गरिब रुवाउँदै प्रदेश २ सत्तामा बसेका नेता
महोत्तरी । मनसुनी वर्षा दरकिएर छाना चुहिँदैछ। पानीको भेल घरभित्र छिरेको छ। त्यही टहरामा अनिदो रात काट्दैछिन् ६ दिनकी सुत्केरी सरिता सादा। हावाहुण्डरी बौलाएर छाप्रो उडाउला जस्तो गर्छ। नवजात शिशुलाई काखमा च्यापेर उनी ज्यान जोगाउन बाध्य छिन्। उखुबारी नजिकैको त्यो टहरमा विषालु सर्प र बिच्छीको उस्तै बिगबिगी छ।
महोत्तरीको गौशाला नगरपालिका–६ फुलहाका मुसहरी टोलकी सरिताको घर भत्किएको २ वर्ष बित्यो। जनता आवास कार्यक्रमअन्तर्गत पक्की घर बनाइदिने आश देखाएर प्रदेश सभा सदस्य भरतप्रसाद साहले फुसको घर भत्काउन लगाएका थिए। तीन महिनामा बनिसक्ने भनिएको घर दुई वर्षसम्म पनि अधुरै छ। पक्की घरको सपनाले सरितालाई रुवाइरहेको छ। चार सन्तानकी आमा रहेकी उनले हालै पाँचौं सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन्।
‘के बोलु ? पत्रकारहरू २ वर्षदेखि आको आइ छन्, हामी आफ्नो समस्या सुनाउँछौं, सरकारले केही सुनुवाइ गर्दैन,’ उनले भनिन्, ‘वर्षामा सुत्केरी भएँ, खानपिनको ठेगान छैन। घरदेखि आँगनसम्म हिलैहिलो छ, पानीले अन्न र दाउरा भिजेको छ। के खाएर दिनरात काटु ?’ दिनरात पानी परिरहेकाले नवजात शिशुलाई कहाँ राख्ने र आफू कसरी बाँच्ने भन्ने दुखेसो सरिताले पोखिन्। आफ्नो परिवार पाल्न कोरोना महामारीकैबीच उनका श्रीमान् रमेश सादा तीन महिनाका लागि पंजाब गए।
समयमा घर नबस्दा अस्थायी टहरमा बस्न बाध्य भएकी महोत्तरीको गौशाला नगरपालिका–६ फुलहाका मुसहरी टोलकी ६ दिने सुत्केरी सरिता सादा । तस्बिर : राजकरण महतो
सरिता जस्तै गौशालाको फुलकाहा, मलहनियाँ, बेलगाछी र खयरमाराका दर्जनौं परिवारलाई जनता आवास कार्यक्रमले अलपत्र बनाएको छ। यही क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य साहको बेवास्ताले समयमै घर नबन्दा करिब ५ सय मुसहरको बिच्चली भएको छ।
सर्वाहाराका नेता साहले गरिबको घर भत्काउन लगाएर उनी आफ्नै अढाइ तल्लाको पक्की घर बनाउन व्यस्त छन्। हालै उनी माओवादी केन्द्रको तर्फबाट प्रदेश २ को संसदीय दलको नेता बनेका छन्। गरिबको भोट पाएर प्रदेश सभामा पुगेका उनी दलित मुसहरको घर बनाउन छाँडेर गौशाला–४ रजखोरमा आफ्नै पक्की घर बनाउन लागि परेका छन्। २ वर्षअघि बनाउन थालिएको मुसहरहरूको घर कति त जगमै छ। ९ महिनाअघि नेता साहले बनाउन थालेको आफ्नो घरको छत हालेर अन्तिम चरणमा पुर्याएका छन्। उनले आफ्नो घरसम्म पुग्ने नयाँ बाटो पनि विस्तार गर्दैछन्। तर, आफूहरूको भत्काएको घर बनाउन भने नेता साहले चासो नदिएका स्थानीयको गुनासो छ।
नेता साहले आफूलाई बेघर बनाएको फुलकाहाकी ६० वर्षीया दुलारी देवी सादा बताउँछिन्। ‘नेता भरतले आफ्नो पक्की घर बनाउँदैछन्। तर, हामीलाई बेहालतमा छोडिदिएका छन्। खानाका लागि भौतारिन्छौं। लोकसँग मागिमागी खान्छौं।’ घर तोडेर पक्की घर बनाइदिने आश देखाएर गरिबलाई बेघर बनाएर भाग्दै हिँडेको बताउँदै उनले रुँदै भनिन्, ‘हाम्रो भोट लिएर माननीयजी बनेका छन्, सरकारको सेतो गाडीमा जनकपुर–काठमाडौं हिँडिरहेका छन्। ’
टहरमा बस्दै आएका मुसहरहरूका लागि वर्षामा नेता साहले ओत लाग्ने त्रिपालको पनि व्यवस्था गरेका छैनन्। आकाश रिसाएर कालो भएपछि फुलकाहाका स्थानीयको मनमा डर पस्छ। हावाहुण्डरीले छाप्रो उडाउने हो कि वर्षाले चुलो डुबाउने हो ? कहाँ खाना पकाउने, कहाँ खाने अनि कहाँ सुत्ने ? यस्ता कैयौं चिन्ताले उनीहरूलाई पिरोलिरन्छ।
अमृता सादा ९ महिनाकी गर्भवती छिन्। उनलाई जनता आवास कार्यक्रमले रुवाइराखेको अवस्था छ। ‘घर छैन, यो वर्षामा अब कहाँ सुत्केरी हुने ? घरभित्र पानी पस्छ,’ उनले पीडा पोखिन्।
अमृताकी छिमेकी जानकी सादालाई घर नभएपछि वर्षामा घर न घाटको भएको महसुस हुँदैछ। ‘गरिबलाई सुःख दिने कोही छैन। यस्तो हुन्छ भनेर थाहा पाएको भए फुसको घर भत्काउने नै थिइन्,’ उनले भनिन्।
कोरोना महामारीले बस्तीका श्रीकिसुन सादाको रोजीरोटी गुमेको छ। कसरी परिवार पाल्ने उनलाई चिन्ता छ। खुला आकाशमुनि दिउँसोको खाना खाँदै गरेका उनी भन्छन्, ‘जे गर्छ त्यही भरत नेताजीले गरेको छ। हामीलाई मारोस् कि बचाओस्।’ घर बनाउन न इँटा छ न बालुवा दिन्छ, न घर बनाउने कामदार पठाउँछ भन्दै उनले गुनासो गरे।
पक्की घर पाउने आशमा यहाँका गरिब मुसहरहरू २ वर्षदेखि पुसको जाडो र वर्षेझरी टहरामै बसेर काटिरहेका छन्। अझै कति त्यही छाप्रोमा बस्नुपर्ने हो त्यसको टुंगो छैन।
‘पक्की महल पाउने आशमा ठडिएको रड हेरेर जाडोमा कठ्याँग्रियौं। अब वर्षाले भिज्दै छौं। रडमा खिया लाग्यो त्योभन्दा बढी पीडा यो ज्यानले भोग्दै छ,’ रामहृदय सादा भन्छन्, ‘घर बनाउने काम बन्द छ। सरकारले घर बनाउन चासो दिँदैन। अर्काको जमिनमा छाप्रो बनाएर २ वर्षदेखि बसिरहेका छौं। अब छाप्रो भत्काएर जमिनवालाले जा भन्दै छ। अब कहाँ जाने ?’
अस्थायी टहरामा बिजुली बत्ति पनि छैन। गाउँले वर्षाको मौसममा टुकी र मैनबत्ती बालेर रात काट्छन्। हावाहुण्डरीले त्यो पनि निभाईदिन्छ। ‘सर्प र बिच्छीको उस्तै डर छ। काँखमा बच्चाहरूलाई लिएर हामी जाग्राम बसी रात काट्छौं,’ राजबत्ती सादा भन्छिन्, ‘केही उपाय छैन। बच्चा र हामीलाई रात काट्न कति दिक्कत हुन्छ त्यो त भगवान्ले नै देखेको छ। तीन महिनामा घर बन्छ भन्थे त्यसको बदलामा २ वर्ष बित्यो। घर जगबाटै पनि उठेको छैन।’
सरकारले खाने अन्न र ओत लाग्ने त्रिपाल देउस् र छिट्टै घर बनाइदियोस् भन्दै उनले बिलौना गरिन्। कोरोना महामारीले घर निर्माण कार्य प्रभावित भएको प्रदेश सभा सदस्य साह बताउँछन्। ‘महोत्तरीको जनता आवासअन्तर्गतको रकम सबै खर्च भइसकेकाले अधुरा काम पूरा हुन सकेका छैनन्,’ उनले भने, ‘घर निर्माणका लागि बजेट आइसकेको खबर पाएका छौं। अब तुरुन्तै घर निर्माणको काम सुरु हुन्छ।’ आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका डोम, मुसहर, चमार र हल्खोर समुदायको घर निर्माणका लागि प्रदेश २ मा जनता आवास कार्यक्रम ल्याइए पनि निर्माण कार्य समयमा सम्पन्न हुन सकेको छैन।
दलित एवं अति विपन्न समुदायका लागि सरकारले निर्माण गर्नुपर्ने अधिकांश घरमा छाना हालिएका छैनन्। निर्माणाधीन अवस्थाका घरमा गुणस्तरहीन सामग्रीको प्रयोगले पर्खाल चर्किसकेका छन्। घर निर्माण नहुँदा स्थानीय मुसहरले सास्ती खेप्दै आएका छन्।
जनता आवास कार्यक्रमअन्तर्गत संघीय सरकारका अनुदान सहयोगमा प्रदेश २ सरकारले आठवटा जिल्लामा १७ हजार ९ सय ५० वटा घर बनाउने लक्ष्य लिए पनि १० हजार ८ सय ५५ घर बनाउने सम्झौता भएको छ। जसमध्ये ५ हजार ९ सय ८० घर बनिसकेको छ भने ४ हजार ८ सय ५५ घर बनाउन बाँकी छ। संघ सरकारले ८२ करोड रुपैयाँ अनुदान स्वरूप पठाए पनि अहिलेसम्म २१ करोड ९ लाख मात्र खर्च भएको छ। सम्झौता भएका घर बनाउन २ अर्ब ११ करोड ३१ लाख ९७ हजार रुपैयाँ अपुग रहेको छ।अन्नपूर्णा पाेष्ट
