दार्चुला घटनाबारे छानबिन समितिको प्रतिवेदनपछि निर्णय लिने
काठमाडौं /श्रावण १८।
गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानबिन समितिको प्रतिवेदनअनुसार सरकारले आवश्यक निर्णय लिने बताएका छन्।
सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाणले यस घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिसकिएको जानकारी दिँदै छानबिन समितिको प्रतिवेदन आउनुअघि सरकारले कुनै राय दिन नमिल्ने बताए। उनले छानबिन समितिको प्रतिवेदनको आधारमा सरकारले जुनसुकै प्रकारको निर्णय लिने उनले प्रस्ट पारे।
प्रतिवेदन प्राप्त गरेपछि नै सरकारले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाक्ष छ। ‘हामी आफैँले छानबिन समिति बनाइरहेको अवस्थामा छानबिनमा प्रभाव पार्ने गरी हामीले आफ्नो कुनै राय दिन मिलेन। छानबिनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरूका लागि हामी जुनसुकै अडान लिन पनि तयार छौँ। र, त्यसका लागि आवश्यक पहल गर्ने, निर्णय गर्ने र आफ्ना धारणा सार्वजनिक गर्ने र अगाडि बढ्न गृह मन्त्रालय र नेपाल सरकार प्रतिबद्ध रहेको म मान्यज्यूहरूलाई हार्दिकतापूर्वक अवगत गराउन चाहान्छु,’ गृहमन्त्रीले भने।
उनले साउन १५ गते व्यास गाउँपालिका– २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुःखद र संवेदनशील रहेको बताए। सोही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक सत्यतथ्य छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरीक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित तीनजनाको टोलीले स्थलगत छानबिनका लागि घटनास्थलमा खटिएको बताए। त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उनले जानकारी दिए।
जयसिंह धामीभन्दा अगाडि उक्त स्थानको तुइन तरी भारततर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिराम सिंह धामीसँग सोधपुछ भइरहेको तथा तुइन तर्न बाँकी अनिता धामी, विक्रम राम कोली र कल्याण धामीलाई बुझ्नको लागि जिल्ला सदरमुकाम बोलाइएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षाका पाँचवटा बेसबाट खोज तलासको काम भइरहेको र बैतडी र कञ्चनपुर जिल्लाको स्थानीय तहबाट पनि खोजतलासमा समन्वय गर्ने काम भइरहेको उनले जानकारी दिए।नयाँ पत्रिका
