भारत-नेपाल सम्बन्धः सांस्कृतिक र सामाजिक आधार

राम-सीताको त्रेतायुगको वैवाहिक सम्बन्धले नै नेपाल-भारतबीच सांस्कृतिक सम्बन्ध जनजनमा कति प्रगाढ छ भन्ने देखाउँछ, यी दुई देश अस्तित्वमा आउनुअघि नै दुई देशका जनताबीच सांस्कृतिक र सामाजिक सम्बन्ध रहिआएको छ ।
भाषा-संस्कृति, खुला सीमा, साझा आस्था र सनातन धर्म यो सम्बन्ध सधैँ जीवन्त रहिरहने मुख्य आधार हो । २१ औं शताब्दीमा यो सम्बन्धलाई अझै सशक्त बनाउन र समयाअनुकुल अघि बढाउनका लागि दुबै देशबाट धेरै पहल र प्रयास भएका छन् । विशेषगरी, धार्मिक–सांस्कृतिक पर्यटनलाई बढावा दिने र भारतबाट धेरैभन्दा धेरै पर्यटकहरुलाई नेपाल घुम्न तथा नेपालबाट धेरैभन्दा धेरै पर्यटकलाई भारत घुम्नका लागि प्रेरित गर्ने प्रयास भएको छ ।
यद्यपी, सशस्त्र द्वन्द्व र महाभूकम्पजस्ता विगत २ दशकमा नेपालमा देखिएका विभिन्न घटनाक्रमहरु तथा पछिल्लो समय विश्वव्यापी कोभिड–१९ महामारीलगायत कारणहरु अवरोधका रुपमा देखिने गरेका छन् ।
विशेषगरी, रामयण सर्किट र बुद्ध सर्किट नेपाल र भारतबीचको प्राचीन सम्बन्धलाई आधुनिक कालमा जोड्ने सेतू हो । यी परियोजनाहरुले दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने र आर्थिक समृद्धिको ठूलो आधार तयार गर्ने अपेक्षा गरिएको छ । रामायण सर्किटमा भारतका अयोध्या, सीतामढी, चित्रकुट, जगदलपुर, नन्दीग्रामलगायत नेपालको जनकपुर (जहाँ सीताको जन्म भयो) पनि समावेश छ ।
जनकपुरदेखि अयोध्यासम्मको बस सेवा सन् २०१८ देखि नै सुरु भएको थियो । यतिबेला नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा सीता माताको पूजा पनि गरका थिए । ‘पूरै दुनियाँको पर्यटन तेज गतिमा बढिरहेको छ । हामी दुई देश मिलेर रामायण सर्किटको योजना अघि बढाइरहेका छौँ,’ मोदीले उक्त कार्यक्रममा भनेका थिए । भगवान् राम, जहाँ–जहाँ गएका थिए, त्यहाँसम्म यातायात सञ्जाल बिस्तार गर्ने भारतको योजना छ । जसअनुसार श्रीलंकामा पनि रामायण सर्किटलाई बिस्तार गर्ने योजना बनेको छ । यस्तो हुन सकेमा यो सर्किटले त्रिदेशीय पर्यटनको आधार तय गर्नेछ ।
यसैगरी बुद्ध सर्किट नेपाल र भारतबीचको पर्यटनलाई जोड्ने अर्को महत्वपूर्ण योजना हो । यस सर्किटमा बौद्धमार्गीको आस्था जोडिएका विभिन्न ठाउँलाई जोड्ने लक्ष्य लिइएको छ । जसअन्तर्गत नेपालतर्फ लुम्बिनी, तिलौराकोट, रामग्राम, गोटीहवा, निग्लीहवा, नमोबुद्ध, हलेसी, बौद्धनाथ, स्वयम्भू आदी क्षेत्र समेटिएको छ । त्यस्तै, लुम्बिनी र भारतका विभिन्न सहरबीच हवाई सम्पर्क बिस्तार गर्ने योजना पनि अघि बढिरहेको छ । यो सर्किट निर्माण हुन सकेमा भारतबाट ठूलो संख्यामा पर्यटकहरु नेपाल आउनसक्ने अनुमान गरिएको छ । १ अर्ब ३८ लाखभन्दा धेरै अर्थात् विश्वको दोस्रो ठूलो जनसंख्याको देश भारतसँगको कनेक्टिभिटी जति धेरै बिस्तार हुनेछ, त्यति नै भारतमा नेपालको प्रचार–प्रसार हुनेछ । र, भारतीय पर्यटकहरुको आगमन नेपालमा बढ्नेछ । त्यसैले यी परियोजनाहरुको निर्माण चाँडैभन्दा चाँडै सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ ।
