४ बैशाख २०८१, मंगलवार

नेताहरुले दोहोर्याए आआफ्नै अडान

pre-baithakमंसिर १९, २०७३- राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुलाई आइतवार आफ्नै निवासमा एकमुष्ठ स्वागत गर्दै संविधान सशोधनको विषयमा भइरहेको प्रगति जान्न चाहेकी थिइन् । उनले संविधान कार्यान्वयनका तगारा खुलाएर चुनावमा जानुपर्ने टिप्पणी गदै नेताहरुलाई त्यसबारे विचार राख्न आग्रह गरिन् । त्यसपछि नया शक्ति सयोजक बाबुराम भट्टराईले भने, ‘पहिले प्रमुख प्रतिपक्षी दलकै भनाई सुनौं न । त्यसपछि अरुको टिप्पणी राख्दा राम्रो होला ।’

यसरी सुरु भएको सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रदेश नम्बर पाँचको सीमांकन हेरफेर प्रस्तावलाई राष्ट्रघाती र अपारदर्शी ढंगबाट आएको प्रस्ताव भन्दै अब फेरबदल नहुने बताए । ओलीले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै त्यसो गरेमा सहमतिका अन्य विकल्पबारे सोच्न सकिने बताए । ‘म पहाड मधेस छुट्याएर प्रदेश बन्न दिन्नँ, त्यो राष्ट्रघाती सोच हो,’ ओलीलाई उद्धृत गर्दै सहभागी स्रोतले भन्यो, ‘संशोधन होइन, कार्यान्वयन अहिलेको आवश्यकता हो । सरकारले पुरक बजेट ल्याउने भनेको छ, त्यो औचित्यहीन र अनावश्यक हो । हामी त्यसलाई समर्थन गर्दैनौं ।’ ओलीले ४ महिनाको अवधिमा यो सरकारले संविधानको कार्यान्वयनमा के–के काम गरेको छ, भनी सामुन्ने रहेका प्रधानमन्त्री पुष्पकमल दाहालप्रति जिज्ञासा राखेका थिए ।

ओलीपछि राप्रपा अध्यक्ष कमल थापा बोले । उनले सडकमा रहेका आन्दोलनकारीलाई संसद फर्कन तत्कालीन प्रधानमन्त्री ओली आफैले विगतमा गरेको आह्वानको स्मरण गरेका थिए ।  ‘हाम्रो पार्टीको औपचारिक निर्णय आउन बाँकी छ, तर आन्दोलनरत पक्षहरुको माग सम्बोधन हुनुपर्छ । ‘पहिले हामी सरकारमासँगै रहेका बेला सडकमा तमासा होइन, सदनमा आएर छलफल गरौं’ भन्थ्यौं, अहिले (प्रस्ताव) फिर्ता लिन भन्ने ? अब फेरि सडकमा जाउ भन्ने ?’

थापापछि नेकपा माले अध्यक्ष सीपी मैनालीले सीमांकन हेरफेर गर्न नहुने बताए । उनले संशोधन प्रस्ताव षडयन्त्रपूर्ण ढंगले आएको भन्दै राष्ट्रिय हितविरुद्ध आफू नजाने तर्क गरे । उनले अघिल्लो दिन मधेशी मोर्चाका नेताहरु भारतीय दूतावासमा गएर यही विषयमा छलफल गरेकोमा आपत्ति समेत जनाएका थिए । ‘साथीहरु कतातिरको प्रस्ताव कहाँ गएर छलफल गर्नुहुन्छ ? मलाई त आश्चर्य लागेको छ’, उनले भनेका थिए ।

मैनालीपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले नवलपरासीदेखि बर्दियासम्म सीमांकन गर्ने प्रस्ताव कांग्रेस र एमालेकै पुरानो प्रस्ताव भएको भन्दै प्रतिपक्षमा बसेपछि फरक कुरा नगर्न ओलीलाई आग्रह गरका थिए । ‘त्यसबेला सभापति सुशील जी (कोइराला) र ओलीजीले हस्ताक्षर गरेको सहमति नै अहिले हामीले अघि बढाएको हो । त्यो बेला प्रस्ताव राष्ट्रघाती थिएन, अहिले राष्ट्रघाती भयो ?’

