सरकार विपद् व्यवस्थापनमा जिम्मेवार भएन : सांसद पौड्याल
काठमाडौं ।
बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले प्रदेश सरकार विपद् व्यवस्थापनमा जिम्मेवार नभएको बताएका छन् । बागमती प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विषेश समय माग गर्दै सांसद् पौड्यालले प्रदेश सरकारले विपद्को समयमा झुटो आश्वासन बाँड्नका लागि सो क्षेत्रमा अनुगमन जाने गरेको बताए । हरेक वर्ष सिन्धुपाल्चोकमा आइपर्ने विपद्को समयमा पनि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु सो क्षेत्रमा गएर आश्वासन बाँड्ने तर कार्यान्वयन तर्फ काम कुनै काम गर्न नसकेको उनले बताए ।
सरकारले विगतमा पनि विपद्को बेलमा अनुगमनका लागि जाने आश्वासन दिने बाहेकका कुनै काम गर्न नसकेको उनले बताए । भुकम्प र बाढी पहिरोको चपेटामा परेको सिन्धुपाल्चोकमा विगतमा सरकारले गरेको घोषणा अनुसार एउटा शौचालयसमेत नबनेको उनले बताए ।
उनले यस समयमा प्रदेश सरकार जनता प्रति गम्भिर हुनुपर्ने अवस्था आएकाले उनले प्रदेशसभाबाटै ध्यानाकर्षण गराए । प्रदेश सरकारले निश्चित क्षेत्र तोकेर जनताको सुरक्षाको काम गर्नुपर्ने उनले माग गरेका छन् ।
प्रदेश सरकारले उक्त क्षेत्रको भौगोलिक अवस्थाको जाँच गरेर बस्तीहरुलाई उचित व्यवस्थापनमा लाग्नुपर्ने उनले बताए । विपद्को पूर्व सूचना दिन आवश्यक व्यवस्थापन तर्प सरकारले यथाशिघ्र काम गर्नुपर्ने उनको भनाई छ ।