सामाजिक सम्बन्ध
‘रोटी-बेटी’ नेपाल र भारतबीचको सामाजिक तथा सांस्कृतिक सम्बन्ध दर्शाउने चर्चित भाष्य बनिसकेको छ । नेपाली र भारतीय नागरिकबीचको वैवाहिक सम्बन्ध सदियौं पुरानो छ । सीमा क्षेत्रका जनताहरु बजार, किनमेल, शिक्षालगायत विभिन्न विषयमा एकआपसमा निर्भर छन् । उनीहरु सीमा वारी र पारी निर्वाध रुपमा विवाह मात्रै नभएर अन्य सांस्कृतिक पर्वहरु पनि सँगै मिलेर मनाउने गर्छन् ।
नेपाल र भारतको सम्बन्ध जनस्तरमा जोडिनुको कारण पनि यही हो । यही सम्बन्धका कारण भारतीय जनताले नेपाल र नेपाली जनताले भारतमा अप्ठ्यारो पर्दा दिलो ज्यान दिएर सहयोग गर्ने गरेको इतिहास छ । महाभूकम्प र अहिले कोभिड १९ महामारीको समय पनि भारत सरकार र भारतीय जनताले स्वतस्फूर्त रुपमा नेपाल र नेपालीलाई सहयोग गरेका छन् ।
चलचित्रको सम्बन्ध
नेपालमा बलिउड फिल्मका पारखीहरु धेरै छन् । यसको प्रभाव पनि उत्तिकै छ । त्यसैले, नेपाली हलबाट बलिउड फिल्मले राम्रो आम्दानी गर्छन् । बलिउडका स्टारहरु नेपालमा भन्डै त्यति नै प्रख्यात छन्, जति भारतमा उनीहरुको ख्याति छ । बलिउड चलचित्रकै माध्यमबाट धेरै नेपालीहरुले हिन्दी भाषा समेत सिकेका छन् । दक्षिण भारतीय फिल्महरु पनि नेपालमा उत्तिकै लोकप्रिय छन् ।
पछिल्लो समय नेपाली फिल्महरुलाई पनि हिन्दीमा डब गरेर युट्युबमा हाल्ने क्रम बढेको छ र भारतीय दर्शकबाट यी फिल्मले राम्रो प्रतिक्रिया पाइरहेका छन् । नेपालमा निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’ मा भारतीय कलाकार माला सिन्हाले अभिनय गरेकी थिइन्, यी फिल्मका कालजयी गीतहरुमा लता मंगेशकर, आशा भोस्लेलगायत दिग्गज गायिकाहरुले स्वर थिए ।
लता मंगेशकरको स्वर रहेको ‘जुन माटोमा मेरो’ बोलको गीत राजा महेन्द्रले नै लेखेका थिए । बिस्तारै नेपालमा विदेशी चलचित्र सुटिङ हुने क्रम चल्यो, उनीहरुले नेपालका हिमाल, अग्ला पहाड, हरियाली, झरना र तालहरुलाई आफ्नो क्यामेरामा कैद गर्न थाले । भारतका दिग्गज कलाकार स्वर्गीय देव आनन्द अभिनित ‘जोनी मेरा नाम’ नामक चर्चित फिल्मको ‘पल भर के लिए’ बोलको गीत नेपालको गोदावरीमा सुटिङ गरिएको थियो, यस गीतमा हेमा मालिनीले अभिनय गरेकी छन् । यही फिल्मको सुटिङमा नेपाल आएका देवानन्दलाई तत्कालीन राजा महेन्द्रले यहीँको कथामा फिल्म बनाउनका लागि प्रोत्साहित गरे । नेपालको सौन्दर्यलाई विश्वसामु चिनाउने महेन्द्रको चाहना थियो । त्यसैले, नेपालमा सुटिङ गरिने चलचित्रहरुलाई विभिन्न सहयोगहरु उपलब्ध गराउने उनको योजना थियो ।
