भारतसंग संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को आपतकालिन बैठक बाेलाउन अफगानिस्तानको आग्रह
![]()
काठमाडौँ / श्रावण २० । देशमा बढ्दाे अशान्तिका बीच अफगानिस्तानले भारतसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाउन आग्रह गरेको छ ।
अफगानिस्तानमा तालिबानले आक्रमण बढाइरहेका बेला विदेशमन्त्री मोहमम्मद हनिफले भारतीय समकक्षी एस जयशंकरलाई टेलिफोन गरी सुरक्षा परिषद्को आपत्कालीन सत्र आयोजना गर्न आग्रह गरेका हुन् । अफगानिस्तानमा जारी हिंसा कम गर्न र शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयलाई केन्द्रमा राखेर सत्र आयोजना गर्न विदेशमन्त्री हनिफले आग्रह गरेका छन् ।
अफगानी विदेशमन्त्री हनिफले ट्विटरमा लेखेका छन्, ‘भारतीय विदेशमन्त्रीसँग संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद अफगानिस्तानका विषयमा एक आपत्कालीन सत्र आयोजनाका लागि कुराकानी गरेँ । संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायले तालिबानको हिंसा र अत्याचार रोक्नका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।’
अफगानिस्तानका विभिन्न ठाउँमा आक्रमण बढाउँदै तालिबान
अगस्ट महिनाका लागि भारतले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्को अध्यक्षता गर्दैछ । अंग्रेजी वर्णानुक्रमअनुसार सुरक्षा परिषद्को अध्यक्षता हरेक महिना परिवर्तन हुने गर्छ । फ्रान्सपछि भारतले सुरक्षा परिषद्को अध्यक्षता गर्ने मौका पाएको हो ।
पछिल्लो समय अफगानिस्तानमा तालिबानले आक्रमण बढाइरहेको छ । उसले हेलमन्डलगायतका प्रान्तमा कब्जा गर्ने प्रयास गरिरहेको छ । मंगलबार मात्र काबुलको सबैभन्दा सुरक्षित मानिएको ग्रीन जोनमा बम विस्फोट गराइएको छ । उक्त आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मेवारी नलिए पनि तालिबानको संलग्नताको आशंका गरिएको छ ।
