धारा ३७० हटेपछिकाे दुई वर्षमा जम्मु–कस्मिरमा तीव्र विकास :भारतीय विदेशमन्त्री

आईएनआई ।
भारतीय विदेशमन्त्री एस जयशंकरले केन्द्रशासित जम्मु–कस्मिरमा दुई वर्षयता विकास र उत्थानमा प्रशस्त काम भएको जिकिर गरेका छन्।
जम्मु–कस्मिरलाई दुई वर्षअघि केन्द्रशासित प्रदेश बनाउने घोषणापछि त्यहाँ वास्तविक अर्थमा लोकतन्त्र सुदृढ भएको पनि उनको दाबी छ।
‘लोकतन्त्र, सुशासन, विकास र उत्थानमा धारा ३७० हटेपछिकाे दुई वर्ष जम्मु–कस्मिरले महत्वपूर्ण फड्को मारेको छ,’ भारतीय समाचार संस्था एएनआईका अनुसार विदेशमन्त्री जयशंकरले भनेका छन्, ‘फलस्वरूप भारतको एकता र राष्ट्रिय अखण्डता मजबुत भएको छ। दुई वर्षअघि भारत सरकारले जम्मु–कस्मिरको विगतको विशेष राज्यको हैसियत हटाएर केन्द्रशासित प्रान्त बनाएको थियो। जम्मु–कस्मिरलाई एउटा र लद्दाखलाई अर्को प्रदेश बनाएपछि प्रदेशहरूमा विकास र समृद्धि अघि बढेको विदेशमन्त्री जयशंकरको दाबी थियो। जम्मु–कस्मिरमा दुई वर्षयता तुलनात्मक रूपमा शान्ति र अमनचैनसमेत स्थापना भएको सरकारी दाबी छ।
‘कोभिड महामारीभन्दा पहिला जम्मु–कस्मिरमा विकासको काम तीव्र गतिमा भइरहेको थियो, अहिले पनि काम जारी छ। स्थानीय निर्वाचित सरकार गठन भएको छैन, हामी विश्वस्त छौँ कि नयाँ निर्वाचित सरकार आएपछि बेरोजगार घटाउने र विकासका काम अघि बढाउने कार्य हुनेछ,’ कस्मिरका ट्राभल अपरेटर मोहम्मद इब्राहिमले भनेका छन्। स्थानीय अमित कुमारले कोरोना महामारीको दोस्रो लहरपछि कस्मिरमा पर्यटक आगमन बढेको बताएका छन्।
यसैबीच, पछिल्लो समयमा जम्मु–कस्मिरको बन्दीपोरा जिल्लाको गुरेज उपत्यकामा केन्द्रशासित सरकारले पर्यटनका लागि पूर्वाधार बनाइरहेको छ। जम्मु–कस्मिरको पर्यटन प्रवर्द्धनका लागि त्यहाँ दुईतले गेस्टहाउससहित पर्यटक रिसेप्सन सेन्टर विस्तार गरेको छ। ‘यहाँ आउने पर्यटकहरूका लागि सुविधा बढाउँदै छौँ। हामीसँग पर्यटक रिसेप्सन सेन्टर पहिला पनि थियो, तर अहिले विस्तार गर्न लागिएको छ। चाँडै नै हामी यो काम पूरा गर्छौँ,’ कस्मिर पर्यटनका उपनिर्देशक अहसन उल हक चेस्टीले एएनआईसँग भनेका छन्, ‘उपत्यकामा पर्यटकहरूलाई सुविधामा कुनै कमी नहुने गरी हामी काम गरिरहेका छौँ।’
स्थानीय गुलाम मोहम्मद लोनले पर्यटन पूर्वाधारको विस्तारले स्थानीय बासिन्दा पनि लाभान्वित भएको बताएका छन्। उक्त उपत्यकामा अघिल्लो महिना करिब नाै सय पर्यटक पुगेको अधिकारीहरूले जानकारी दिएका छन्।