देउवाले केही बेर बोलेपछि ओली छेवैमा रहेका एमाले उपाध्यक्ष वामदेव गौतम र सुवास नेम्वाङसग कानेखुसी गरेका थिए । ओलीको कानेखुसी नरोकिएपछि देउवा बम्किदै नेता ओलीको ध्यानाकर्षण गराएका थिए । देउवाले राजनीतिक समाधान खोज्ने बेला विषयान्तर नगर्न आग्रह गर्दै मधेसको मुद्दा समाधान नगरी संविधान संविधान कार्यान्वयन नहुने बताए । ‘मधेसीहरु हाम्रै दाजुभाइ हुन्, कसैका विरुद्ध दुर्भावना नफैलाउने काम नगरौं, राजनीति रोक्ने होइन, अगाडि बढ्ने कुरा गरौं,’ देउवाले भने, ‘यो संशोधन प्रस्ताव पास गरिएन भने चुनाव सोच्न पनि सकिन्न । हुनै नसक्ने चुनाव घोषणा गरेर के गर्ने ?’ उनले ओलीतिर हेर्दै चुनाव गर्न पनि संविधान संशोधन आवश्यक रहेको बताए ।

देउवाले भनाई टुंग्याउने बेलामा ओली राष्ट्रपति भवनबाट बाहिरिएका थिए । ओली शितल निवासबाट सिधै नयाँ बानेश्वरमा सम्पादकहरुसँगको यही विषयको अन्तक्रियामा भाग लिन पुगेका थिए । त्यसपछि जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संघीयताले देश विभाजन गर्ने दिशामा अघि बढेको भन्दै संविधान कार्यान्वयनका लागि सही बाटो समाउन कसरी सकिन्छ भन्नेबारे सोच्न दलहरुलाई आग्रह गरे । केसीले पनि दूतावासमा मधेशी नेताहरु जाने, त्यतै निर्णय गर्ने अनि बाहिर निस्केर मधेशीका एजेण्डा भन्दै कुर्लने प्रवृत्ति ठिक भएन भन्दै आपत्ति जनाएका थिए । त्यस्तै खालको आग्रह गरेका थिए नेपाल मजदूर किसान पार्टीबाट गएका सांसद प्रेम सुवालको पनि ।
उनीपछि केही साना दलले बोले । त्यसपछि संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संघीय गठबन्धन राष्ट्रिय अखण्डता र एकता बलियो पार्न प्रतिबद्ध रहेको भन्दै त्यसका लागि संविधान संशोधन विधेयक परिमार्जन गरी अनुमोदन गर्नुपर्ने तर्क गरे । ‘हामी यो प्रस्ताव परिमार्जन गरी पास गर्ने पक्षमा छौं, यसलाई राष्ट्रियतासग जोडेर अनावश्यक कुरा नगरौं,’ उनले भने ।

तमलोपा अध्यक्ष महन्थ ठाकुरले मधेसको इतिहास र भूगोल एकपल्ट ध्यानले पढ्न आग्रह गरे । ‘म आज इतिहासको कुरा गर्दिनँ, इतिहास बदलिन्छ, तर मधेसको भूगोल पहिलेदेखि यही थियो,’ ठाकुरलाई उद्धृत गर्दै रामसपा महासचिव केशव झाले भने, ‘मधेस अझै पनि समावेशी राजनीतिमा आउन चाहेको छ, अहिलेसम्म स्थिति हाम्रो हातमा छ । यसलाई बुझेर अघि बढ्ने हो भने अझै पनि केही बिग्रेको छैन ।’
फोरम लोकतान्त्रिक अध्यक्ष विजय गच्छदारले भने मोर्चाका अन्य नेता भन्दा फरक कोण राखेका थिए । उनले प्रमुख विपक्षीलाई साथै नराखिकन संसोधन प्रस्ताव लैजान नहुने सुझाएका थिए ।

सबै नेताले भनाई राखिसकेपपछि पधानमन्त्री पुष्पकमल दाहालले पछिल्ला घटनाक्रमलाई आफूले गम्भीरतापूर्वक आकलन गरिरहेको बताए । आफू संवाद र सहमतिबाटै अघि बढ्ने प्रयासमा रहेको भन्दै उनले थपे, ‘युद्धको बेलादेखि अहिलेसम्म आउदा अनेक उतारचढाव अनुभव गरियो, हामीले संशोधन विधेयकलाई संसदको सम्पत्ति बनाएको हो, अन्यत्र लगेको होइन । अन्तरात्मामा हात राखेर भन्नुस्, यो कतैबाट आएको होइन । यो हामीभित्रबाट आएको हो । यसलाई यथास्थितिमा पास गर्ने भनेको छैन, परिमार्जन हुने नै हो ।’

राष्ट्रपति भण्डारीले छोटो समयको सूचनाका आधारमा बोलाए पनि आइदिएकोमा सबैलाई धन्यवाद दिएकी थिएन् । जाँदाजादै भनिन्, ‘छोटो भेट होला भनेको लामै छलफल भयो, अब संवादबाटै मिलेर टुंग्याउनुस् ।’ साँझ करिब ५ बजे सुरु बैठक राति सवा ८ मा टुंगिएको थियो ।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट