ज्वाइँलाई छोरा बनाएर नागरिकता दिने कांग्रेस नेतासहित तीन जना पक्राउ

सेयर गर्नुहोस

काठमाडौं, असार २१ । ज्वाइँलाई छोरा भनेर नागरिकताको प्रमाणपत्र दिन किर्ते काम गरेको आरोपमा नेपाली कांग्रेसका नेता भीमबहादुर खड्कासहित तीन जना पक्राउ परेका छन । पक्राउ पर्ने कांग्रेस नेता खड्का दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हुनुहुन्छ ।प्रहरीले कीर्ते नागरिकता बनाउने कार्यमा संलग्न राजपुर गाउँपालिका– ७ का वडाध्यक्ष भीमबहादुर खड्कासहित त्यही वडाका भीमबहादुर कामी र उनकी छोरी सुशीला विकलाई पक्राउ गरिएको जनाएको छ ।भीमबहादुर कामीले उनका ज्वाइँ अर्जुन बिकलाई छोरा बनाएर नागरिकता दिएको र वडाले पनि सिफारिस गरेको भन्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, नागरिकता बनाउँदा अर्जुनको नाम लिलाराम बिक राखिएको छ । अर्जुन सुशीलाका श्रीमान् हुन् । हाल उनी रोजगारीको सिलसिलामा विदेशमा छन् ।    नागरिकतबारे उजुरी परेपछि अनुसन्धान गर्दा यस्तो भेटिएको प्रहरीले जनाएको छ । नागरिकता २०७५ साल असोज ४ गते इलाका प्रशासन कार्यालय लमहीबाट जारी भएको थियो । नागरिकतामा ईलाका प्रशासन कार्यालय लमहीका प्रमुख प्रेमबहादुर खवासको हस्ताक्षर छ ।

Facebook Comments Box