देवानन्दले काठमाडौंको संस्कृतिलाई केन्द्रमा राखेर १९७१ मा ‘हरे कृष्ण हरे राम’ नाम फिल्म निर्माण गरे । ‘राजा महेन्द्रसँगको मित्रताले नै मलाई यो फल्म नेपालमा सुटिङ गर्न मिल्यो । यसमा नेपालको राजपरिवारको ठूलो भूमिका छ,’ उनले भनेका थिए । यसअघि पनि विदेशी भाषाका फिल्महरु नेपालमा सुटिङ नभएका होइनन्, तर ‘हरे कृष्ण हरे राम’ विशेष थियो, किनकी यसको अधिकांश सुटिङ नेपालमै भएको थियो । यस चलचित्र रिलिज भएपछि नेपालमा अन्य देशका फिल्महरु सुटिङ हुने क्रम पनि पहिलेभन्दा बढ्यो, त्यसैले यसलाई बलिउडमा नेपाल चिनाउने फिल्म पनि भनिन्छ । प्यागोडा शैलीका नेपाली मन्दिरहरु तथा यहाँको मौलिक संस्कृति, यहाँ मानिस, भेषभुषाको प्रचार चलचित्रमार्फत धेरै देशमा भयो, अनि यहाँ पर्यटकहरुको आगमन पनि बढ्यो ।
युद्ध, महान्, खुदा गवाह, बेकाबु, घरवाली–बहारवाली, लभ इन नेपाललगायत धेरै बलिउड फिल्महरु नेपालमै सुटिङ भएका हुन् । यस अवधिमा नेपालकी चर्चित नायिका मनिषा कोइराला बलिउडमा स्थापित भइन् । नेपाली मुलका उदीत नारायण बलिउडमा स्थापित पाश्र्व गायक छन् । निर्देशक तुलसी घिमिरे, कलाकार निरुता सिंह,उत्तम प्रधानसहित धेरै भारतीयहरुको योगदान नेपालको फिल्म उद्योगमा उच्च छ । बलिउड गायक सोनु निगम, कैलास खेर, कुमार सानु, प्रशान्त तामाङ आफ्ना गीतहरुका कारण नेपालमा लोकप्रिय छन् । बलिउडका प्रख्यात कलाकार डेनी डेन्जोङ्पा नेपाली फिल्ममा गरेको अभिनय र आफ्नो गायनकलाका कारण पनि चर्चित छन् । त्यसैगरी, नेपाली अभिनेता सुनिल थापाले ‘मेरी कोम’ फिल्ममा गरेको कामका लागि पनि निकै वाहवाही पाएका थिए ।
कोभिड १९ महामारीका कारण अहिले हलहरु बन्द छ । यसको असर हाम्रो सांस्कृतिक सम्बन्धमा पनि परेको छ । महामारी युगपछि हाम्रो सांस्कृतिक सम्बन्धको रफ्तारमा थप तिब्रता दिनका लागि सिनेमा पनि महत्वपूर्ण माध्यम बन्नसक्छ । त्यसका लागि भारतीय र विदेशी फिल्महरु नेपालमा सुटिङ हुने वातावरण बनाउन सरकारले पनि चासो दिनुपर्छ ।
पूर्वाधार विकास
भारतले नेपालको पूर्वाधार निर्माणमा सधैँ सहयोग गर्दैआएको छ । यही क्रममा विरगन्जमा अप्रिल २०१८ र विराटनगरमा जनवरी २०२० मा व्यवस्थित चेकपोस्टको उद्घाटन गरिएको छ । यी चेकेपोस्टहरु भारतको लगानीमा निर्माण भएका हुन् ।
त्यसैगरी, नेपाल-भारत पेट्रोलियम पाइपलाइन पनि सञ्चालनमा आइसकेको छ । मोतिहारी-अमलेखगन्ज पाइपलाइनको उद्घाटन सेप्टेम्बर २०१९ मा गरिएको हो । यो दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पाइपलाइन हो ।
