमेज निर्माण भएन भने त्यसले पार्टीलाई मात्रै होइन, मुलुक र लोकतन्त्रलाई नै क्षति गर्छ । सरकारले प्रभावकारिता देखाउन सक्यो भने निर्वाचनमा पार्टीलाई जिताउन सजिलो हुन्छ ।’

देउवा भने मंसिरमा फेरि सभापति बनेर चुनावमा टिकट (उम्मेदवार) आफैं बाँड्ने र निर्वाचनपछि छैटौं पटक प्रधानमन्त्री हुने ध्याउन्नमा छन् । त्यसका लागि योजनाबद्धभन्दा रणनीतिक ‘मुभ’ मा देउवा देखिएका छन् । सरकार विस्तार हुन नसकेको, प्रतिनिधिसभा अन्त्य गरेर दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएको र स्वार्थ बाझिने गरी मन्त्री बनाएको विषयलाई लिएर भइरहेका आलोचनाप्रति देउवाको कुनै चासो छैन । तर, सरकार र पार्टीको महाधिवेशनलाई लिएर भारतले अपनाउने सक्ने भूमिकाको विषयमा भने देउवा चनाखो देखिन्छन् ।

कांग्रेस नेता खड्काले ठूला पार्टीको महाधिवेशनप्रति भारत मात्रै नभई अन्य मुलुकले पनि ध्यान दिने बताउँछन् । ‘कांग्रेसको सभापति बन्नु भनेको कुनै पनि बेला प्रधानमन्त्री हुन सक्ने व्यक्ति हो भन्ने मनोविज्ञानले काम गरेको छ । त्यस्तो व्यक्तिले कस्तो विदेश नीति अपनाउँछ भन्नेमा भारतलगायत सबै मुलुकले चासो राख्छन्,’ खड्काले भने, ‘अर्को पार्टी–टु–पार्टी सम्बन्ध विस्तारको कुरा पनि हुन्छ ।’(भाद्र ९, २०७८ कुलचन्द्र न्यौपानेज्युकाे लेख कान्तिपुर दैनिकबाट)

Facebook Comments Box