स्वदेशमा रोगले भन्दा भोकले मर्नुपर्ने अवस्था आएपछि नेपालीहरु भारत तर्फ जाने लर्काे
कञ्चनपुर ।
कोरोना महामारीकै बीच रोजगारीका लागि भारत जानेको सीमानाकामा लर्को लागेको छ । महामारीका वेला स्वदेश फर्किएकाहरू फेरि रोजगारीका लागि भारत लागेका हुन् । पश्चिम नेपाल गौरीफन्टा र गड्डाचौकी नाका भएर दैनिक सयौँ नेपाली भारत पसिरहेका छन् । भारत हिँडेका नेपालीले स्वदेशमा रोगले भन्दा भोकले मर्नुपर्ने अवस्था आएपछि गुजारा चलाउन बाध्य भएर विदेशीन लागेको बताएका छन् ।
आठ महिनाअघि भारतबाट फर्किका कञ्चनपुर कृष्णपुर नगरपालिका– ९ गैरकारबिचुवाका पदम भट्टले स्वदेशमा रोजगारी नपाएपछि बाध्यताले पुनः बिदेसिन लागेको बताए । ‘घरमा नुन खानलाई पैसा छैन, दैनिक घरपरिवार चलाउन धौधौ भइरहेको छ,’ उनले भने, ‘त्यही भएर कोरोना महामारीबीच बिदेसिन लागेको हुँ ।’
स्थानीय सरकारले कोरोना कारण विदेशमा रोजगारी गुमाएकालाई स्वदेशमा रोजगारी दिने भनेपछि आफूले कहीँकतैबाट सहयोग नपाएको उनले गुनासो गरे । कुनै विकल्प नभएपछि जोखिम मोलेरै भारत हिँडेको उनको भनाइ छ ।
गोदावरी नगरपालिका– १० कैलालीका मदन नेपाली चार महिनाअघि भारतबाट फर्किएका थिए । उनी अहिले फेरि भारत हिँडेका छन् । ‘गाउँमा रोजगारी छैन,’ उनले भने, ‘घरधन्दा चलाउनै समस्या भयो, त्यही भएर भारत फर्किँदै छु ।’
बेदकोट नगरपालिका– ३ दैजीका प्रेमराज भट्ट पनि चार महिनाअघि भारतबाट घर फर्किएका थिए । गत चैतमा भट्ट गड्डाचौकी नाका भएर घर आएका थिए । अहिले त्यही नाका भएर भारत हिँडेका छन् । ‘उतिवेला ज्यान जोगाउन रोजगारी छाडेर घर आएँ,’ उनले भने, ‘घरमा लामो समय बेरोजगार बसियो, कहीँकतैबाट रोजगारी पाइएन, त्यही भएर फर्किएँ ।’ उनले रोपाइँ सकेर भारत फर्किएको बताए ।
बेलडाँडी गाउँपालिका– ३ वैवाहका पदम चौधरीले डरैडरले खेतीपातीकै मुखमा भारत बस्न बाध्य भएको बताए । चौधरी कोरोनाका कारण रोजगारी गुमाएपछि गत वैशाखमा घर फर्किएका थिए । ‘रोजगारी गुमाएर फर्किएको थिएँ, अहिले मिलेको छ,’ उनले भने, ‘घरमा बस्दाबस्दै उल्टै ऋणले डुबिन थाल्यो, त्यही भएर भारत पस्न लागेँ ।’
तीनवटै तहका सरकारले कोरोनाबाट रोजगारी गुमाएर घर फर्किएका जनताको बारेमा नसोच्दा महामारीकै मुखमा मुग्लान पस्न बाध्य हुने अवस्था आएको सुदूरपश्चिम विश्वविद्यालय समाजशास्त्रका विद्यार्थी कैलाशचन्द गिरी बताउँछन् । उनले स्थानीय, प्रदेश र संघीय सरकारले कोरोनाका कारण रोजगार गुमाएका युवाको हितमा स्वरोजगार कार्यक्रम ल्याउन नसक्दाको परिमाण फेरि नेपाली भारत बस्न बाध्य भएको बताए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले गड्डाचौकीभन्दा गौरीफन्टाबाट भारत जाने नेपालीको संख्यामा वृद्धि भइरहेको बताए । ‘गड्डाचौकीबाट प्रवेश गर्दा उता भारतमा कोरोना रिपोर्ट माग्छ,’ उनले भने, ‘त्यसैले गौरीफन्टाबाट बढी नेपाली प्रवेश गर्दै छन् ।’
दोस्रो लहरमा देखिएको कोरोनाका कारण जारी निषेधाज्ञायता गड्डाचौकी नाकाबाट असार तेस्रो सातासम्ममा ५६ हजार एक सय ६६ जना भारत प्रवेश गरेका छन् । गौरीफन्टाबाट ४२ हजार तीन सय ३२ र ग्डाचौकीबाट १३ हजार आठ सय ३४ जना भारत प्रवेश गरेका छन् । दुवै नाकाबाट ७२ हजार पाँच सय ३४ जना नेपाल आएका छन् ।