भारतीय सहयोगमै पशुपतिनाथको मन्दिरमा धर्मशाला पनि निर्माण भएको छ । त्यसैगरी तराईका धेरै स्थानमा भारतले सडक निर्माणमा सहयोग गरेको छ । कतिपय ठाउँमा भारतको सहयोगमा सडक निर्माण चलिरहेको छ । भारत र नेपालबीचको क्रस बोर्डर रेलवे जनकपुर–जयनगरको ट्रयाक निर्माण पूरा भइसकेको छ । यहाँ रेल सञ्चालनका लागि दुईवटा डिईएमयु डिब्बा ल्याउने सहमति नेपाल रेलवे विभाग र कोन्का रेलवेबीच भएको थियो । जसअनुसार, दुईवटा ड्राइभिङ कारसहितका दुई रेल, २ एसी र ४ वटा नियमित ट्रेलर जयनगर–जनकपुर (कुर्था) मा सञ्चालनका लागि तयारी अवस्थामा छन् । जनकपुरबाट बिजलपुरासम्मको ट्रयाक निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ । त्यसैगरी, जोगवनी–नेपाल कस्टम यार्डको ट्रयाक निर्माण पूरा भइसकेको छ ।
हेटौँडामा २०१९ देखि नै नेपाल–भारत मैत्री पोलिक्लिनिक इन्स्टिच्युट सञ्चालनमा आइसकेको छ । भारत सरकारले सामुदायिक विकास परियोजनाहरु पनि अघि बढाइरहेको छ । भारतीय दूतावासका अनुसार ४ सय ५४ भन्दा धेरै परियोजनाहरु ९ अर्ब १३ करोड नेपाली रुपैयाँमा सम्पन्न भइसकेका छन् । २ अर्ब १२ करोड ६० लाख नेपाली रुपैयाँमा ६८ वटा सामुदायिक विकास योजनाहरु अहिले पनि सञ्चालन भइरहेका छन् । नेपालका दुर्गम क्षेत्रहरुमा सेवा पुर्याउने उद्देश्यले सबै ७७ जिल्लामै भारतीय सहयोगका परियोजनाहरु चलिरहेका छन् ।
यहाँ परियोजनाले स्वास्थ,शिक्षा, खानेपानी लगायतलाई प्राथमिकतामा राखेका छन् । भारतीय सहयोगमा निर्माण भएका विद्यालय र अस्पतालहरु पछिल्लो समय कोभिड १९ क्वारेन्टाइन र आइशोलेसन पूर्वाधारका रुपमा पनि प्रयोग भइरहेका छन् । त्यसैगरी भारतले विभिन्न समयमा नेपालका अस्पताल तथा स्वास्थ चौकीहरुलाई एम्बुलेन्स पनि हस्तान्तरण गर्दै आइरहेको छ । विद्यालयहरुलाई स्कुल बस पनि हस्तान्तरण गरेको छ । कृषि तालिम उपलब्ध गराउनेलगायत विभिन्न कार्यहरुमा पनि भारतले सहयोग गर्दै आइरहेको छ ।
यसवाहेक महत्वपूर्ण पक्ष के भने लाखौँको संख्यामा नेपाली युवाहरु भारतीय बजारमा वर्षौँदेखि काम गर्दैआएका छन् । विशेषगरी पश्चिम नेपालका अधिकांश ग्रामीण भेगका युवाहरु भारतमा गएर काम गर्छन् । सानै संख्यामा भए पनि भारतबाट पनि नेपाल आई काम गर्ने क्रम जारी छ । विना भिसा तथा पासपोर्ट दुई देशबीच आवत जावत गर्न पाइने हुँदा विपन्न वर्गका युवाहरुका लागि निकै लाभदायक बनेको छ । भारतीय स्वतन्त्रता आन्दोलनमा नेपाली नेताहरुको सहभागितादेखि हाल सीमापार पुगेर मजदुरी तथा व्यवसाय गर्ने क्रमले दुई देशबीचको सम्बन्ध थप बलियो बनाइराखेको छ । अन्नपूर्णा पाेष्टबाट
