चीनले नेपालका कम्युनिस्ट नेतालाई बोल्ने मौकासमेत दिइएन
काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) स्थापनाको सय वर्ष पुगेको अवसरमा मंगलबार ‘विश्व सम्मेलन’ आयोजना गरिएको थियो ।नेपालका राजनीतिक दललाई पठाइएको निमन्त्रणामा बोल्ने मौका दिने उल्लेख थियो । तर, पछि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मात्र सम्बोधन गर्ने बताइयो । तर, सम्मेलन अवधिभर नेपालका नेताहरू दर्शक मात्र भए ।कसैले सम्बोधन गर्न पाएनन् । सम्बोधन गर्ने अवसर नपाएपछि एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपाका शीर्ष नेताले भिडियो सन्देश पठाएका छन् ।नेपाली नेताहरूको भिडियो सम्बोधन चिनियाँ कम्युनिस्ट पार्टीले वेबसाइटमा राख्ने बताएको छ । सम्मेलनको सुरुमा चिनियाँ राष्ट्रपति सी जिन पिङले प्रमुख वक्ताको हैसियतमा सम्बोधन गरेका थिए ।त्यसपछि दक्षिण अफ्रिका, क्युबा, बोलिभिया, प्यालेस्टाइन, मोरक्को, भियतनामलगायतका नेताले सम्बोधन गर्ने अवसर पाएका थिए । दक्षिण एसियाबाट पाकिस्तानका प्रधानमन्त्री इमरान खान र श्रीलंकाका प्रधानमन्त्री महिदा राजापाक्षेले मात्रै सम्मेलनमा बोल्ने अवसर पाए ।भर्चुअल सम्मेलनमा एमाले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, नेताहरू रामबहादुर थापा बादल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, कांग्रेसबाट सहमहामन्त्री डा.प्रकाशशरण महत र डा.नारायण खड्का, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, देवेन्द्र पौडेल, वर्षमान पुनलगायत थिए ।जसपाबाट अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराईसहित शीर्ष नेता तथा राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा र नेता शोभित उप्रेती सहभागी भए ।
