संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत बढ्दै गएकाे : थापा

सेयर गर्नुहोस
– कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको दाबी गरेका छन् । सोमबार उनले संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक भएको धारणा राखेका छन्।

पार्टीको आन्तरिक छलफल र बहसका लागि भन्दै ‘मार्ग परिवर्तन : विचारभन्दा माथि देश’शीर्षकको अवधारणा पत्रमार्फत सोमबार विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय निकायलाई पुनर्संरचना, संघीयता खारेज र धर्मनिरपेक्षताबारे जनमत संग्रहमा जानुपर्ने धारणा अगाडि सारेका थिए। सोही विषयमा बहस सुरु भएपछि थापाले यस्तो बताएका हुन्।
उनले आफूहरु सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदै गएको बताएका छन्। ‘संघीयताको खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह र राजसंस्था पुनःस्थापनाका सम्बन्धमा विभिन्न पक्षबाट उठिरहेको आवाज सकारात्मक छ।’थापाले भनेका छन्, ‘विगतमा राप्रपा एक्लैले उठाउँदै आएको एजेण्डाको पक्षमा जनमत बढ्दै जानु र ति विषयमा राष्ट्रिय बहस हुनु राप्रपाको सफलता हो। हामी सही बाटोमा छौँ भन्ने प्रमाणित हुँदैछ।’

मिश्रले संघीयता देशमा थप भ्रष्टाचार र आर्थिक भारको स्रोत, नेपालको अखण्डताको लागि घातक भएको उल्लेख गरेका छन्। ‘नेपालमा शिशु अवस्थामै रहेको संघीयता यो देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट धान्न सक्दैन भन्ने विज्ञ तथा आम सर्वसाधारणको कमी छैन।’ मिश्रले भनेका छन्, ‘संविधान निर्माण हुनुअघि संघीयताको पक्षमा देखिएका कयौँ नेता तथा सर्वसाधारणहरू समेत संघीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पुर्‍याएको, अनावश्यकरूपमा जनप्रतिनिधि तथा कर्मचारीको संख्या बढाएको, शासकीय दृष्टिकोणबाट झन् भाँडभैलो फैलाएको, संघीयताको आर्थिक बोझ अर्थतन्त्रले धान्न नसक्ने देखिदै गएको र दीर्घकालमा यसले देशको अखण्डतामाथि समेत प्रश्न सृजना गर्ने सम्भावना बढेको भन्दै आलोचना गर्न थालेका छन्।’

मिश्रले धर्मनिरपेक्षताको एजेन्डा ६२/६३ को जनआन्दोलन र मधेस आन्दोलनमा नउठेको स्मरण गरेका छन्। उनले पछिल्ला वर्षहरुमा धर्म निरपेक्षता यो देशको धर्म र संस्कृति मास्नका लागि जस्केलाबाट घुसाइएको हो भन्ने धारणा प्रबल बन्दै गएको बताएका छन्। धर्म र संस्कृति देशको पहिचान, स्वाभिमान र स्वाधीनतासँग पनि जोडिएको हुनाले त्यसलाई केवल सैद्धान्तिक आँखाबाट हेरेर हल्कासँग लिन नमिल्ने मिश्रको तर्क छ।अन्नपूर्णापाेष्टबाट

Facebook Comments Box